|

बैतडी : जिल्लाको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चर्तुदशीको अवसरमा लाग्ने चारदिने मेला मंगलवारदेखि जारी रहेको छ।

 निंगलाशैनी भगवतीको भण्डार घरबाट मंगलवार मन्दिरमा भण्डार भित्र्याएसँगै मेला÷जात्रा सुरु भएको थियो।  यो जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलन समेत रही आएको छ। जात्रामा चार दिन सम्म मन्दिरमा पूजाआजा लाग्ने गर्दछ। 

भाद्र शुक्ल पूर्णिमाको शुक्रबार बिहानसम्म सञ्चालन हुने जात्रामा नेपाल तथा भारत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका दशरथचन्द नगरपालिका २ का वडाअध्यक्ष रनबहादुर बोहराले जानकारी दिए। अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलामा सोराड क्षेत्र र सदरमुकाम क्षेत्रबाट आउने जात्रा मुख्य आकर्षण रहेको छ।

अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलाका अवसरमा निङ्गलाशैनी भगवती मन्दिरमा मेला भर्नेहरूको घुइँचो लागेको  छ। निङ्गलाशैनी भगवती मन्दिरमा बिशेष पूजा लाग्ने अनन्त चतुर्दशीको दिनलाई महत्वपूर्ण दिनका रुपमा लिइने गरिएको निङ्गलाशैनी भगवती मन्दिरका मुखिया मानबहादुर बोहराले बताए।

मेलाको अवसरमा मन्दिरमा तीनरात बस्ने उभिएर बत्ती बाल्ने महिला भक्तजनको घुँइचो लागेको छ। निंगलाशैनी भगवती मन्दिरमा तीनरात बसेमा तथा उभिएर बत्ती बालेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ।

अनन्त चतुर्दशीको अवसरमा मन्दिरमा बिशेष पूजाआजा समेत हुने गरेको छ। यो मेलालाई स्थानीय भाषामा ठूली जात भन्ने चलन रही आएको छ। यो जात्रामा सोराड र बैतडीको जात्रा आकर्षणको रुपमा रहेको छ। यो जात्रामा बली नहुने र यो जातलाई ठूली जातको रुपमा मनाउने गरेको छ।

प्रसिद्ध निंगलाशैनी भगवती मन्दिरमा बर्षमा ४ पटक जात्रा लाग्ने गरेको छ। भाद्र शुक्ल चतुर्दशी, असोजको महाष्टमी, मंसीर शुक्ल पूर्णिमा, चैतको अष्टमीको दिन गरी चार पटक बिशेष जात्रा हुने गरेको  छ। 

मेलालाई भव्य र सभ्य रुपमा सफल पार्न मेला  अवधिभर मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ। मेलामा कसैले मदिरा सेवन तथा जुवातास खेलेको पाइएमा कानुन अनुसार कारवाही हुने जनाइएको छ।  

मेलामा देउडा प्रतियोगिता पनि सञ्चालन भएकोे छ। सुदूरपश्चिमको मुख्य खेल देउडा खेलका लागि पनि यो मेलालाई विशेष रुपमा हेर्ने गरिन्छ। जिल्लाभित्र तथा जिल्ला बाहिरका देउडिया समेत यहाँ आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.