|

अर्घाखाँची : रोल्पाको थबाङमा पहिरोमा पुरिएका ६ जनाकै मृत्यु भएको छ। थबाङ-२ छेर्लबाङमा बिहीबार मध्यरातमा आएको पहिरोमा पुरिएर मृत्यु हुनेमा थबाङ-२ छेर्लबाङ का २८ वर्षीय शीर कुमारी बुढा,

उनका ४ वर्षीय छोरा असल बुढा, ३८ वर्षीय जय बुढा, ३६ वर्षीय मूलज्योति बुढा, ९ वर्षीय देवस्थी बुढा र २ वर्षीय करिश्मा बुढाको शव पहिरोबाट बाहिर निकालिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लीला आचार्यले टेलिफोनमा जानकारी दिए।

पुरिएको घरमा दुई परिवारका ६ जना बस्दै आएका थिए।  सदरमुकाम बाट ७० किलोमिटर उत्तरमा थबाङको घटनास्थल निकै विकट भएकाले उद्दार गर्न निकै कठिन भएको थबाङ इलाका प्रहरी कार्यालयका सई मोतिराम खड्काले जानकारी दिए।

 विकट क्षेत्र भएका कारण घटनास्थल वरिपरि टेलिफोन सम्पर्क हुन नसक्दा उद्दारकार्यमा निकै समस्या भएको खड्काले बताए। दुईतले ढुंगे घरको माथिल्लो तला र तल्ला तलामा सुतिरहेका ६ जनालाई पहिरोले पुरेको थियो।  घरमा रहेका चौपाया पनि पुरिएका छन्।

गाउँलेले बिहानै घटनाबारे प्रहरीलाई खबर गरेका थिए।  जानकारी पाउनेबित्तिकै थबाङ इलाका प्रहरी कार्यालयबाट प्रहरीको टोली र गाउँलेहरू घटना स्थल पुगेर उद्दार गरेका थिए।   घटनास्थल नजिकैका प्रहरी चौकि बाट पनि  प्रहरी टोली घटनास्थलमा पुगेर उद्दार गरिएको जिल्ला प्रहरी प्रमुख चित्रबहादुर गुरूङले बताए।

 घटनास्थल बाट शव पोष्टमाटम गर्न सदरमुकाम ल्याउन गाडीमा झन्डै २ दिन समय लाग्ने प्रहरी निरीक्षक आचार्यको भनाइ छ। घटनास्थलबाट गाडी चल्ने सडकसम्म आउन मानिसलाई करिब डेढ दिन लाग्ने र गाढि चढेर सदरमुकाम आउन आधा दिन समय लाग्ने हुँदा पूरा २ दिन सव सदरमुकाम ल्याउन लाग्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.