|

जनकपुरधाम : हातमा स्लाइन। एक हातमा अस्पतालको कागजात। मलिन अनुहार। उनी हुन् मधेस आन्दोलनका घाइते महोत्तरी एकडारा गाउँपालिका २ का शंकर पासवान। 

आन्दोलनमा पेटमा लागेको गोली उनको घाउ पुनः बल्झेपछि उनी हातमा स्लान लागेकै अवस्थामा आर्थिक सहयोगका लागि सरकारी निकाय चाहार्दै छन्। शुक्रबार जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेका उनले आर्थिक सहयोगको लागि यहाँ आएको बताए। आजभन्दा ठीक चार वर्ष अगाडि २०७२ भाद्र २५ गते महोत्तरीको जलेश्वरमा मधेस आन्दोलन तातेका बेला निकालेको जुलुस र प्रहरीसँग भयो।

प्रहरीले अन्धाधुन्द गोली चलाए। गोली लागेर तीन जना आन्दोलनकारीको शहीद भए। शंकरको पेटमा गोली लागेपनि तत्कालै हेलिकोप्टरबाट काठमाडाैं लगे। र प्राण जोगियो। तर उनी सदाका लागि अपाङ्गता भएर बाच्नुपर्ने अवस्था भयो।

काठमाडौंस्थित वीर अस्पतालमा उनको जटिल खालको अप्रेशन भएको छ। उनी हालसम्म औषधि खाइरहेका छन्। पछिल्लो पटक उनको पेट दुख्न थाल्यो। त्यसपछि जनकपुर आएर एक्स–रे गराउँदा चिकित्सकले केही नभएको भन्दै औषधी खान सुझाव दिए। तर पेट अझै दुखि रह्यो। 

खोकी र पिसाव फिर्दा पेट तथा छाती दुख्न थालेपछि उनी पुनः भदौं २२ गते जनकपुरस्थित दरभंगा सिटी स्कैन एण्ड डायग्नोस्टिक सेन्टर पुगे। भिडियो एक्सरे गराएपछि चिकित्सकले अप्रेश गरेको पेटभित्र घाउ भएको बताए। चिकित्सकले एक साताभित्रै अप्रेशन गराउन सुझाव दिए। त्यसपछि उनी आर्थिक सहयोगका लागि सरकारी निकाय चहारिरहेका छन्।

गोलीको घाउ बल्झेको थाहा पाएपछि उनीबारे सामाजिक अभियान्ता सरोज राय सामाजिक संजाल फेसबुकमा स्टाटास लेखेँ। त्यो स्टाटस देखेपछि समाजवादी पार्टीका नेता पशुपति यादबले उनलाई फोन गरेर मुख्यमन्त्री कार्यालय आउन भन्यो।

शंकर भन्छन्,‘यहाँ बोलाएपछि निवेदन बोकेर आएको छु। आर्थिक सहयोग पाउने विश्वास छ।’ यसअघि गाउँपालिकाका मेयरसँग अप्रेशनका लागि आर्थिक सहयोग मागेपछि बजेट नै नरहेको भन्दै फर्काएको उनले गुनासो गरे।

गोली लागेका बेला शंकरको विवाह भएको २ महिना मात्र भएको थियो। अहिले उनको एक छोरा समेत भइसकेको छ। श्रीमती गर्भवती छिन्। सामान्य आर्थिक हैसियत भएका उनी भन्छन्, ‘हामी मधेस र मधेसीको अधिकारका लागि गोली खायौं। तर अहिले उपचार गराउन पनि कसैले हेरिरहेका छैन। अपांग भएपछि केही गर्न पनि सकेका छैन। आमा बुवा र भाइबाट पनि हेला गरिरहेका छन्।’

पुनः अप्रेशन गराउन करिब १ देखि डेढ लाख रुपैयाँ आवश्यक छ। ‘पेटमै गोली लागेर सायदै कोही बाँच्छ। तर मलाई भगवानले बचायो। जटिल खालको अप्रेशन भएको छ’, उनले भने, ‘पुनः अप्रेशन गर्दा डाक्टरले एक÷डेढ लाख लाग्छ भनेर डाक्टरले भनेको छ। मुख्यमन्त्री कार्यालयले यति आर्थिक सहयोग गर्छ भन्ने आशा छ’ उनले थपे, ‘हामी लडेपछि अहिले प्रदेश सरकार बनेको छ। सहयोग गरेन भने के गर्छु? मर्छु।’


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.