|

भद्रपुर, (झापा) : आर्थिक अभावका कारण बोनम्यारो क्यान्सर (रक्त क्यान्सर) रोगबाट एक वर्षदेखि घरमै थला परेका झापा जिल्ला भद्रपुर नगरपालिका ९ बस्ने ४९ वर्षीय निर्मल दाहाललाई बचाइ दिन उनका परिवारजनले आग्रह गरेका छन्। 

चन्द्रगढीको प्रज्ञा एकेडेमी पूर्व पट्टिको गेट आगडि पाँच धुर जमिनमा घर बनाएर बस्दै आइरहेका क्यान्सर पीडित दाहाल ठेलाभेनमा पानी-पुरी राखेर गाउँ-गाउँ डुलेर बेच्दै परिवार पाल्दै आइरहेका थिए। 

पानी पुरी बेच्दै आइरहेका दाहाल एकबर्ष अघि बिरामी परेर मेची अस्पताल भद्रपुर स्वास्थ्य परीक्षण गराउन गएका थिए। मेचीमा उपचार सफल नभएपछि थप उपचारका लागि विपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको र त्यहाँका चिकित्सकले श्रीमानलाई बोनम्यारो क्यान्सर भएको उनकी श्रीमती मञ्जुले बताइन्।

उनले अहिलेसम्म श्रीमानको उपचारमा पाँच लाख बढीको रकम खर्च भइसकेको बताइन्। मञ्जुले भनिन्,‘सम्पत्तिको नाममा पाँच धुर जमिन मात्र छ। अहिलेसम्म कमाएर जम्मामा गरिएको रकम, गरगहना श्रीमानको उपचारमा खर्च भइसकेको छ।’

‘श्रीमानको बोनम्यारो प्रत्यारोपण तत्काल गर्नुपर्ने चिकित्सकले भनेकाले उपचार गराउन रकम छैन’, मञ्जुले भनिन्, ‘उपचार खर्च जुटाई श्रीमानलाई बचाइन दिन सबै समक्ष अपिल गर्दछु।’

‘उपचारका लागि ४ देखि ५ लाख खर्च हुन्छ। बोनम्यारो प्रत्यारोपण गराए श्रीमानलाई बचाउन सकिन्छ’, उनले भनिन्। उनका अनुसार मेची अस्पताल, भारतको सिलगुडी, बिर्तामोडको विएण्डसी अस्पताल, विराटनगरको नोबेल अस्पताल, धरानको घोपा र काठमाडौँको सिभिल अस्पतालमा उपचार गराउँदा गराउँदै पाँच लाख बढी रकम खर्च भइसकेको छ।

गरिबीका कारण उपचार गराउन सम्भव नभएपछि आफूले मर्नुको विकल्प नभएको क्यान्सर पीडित दाहालले पीडा सुनाए। ‘बोनम्यारो प्रत्यारोपणको तत्काल शल्यक्रिया गर्न नसके अबको तीनदेखि चार महिनाभित्र आफ्नो मृत्यु भइसक्ने चिकित्सकहरूले बताएका छन्’, आँखाबाट आँसु झार्दै उनले भने। 

उनले छरछिमेकले चन्दा संकलन गरेर हालसम्म मेरो उपचार गराइरहेको पीडा सुनाए। उनले भने, ‘नियमित चेक जाँचका लागि अस्पताल धाइ रहेका छौं।' दाहालको परिवारमा श्रीमती मञ्जु, १५ वर्षकी छोरी र ११ वर्षका छोरा रहेका छन्।

‘छोराछोरीको पढाई गराउनु की श्रीमानको उपचार गराउनु? यस्तो पीडा भगवानले कसैलाई नदिइयोस्’, मञ्जुले थपिन्। छरछिमेकबाट अहिलेसम्म  ३० देखि ४० हजार रुपैयाँ चन्दा उठाएर दिएको र त्यो रकमले उपचार नहुने भएकाले सबै पक्षले सहयोग गरिदिनु हुन छिमेकी विशाल रिमालले बताए।

यता सहयोगका लागि क्यान्सर पीडित दाहालकी श्रीमती मञ्जुको नाममा रहेको चन्द्रगढीस्थित सिद्धार्थ बैंकको  खाता नम्बर ०२२१५२१४०९५ आर्थिक सहयोग रकम जम्मा गरिदिनु हुन रिमालले अनुरोध गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.