थाहा संवाद

नेपालले जलवायु प्रदूषण लक्षित काम नथाले गम्भीर स्थिति

वातावरण बेवास्ताबाट गरिने काम विकासै होइन

असोज १, २०७६

    अमेरिकाको हवाईस्थित अकामाई युनिभर्सिटीका प्राध्यापक मेदनीप्रसाद भण्डारी जलवायु परिवर्तनकै बारेमा चर्चा गर्न कहिले युक्रेन पुग्छन्, कहिले केन्या। जलवायु परिवर्तन र दिगो विकास उनको मूलविषय हो। ‘बसुधैव कुटुम्बकम्’ शीर्षकमा प्रकाशित लामो सामग्रीमा उनले ‘पृथ्वी सबैको साझा घर भएकाले यसको सुरक्षामा संयुक्त चासो दिइनुपर्ने’ धारणा राखेका छन्।

    अमेरिकालाई कार्यथलो बनाउँदै आएका भण्डारीको अनुसन्धान पूर्वी एसियामा केन्द्रित छ। हालै नेपाल आएका उनीसँग जलवायु परिवर्तनकै विषयमा थाहा खबरका लागि सरस्वती अधिकारीले गरेको कुराकानी:

    जलवायु परिवर्तन भने के हो

    विशेषज्ञहरूले दिएको परिभाषा लामो छ, मैले पनि आफ्नो पुस्तकमा लामा–लामा परिभाषा दिएको छु। सामान्यतः वातावरणको नियमित प्रक्रिया, ढाँचा र परिधिमा देखिएको असन्तुलन नै जलवायु परिवर्तन हो।

    कस्ता असरहरूलाई जलवायु परिवर्तनको असर भन्न मिल्छ?

    बढ्दो तापक्रम, खडेरी, हिमाल पग्लने, बेला न कुबेला पानी पर्ने, अतिवृष्टि, अनावृष्टि, मानव र पशुपक्षीको जीवनचक्र खलबलिने– यही हो जलवायु परिवर्तनको असर। इकोलोजीमै परिवर्तन देखिएको छ, कृषिमा परिवर्तन देखिएको छ।

    काठमाडौंकै उदाहरण हेरौं न, केही वर्ष अघिसम्म यहाँ यति धेरै गर्मी थिएन। धुँवाधुलो थिएन, मानिस अहिले जति बिरामी पर्दैनथे। यो सबै कसरी भयो त? यही असन्तुलित परिणाम नै जलवायु परिवर्तनको असर हो।

    जलवायु परिवर्तनका मूलकारण के के हुन्?

    मूलकारण भनेको अधिक जनसंख्या नै हो। औद्योगिक विकास, जीवास्म इन्धनको अधिक प्रयोग, रासायनिक मलको प्रयोग आदि अन्य कारण हुन्। तर, मूलकारण भनेको प्रकृतिमाथि मानव हस्तक्षेप वा हाम्रो व्यवहार हो।

    एउटा व्यक्तिले जलवायु परिवर्तनको असर न्यूनीकरणमा के योगदान गर्न सक्छ?

    व्यक्तिले आफ्नो व्यवहार परिवर्तन गर्न सक्छ, यो नै आधारभूत योगदान ठहरिनेछ। घरमा उत्पादन हुने फोहोरमैलाको उचित व्यवस्थापन गर्नसक्छ, निजी सवारीसाधनको सट्टा सार्वजनिक सवारीसाधनको प्रयोग गर्नसक्छ। अहिले व्यक्तिपिच्छे मोटर चाहिएको छ, साना मोटरको संख्या निकै बढेको छ।  यातायात व्यवस्थापन गरियो भने प्रदूषण स्वतः घट्छ। त्यसका लागि अनुशासित जीवनशैली अपनाउनुपर्‍यो, आँफैलाई सुधार्नुपर्‍यो।

    जलवायु परिवर्तनको क्षेत्रमा तपाईएको मुख्य एजेण्डा के हो?

    यो पृथ्वीमा हामी मान्छे मात्र छैनौं, हाम्रो नाता पशुपक्षीसँग पनि छ, बोटविरुवासँग पनि छ। हामीले सबैको हित सोच्नुपर्दछ। त्यसका लागि, वसुधैव कुटुम्बकमको मानसिकता विकसित गरिनुपर्छ। यो पृथ्वी हाम्रो साझा घर हो, र यसको सुरक्षाको जिम्मेवारी हामी सबैको हो भन्ने भावना आउनु पर्दछ।

    त्यसरी सोच्ने हो भने मात्रै पृथ्वी सुरक्षित रहन्छ, भावी पुस्ताका लागि पनि संरक्षित रहन्छ। मेरो चिन्ता वा ध्यान अहिले यसैमा केन्द्रित छ। वातावरणीय संरक्षणको मुद्दा साझा एजेण्डा बन्नुपर्छ, संयुक्त अभियान चलाउनु पर्दछ।

    नेपालसँगै भारत, बंगलादेश र पाकिस्तानमा जलवायु परिवर्तनबारे थुप्रै अनुसन्धान गर्नुभएको छ। तपाईंको अध्ययनले दक्षिण एसियाको वातावरणीय स्थिति कस्तो पाउनुहुन्छ?

    जोखिमपूर्ण छ। नेपालकै कुरा गरौं, विश्वव्यापी जलवायु परिवर्तनमा नेपाल कारक होइन, तर हामी यसको असरबाट अछुतो छैनौं। हाम्रा हिमश्रृंखला, ग्लेसियर जोखिममा छन्। हिमालहरू पग्लिँदै गएका छन्। परिवारको एउटा सदस्यले काम बिगार्दा सबैले सजाय भोग्नु परेजस्तो स्थिति पैदा भएको छ।

    वातावरणका क्षेत्रमा कहीँ कसैले केही गल्ती गर्‍यो भने त्यसको असर संसारभरि  नै पर्छ। हाम्रोमा अतिवृष्टि भयो वा बाढी आयो भने त्यसको असर भारत बंगलादेशमा पर्छ। त्यहाँका मान्छेले कुनै गल्ती त गरेका छैनन्, तैपनि असर भोग्नैपर्छ। नेपालले पनि त्यस्तै असर भोगिरहेको छ।

    नेपाल र छिमेकी देशहरूमा परेको जलवायु परिवर्तनको प्रभावमा कुनै भिन्नता छ?

    हाम्रोमा जे भइरहेको छ, त्यहाँ पनि भएको छ। भूगोल फरक हो, प्रभाव फरक छैन। देशको सीमाको दृष्टिले यसलाई हेरिन हुँदैन, वातावरणको दृष्टिले हेर्नुपर्छ। तब मात्रै हामीले ठीकसँग बुझ्न सक्छौं। जस्तो, हाम्रो कोशीको प्रकोप भारत र बंगलादेशमा पनि पर्छ। कोशी नदीलाई ‘तँ हाम्रो मात्र होस्, उता केही नगर’ भन्न त मिल्दैन। कुनै पनि वातावरणीय समस्या पैदा हुँदा, त्यसको असर आसपास पनि उत्तिकै पर्छ।

    अब कृषिको कुरा गरौं। कृषिमा कस्तो असर देखिएको छ?

    प्रत्यक्ष असर पर्ने नै कृषिमा हो। खाद्यचक्र नै परिवर्तन भएको छ। पहिले तराईमा मात्र आँप फल्थ्यो, अहिले पहाडमा पनि फल्न थाल्यो। समयअगावै फल लागेको पनि देखिएको छ। कतिपय जीव र वनस्पति माथिमाथि सर्दै गएका छन् ।

    कृषिजन्य उत्पादन चक्रमा परिवर्तन आउँदा उत्पादनमा ह्रास आएको छ। वर्षाको समय, मात्रा र अवधिमा परिवर्तन आएको छ। यसको असर खेतिपातीमा पर्ने नै भयो।

    मैले अफ्रिकी देशका केही बुढापाकासँग कुरा गर्ने मौका पाएको थिएँ, जो प्रकृतिसँग निकै नजिक रहेर काम गर्छन्। उनीहरूका अनुसार, जनावरहरूले आफ्नो बाँच्ने ढाँचा नै परिवर्तन गरेका छन्। परिवेशअनुसार आफूलाई ढाल्ने कोसिस गरेका छन्।

    जलवायु परिवर्तनको असर कम गर्न नेपाल र अन्य देशले गरिरहेको प्रयासमा के अन्तर देख्नुहुन्छ?

    नीतिगत कुरा गर्ने हो भने सबैले नीति बनाएका छन्, संयुक्त राष्ट्रसंघसम्मै कुरा उठाएका छन्। तर, दक्षिण एसियाली देशहरूको उपलब्धि भने शून्यजस्तै छ। तुलनात्मक रूपमा भारतले अलि बढी काम गरेको छ, पञ्चायती संरचनासम्मका लागि कार्यक्रमहरू बनाएको छ।

    उनीहरूले खासगरी जनचेतना फैल्याउने कुरा र, वृक्षारोपणलाई जोड दिएका छन्। पाकिस्तानमा पनि ठूलो परिमाणमा वृक्षारोपण कार्यक्रम हुन्छन्। नेपालमा भने त्यसो गर्ने जग्गा पनि छैन। सन्तुलन मिलिराखेको छैन। नीतिगत कमजोरी छ, नीति बनिहाले कार्यान्वयनमा समस्या छ। परामर्श पनि पुगेको छैन, परामर्श, नीतिनिर्माण र कार्यान्वयनमा गहिरो खाडल देखिन्छ।

    त्यसो भए, नेपालले कुनै प्रयास नै गरेको छैन भन्दै हुनुहुन्छ?

    त्यसो होइन, प्रयास गरेकै छैन भन्न मिल्दैन। अहिलेको समयमा कुनै पनि राष्ट्र प्रयासै नगरी बस्न पनि मिल्दैन। तर नेपालले जति गरेको छ, त्यो पर्याप्त छैन।

    नेपालको मुख्य वातावरणीय समस्या के हो?

    वनविनास, बढ्दो जनघनत्व, गरिबी र असमानतालाई समस्याको चुरो मान्नुपर्ने हुन्छ। यहाँ वातावरणीय समस्या सिर्जना हुनुमा सरकारकै नीतिसमेत कारक छ। अहिलेको सरकारको नीति मात्रै होइन, पहाडका मान्छे तराईमा सर्न थालेदेखि नै यो समस्या हुन थालेको हो।

    ग्रामीण र शहरी क्षेत्रमा के–कस्ता भिन्नता देखिएका छन्? वातावरणीय परिवर्तनको प्रभाव कस्तो छ?

    तराईमा विकराल अवस्था छैन। तर बढ्दो शहरमोहका कारण पहाडका बस्तीमा कोही मर्‍यो भने मलामी जाने मान्छे पनि छैनन्।

    मानिसहरू किन गाउँ छाड्न विवश भए, यो अनुसन्धानको विषय हो। आज सबैतिर मोटर पुगेको छ, तर मान्छेले आफ्नो थलो छाडिरहेको छ। पहाडका खेतहरू बाँझै छन्, कसैले ध्यान दिएकै छैन।

    शहरको समस्या अर्कै छ, यो विभिन्न प्रकारका प्रदुषणको सिकार बनेको छ। यी सबै कारणले सबै क्षेत्रमा जोखिम बढ्दै गएको देखिन्छ।

    भविष्यमा आउन सक्ने संकटबाट जोगिन अहिल्यै गरिहाल्नुपर्ने कामहरू के–के हुनसक्छन्?

    पर्खने समय नै छैन, भोलि भन्ने कुरै छैन। अहिल्यै ढिला भइसक्यो। जलवायु परिवर्तनलाई लक्षित गरी आजैदेखि ठोस काम नथाल्ने हो भने गम्भीर स्थिति पैदा हुनसक्छ। प्रभाव देखिइसक्यो, हामी समस्यामा परिसक्यौं। अब पनि पर्खियो भने विध्वंसबाहेक केही हात पर्दैन।

    विकास र जलवायु परिवर्तनको अन्तरसम्बन्धलाई कसरी व्याख्या गर्नुहुन्छ?

    मान्छे परिवर्तन चाहन्छ, विकास चाहन्छ, यो अपरिहार्य कुरा हो। तर वातावरणसँग सामञ्जस्य हुनेगरी मात्रै विकास गर्नुपर्छ। दिगो विकासको अवाधारणा भनेकै त्यही हो। वातावरणलाई बेवास्ता गरेर गरिने विकास, विकास होइन। दुवैलाई मिलाएर लैजानुपर्छ। त्यो नै बुद्दिमत्तापूर्ण ठहर्छ।

    एक हिसाबले, वातावरणको कुरा गर्दा विकास कार्यमा असर पर्‍यो भन्न पनि सकिन्छ, तर त्यो बुझाइ एकपाखे बुझाइ हो। वातावरण र विकासबीच ठाडो सम्बन्ध छ। जलवायु परिवर्तनका कारणले गर्दा यो झनै ध्यान दिनुपर्ने विषय बनेको छ।

    औद्योगीकीकरणको कुरा भएपछि त्यसले निम्त्याउने प्रदूषणको कुरा नहुने भन्ने भएन। तसर्थ, विकास र त्यसको वातावरणीय असर गहिरो गरी अन्तरसम्बन्धित छन्।

    नेपालले मात्र चाहेर जलवायु परिवर्तनको असर रोकिन्छ त?

    हेर्नुस्, यसको सबैभन्दा बढी असर हामीले भोगिरहेका छौं। त्यसैले दक्षिणपूर्वी एसियामा हामीले अग्रणी भूमिका खेल्नैपर्छ। त्यसैले म के भन्छु भने, सीमाको कुरा नगरौं, राजनीतिबाट माथि उठौं, भौगोलिक स्वार्थबाट माथि उठौं। जलवायु परिवर्तनसँग जुध्न समष्टिगत प्रयत्न चाहिन्छ। जस्तो कि सार्क ! सार्कलाई सक्रिय गराउनैपर्छ। विद्यार्थीहरूमार्फत सरकारलाई दबाब दिन सकिन्छ। सबै देशका सरकारललाई संयुक्त दबाब दिने हो भने फरक नपर्ने भन्ने कुरै हुँदैन।

    सरकारलाई के सुझाव दिन चाहनुहुन्छ?

    मैले नेपालको नीति, दस्तावेज सबै हेरेको छु। त्यसमा सबै कुरा समेटिएका छन्, नसमेटिएका कुरा केही छैनन्। तर, कार्यान्वयनमा समस्या छ।

    सरकार साँच्चै यसमा गम्भीर छ भने, सबै सरोकारवालालाई सामेल गराएर नीति बनाउनुपर्‍यो। गाउँगाउँ जानुपर्‍यो, चिया पसलसम्म पनि पुग्नुपर्‍यो, किसानलाई भेट्नुपर्‍यो। बुढापाकालाई सोध्नुपर्‍यो, हिजो के थियो, आज के छ? उनीहरूको सुझाव पनि लिनुपर्‍यो। युवा  विद्यार्थीहरूलाई पनि जागरूक पार्नुपर्‍यो। समस्या जहाँ छ, समाधान त्यहीँबाट खोज्ने हो।

सरस्वती अधिकारी

पत्रकार अधिकारी थाहा सञ्‍चार नेटवर्कमा आबद्ध छिन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]