प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

|
कांग्रेस प्रवक्ता शर्माको ट्विटर अकाउन्टबाट

काठमाडौं : नागरिकता विधेयक र संसद अवरोधलगायतका विषयमा नेपाल कम्युनिस्ट पार्टीसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छलफल गरेको छ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको सरकारकी निवास बालुवाटारमा आइतबार साँझ भएको छलफलमा मुख्य गरी नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको वैवाहिक अंगीकृत नागरिकतामा कस्तो व्यवस्था गर्ने र संसद अवरोधको विषयमा छलफल भएको हो।

नेकपाका तर्फबाट प्रधानमन्त्री तथा अध्यक्ष ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललगायतका नेताहरू सहभागी थिए भने कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक बालकृष्ण खाँण, प्रवक्ता विश्वप्रकाश शर्मालगायतका नेताहरू सहभागी थिए।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट सभापति देउवालगायतका नेताहरूले वैवाहिक अंगीकृत नागरिकताको प्रावधान नेपाल नागरिकता ऐन २०६३ मा जे छ त्यै राख्नुपर्ने पार्टीको अडान नेकपाको नेतृत्वलाई बताएका थिए। संघीय संसद प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा छलफलको अन्तिम चरणमा रहेको उक्त विधेयकको वैवाहिक अंगीकृत नागरिकताबारे दुई दलबीच सहमति हुन सकेको छैन।

‘तपाईंहरूको धारणा सुनियो हामी पनि आफ्नो धारणा बनाउँछौँ र भोलि यस विषयमा थप छलफल गरौँला भन्नुभयो’ प्रधानमन्त्रीले भनेको कुरा उल्लेख गर्दै प्रवक्ता शर्माले थाहाखबरलाई बताए। उनले आफूहरूले अंगीकृत नागरिकताबारे अहिले कायम रहेको व्यवस्था परिवर्तन गर्न नसकिने धारणाबारे प्रधानमन्त्री र नेकपाको नेतृत्वलाई जानकारी गराइएको बताए। साथै अन्य विवादित विधेयकबारे पनि छलफल भएको उनले जानकारी दिए।

नागरिकता ऐन, २०६३ मा वैवाहिक अंगीकृत नागरिकताको व्यवस्थाः

 

नेपाली नागरिकसँग विवाह गरे लगत्तै निवेदन दिएमा नेपालको नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था नागरिकता ऐन, २०६३ मा रहेको छ। जसलाई नेकपाले कम्तीमा ७ वर्ष बनाउनुपर्ने धारणा राखेको छ। उसले भारतमा पनि त्यहाँको नागरिक हुनका लागि विवाह गरेको ७ वर्षपछि निवेदन दिन योग्य हुने व्यवस्था रहेकाले नेपालमा पनि त्यस्तै व्यवस्था गर्नुपर्ने धारणा राखेको छ। राज्यव्यवस्था तथा सुशासन समितिमा विधेयकमाथिको छलफलका क्रममा नेकपाका सांसदहरूले उक्त धारणा राख्ने गरेका छन्। जसमा कांग्रेसका सांसदहरूले असहमति जनाउँदै आएका छन्।

नागरिकताबारे भोलि सर्वदलीय छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले वैवाहिक अंगीकृत नागरिकताको विषयमा राजनीतिक सहमति जुटाउन सोमबार सर्वदलीय बैठक बोलाएका छन्। संसदमा रहेका चार राजनीतिक दलहरू नेकपा, कांग्रेस, राष्ट्रिय जनता पार्टी, नेपाल र समाजवादी पार्टी, नेपाललाई उक्त विषयमा सहमति जुटाउन बैठकमा बोलाइएको छ।

बालुवाटार स्रोत र कांग्रेस प्रवक्ताले भोलि बैठक आह्वान गर्ने कुराको पुष्टि गरेका छन्।

समितिमा विवाद भएपछि प्रधानमन्त्री ओली र राजपाका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवबीच छलफल भएको थियो। राज्यव्यवस्था समितिका संयोजकसमेत रहेका यादवले नागरिकताको विवाद अन्त्य गर्नका लागि राजनीतिक सहमति जुटाउने पहलकदमी लिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए। त्यसपछि मतदानको चरणमा जानै लागेको विधेयकको छलफल रोकिएको थियो।

बाँके प्रकरणमा प्रधानमन्त्रीले भने – दोषीलाई कारबाही हुन्छ

नेपाली कांग्रेसकी बाँके सभापति किरण कोइरालामाथि भएको हमलाबारे कांग्रेस नेताहरूले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन्।

प्रवक्ता शर्माका अनुसार कांग्रेसले ७० वर्षकी सभापति कोइरालामाथि नेकपाका स्थानीय नेताहरूले हमला गरेको बताएका थिए। जवाफमा प्रधानमन्त्रीले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए।

सोही विषयलाई लिएर कांग्रेसले संघीय संसदका आइतबार बसेका दुवै सदनको कारबाही अवरुद्ध गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.