|

अहिले ५६ भन्दा बढी जिल्लामा डेंगुको संक्रमण पुगिसकेको छ। डेंगुको संक्रमणबाट हजारौँ बिरामी परिसकेका छन्। सरकरी तथ्यांकअनुसार पाँच हजारभन्दा बढीमा डेंगुको संक्रमण भइसकेको छ। केही सातायता नै डेंगुबाट ६ जनाले ज्यान गुमाइसकेका छन्। संघीय राजधानी काठमाडौंमै डेंगुले प्रकोपकै रुप लिएको छ।  जसले गर्दा डेंगुको विषयले सडकदेखि संसदसम्म तताएको छ।

सरकारको पछिल्लो तथ्यांकअनुसार प्रदेश १, ३ र ४ डेंगुले सबैभन्दा बढी प्रभावित भएका छन्। हालसम्म प्रदेश ३ मा ३ हजार १ सय २६ जनामा डेंगुको संक्रमण भएको छ। त्यसमा सबैभन्दा धेरै राजधानी उपत्यकाकै एक हजार एक सय ७० जना प्रभावित भइसकेका छन्।

जनस्तरबाटै सामान्य सवधानी अपनाउन सकिएमा डेंगु नियन्त्रण गर्न सकिन्छ।  सबैभन्दा पहिले डेंगु संक्रमण कसरी हुन्छ र कसरी बच्न सकिन्छ भन्ने कुराको जनचेतना आम नागरिकलाई पुर्‍याउन आवश्यक छ।

डेंगुको संक्रमण भएको लामखुट्टे यसले पारेका अण्डा, प्युपा र लार्भाबाट हुर्कने सबै लामखुट्टेले टोकेमा डेंगु सर्छ। लामखुट्टेको प्रजनन तथा विकास हुने ठाउँहरु खोज्ने र नष्ट गर्ने अभियान नै डेंगुको संक्रमण नियन्त्रण गर्ने उत्तम उपाय हो। घर वरिपरि किटनाषक औषधि छ्याप्ने तथा फगिङले अन्य रोगहरु बढाउने तथा वातावरण बिगार्ने जस्ता बेफाइदा धेरै भएको र लामखुट्टेको अण्डा यसले नष्ट नगर्ने भएकोले डेंगुको नियन्त्रणमा फगिङ त्यति उपयोगी नभएको अध्ययनले देखाएको छ।

डेंगु नियन्त्रणको उपाय

सिंहदरबार, स्वास्थ्य  तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, सामाजिक विकास मन्त्रालयहरु सबैले अफ्नो कम्पाउन्डभित्र डेंगु सार्ने एडिस जातको लामखुट्टेको अण्डा, प्युपा र लार्भा हुर्कने ठाउँ नष्ट गर्नुपर्छ। जुन ठाउँमा धेरै मानिसहरुको भिडभाड धेरै हुन्छ।  यसले देशभर लामखुट् 'खोज्ने र नष्ट गर्ने' अभियान चलाउनुपर्छ।

सबै मन्त्रीका घर निवास र मन्त्रालयमा पानी जम्ने तथा एडिस जातको लामखुट्टेले अण्डा पार्ने ठाउँ पानी जम्ने पात-पतिंगर, पानी, कोक, फेन्टा आदिका बोतल सिसी तथा उत्तानो परेका यसका बिर्काहरु, दियोहरु, ट्वाइलेटका पानी जम्ने ब्रस होल्डर, बासका किला जसका माथि पानी जम्न सक्छ, पुराना टायर लगायत लामखुट्टेका वासस्थानहरू तथा अव्यवस्थित फोहोर छैन भनी निश्‍चित गर्ने। सफा घर अफिस सेवाग्राही र भेट्न आउनेलाई निश्चित चेकलिस्ट बनाई मोडेल देखाइदिने।

सरकारी निकायहरु, सबै साझेदार संस्थाहरु, सबै पाटीका माथिल्लो निकाय तथा जन प्रतिनिधिहरुले आ-आफ्नो अफिस र निवास तथा घरमा डेंगु फैलाउने लाम्खुट्टेले फूल पार्ने ठाउँ छैन, लामखुट्टे उत्पादन हुन्न भनी पक्का गरी सरकारी निकायहरू र सबै साझेदार संस्थाहरुले उपभोक्तामार्फत तथा राजनीतिक दल र जनप्रतिनिधिहरुले आफ्ना भोटर,  कार्यकर्ता एवं तल्ला निकायलाई अनुगमन गर्न डाकौं, उनीहरुबाट भ्यालिड़ेट गराउदै सर्टिफिकेट लिनुपर्छ।

हालसम्म गर्दै आएका अनुगमन मूल्यांकन र सर्टिफकेसन गर्ने टप डाउन (माथिबाट तलतिर) तरिकालाई बटमअप (तलबाट माथितिर) बनाउनुपर्छ। यसले  डेंगुको नियन्त्रणका साथै प्रणालीमासमेत सुधार ल्याउन सहयोग गर्नेछ।

आम नागरिकले व्यक्तिगत रुपले आधिकारिक सूचना प्राप्त गर्ने र प्राप्त सूचनालाई व्यवहारमा लागू गरी सुरक्षित हुने साथै अरूलाई सिकाउने। यस्तै डेंगुको लक्षण देखिएमा नआत्तिने र  चिकित्सकसँग परामर्श लिनुपर्छ।  

चिकित्सक कहाँ जानुपर्ने अवस्था

अचानक ठूलो ज्वरो आएमा, टाउको धेरै दुखेमा, आँखाको पछाडि धेरै दुखेमा, मांशपेशी र जोर्नी धेरै दुखेमा, शरीरमा बिमिरा आएमा, नाक वा मुख कतैबाट रगत आएमा, वाकवाकी लागेमा र बान्ता भएमा तथा विसञ्‍चो अनुभव भएमा तुरुन्त डेंगुको परीक्षण गर्नुपर्छ।

डेंगु लागेको वा नलागेको परीक्षणको एक दुई दिनमै थाहा हुन्छ। डेंगु छ भने रगतमा प्लेटलेस कम हुँदै जान्छ। एडिस प्रजातिको लामखुट्टेले मानिसलाई टोकेपछि डेंगुको संक्रमण हुने गर्छ।

लामखुट्टेले टोकेको मानिसलाई दुई दिनसम्म सामान्य टाउको दुख्ने गर्छ। दुई तीन दिनपछि लगातार ज्वरो आउँछ, टाउको दुख्ने, जोर्नी र मांशपेशी दुख्ने जस्ता लक्षण देखिन्छन्।

साथै आँखाको पछाडिपट्टिको भाग दुख्ने, वाकवाकी लाग्ने, खाना खान मन नलाग्ने लक्षण पनि बिरामीमा देखापर्ने गर्छ।  यसलाई बेवास्ता गरियो भने संक्रमण बढ्दै गएर रगतमा प्लेटलेट्सको मात्रा कम हुन गएर शरीरका विभिन्न अंग नाक, गिजाबाट रगत बग्न थाल्ने, दिसा र पिसाबमा पनि रगत देखिनुका साथै रक्तचाप कम हुने, शरीरमा रगतको कमी हुने, मिर्गौला तथा मुटुमा समस्या देखिने गर्छ।

यस्ता लक्षण देखिएमा सचेत रहन र स्वास्थ्यकर्मीको सल्लाह लिन पर्छ। यस्तै, घर वरपर रहेको पानी जम्ने खाल्डाखुल्डी पुर्ने, लामखुट्टेको टोकाइबाट जोगिन झुल टाँगेर सुत्ने, घरबाहिर करेसाबारीमा काम गर्न जाँदा सकेसम्म शरीर पूरै छोपिने गरी लुगा लगाउने, घर वरपर सफा राख्ने, लामखुट्टे भएका स्थानमा किटनाशक औषधिको प्रयोग गर्नाले डेंगुको संक्रमणबाट बच्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.