|

संखुवासभा : यहाँको धर्मदेवी नगरपालिका-८ अक्कर भीरमा मंगलबार राति जिप दुर्घटना हुँदा अरुण नदीमा ६ जना बेपत्ता यात्रुको खोजी गर्न गोताखोरको टोली पुगेको छ। 

सशस्त्र प्रहरीका वरिष्ठ हवलदार बलराम अधिकारीको कमाण्डमा ४ जना गोताखोरको टोली बिहीबार दिउँसो सेनाको हेलिकोप्टरबाट तुम्लिङटारमा उत्रिएको हो । यो टोली त्यहाँबाट धर्मदेवी नगरपालिकास्थित दुर्घटनास्थलमा गाडीबाट गएर आजैदेखि खोजी थाल्ने छ। 

बेपत्ताको खोजी गर्न चितवनबाट गोताखोर बोलाइएको टोली आइपुगेको संखुवासभाका प्रहरी प्रमुख डिएस्पी मिम लामाले जानकारी दिए। माथिल्लो क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण अरुण नदीको बहाव उच्च भएको छ। 

प्रहरी र स्थानीयले मंगलबार रातिदेखि नै खोजी गरिरहेको भए पनि फेला नपारेपछि गोताखोर बोलाइएको हो। गोताखोरलाई बुधबार नै बोलाइएको भए पनि मौसमका कारण  दुर्घटनास्थलमा ल्याउन कठिनाइ भएको थियो। 

मौसम खुलेपछि बिहीबार गोताखोर टोली पुगेको हो। घटनास्थल अक्कर भीरमा अहिले २५ जना सुरक्षाकर्मीका टोली खटिएका छन्। 

जिल्ला अस्पताल खाँदबारीमा उपचार हुन नसकेपछि मंगलबार राति धरान जाँदै गरेको जिप ब्रके फेल भएर साढे १० बजे अक्करको भीरबाट अरुण नदीमा खसेको थियो। 

बेपत्ता हुनेमा खाँदबारी नगरपालिका-९ का २४ वर्षीय संगम श्रेष्ठ उनकी श्रीमती २३ वर्षीय सदीक्षा श्रेष्ठ उनको दुई महिनाको छोरा समिर श्रेष्ठ बेपत्ता भएका छन्। उनीहरू तीनैजना एकै परिवारका हुन्। त्यस्तै, खाँदबारी-९ का  २४ वर्षीय प्रमेश थापा मगर, उनका भिनाजु जिल्ला खोटाङका २९ वर्षीय खबरमान पिठाकोटी र गाडी चालक खाँदबारी नगरपालिका-९ ढुंगेधाराका २५ वर्षीय सन्तोष बिक बेपत्ता भएको संखुवासभा प्रहरीले जनाएको छ। 

बिरामी प्रमेश थापा मगर र समिर श्रेष्ठलाई जिल्ला अस्पताल खाँदबारीले 'रिफर' गरेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजादै गर्दा जिप अक्करको भीरबाट तल अरुण नदीमा खसेर बेपत्ता भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.