संचारमन्त्रीले भने : गोरखापत्रको जग्गा खोई?

|
फोटो : विराटनगरमा गोरखापत्र प्रकाशन आरम्भ / अर्जुन आचार्य

विराटनगर : निर्णय भएको ३४ वर्षपछि देशकै जेठो सरकारी पत्रिका गोरखापत्रको प्रकाशन विराटनगरबाट पनि सुरु हुने भएको छ। विराटनगर–१९ बैजनाथपुरमा कार्यालय स्थापना रहेको गोरखापत्रले संविधान दिवसको अवसर पारेर असोज ३ गते अर्थात् शुक्रबारदेखि औपचारिक सुरुवात गर्ने भएको हो।

पत्रिका प्रकाशनको औपचारिक उद्घाटन बिहीबार सूचना प्रविधि तथा संचारमन्त्री गोकुल बास्कोटाले गरेका छन्। सोही अवसरमा मन्त्री बास्कोटाले ७ कठ्ठा जग्गामा बनेको प्रेस घर, गोदाम घर, सम्पादकीय भवन, प्रशासनिक भवन, आवास र क्यान्टिनको पनि एकैपटक उद्घाटन गरे।

सुधारवादी शासकको रूपमा चिनिएका श्री ३ देवशम्शेरले विक्रम सम्वत् १९५८ साल वैशाख २४ गते ‘गोर्खापत्र’ साप्ताहिकको रूपमा नेपालमा पहिलो पटक प्रकाशित भएको थियो। गोरखापत्रलाई नेपाली पत्रकारिताको इतिहास र पत्रकारिताको जगको रूपमा लिइन्छ। सरकारको स्वामित्वमा रहेको गोरखापत्र संस्थानले हाल गोरखापत्र दैनिक, युवामञ्च, मुना, मधुपर्कलगायत प्रकाशित छन्।

यही गोरखापत्र विराटनगरबाट प्रकाशित गर्ने भन्दै तत्कालीन प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालको पालामा विक्रम सम्वत् २०४३ सालमा निर्णय भएको थियो। सो निर्णय भएको झण्डै ३४ वर्षपछि गोरखापत्रले विराटनगरबाट प्रकाशन आरम्भ गरेको हो। विराटनगर १९ स्थित वैजनाथपुरमा ७ कठ्ठा जग्गामा गोरखापत्रले ७ करोडको लगानीमा विराटनगरमा रहेको कार्यालयका विभिन्न भवनहरू निर्माण गरेको छ।

उक्त भवन निर्माणका लागि आर्थिक वर्ष २०७२/२०७३ मा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय विराटनगरले ठेक्का लगाएको थियो। लामाखु खुस्बु जेबी कन्स्ट्रक्सनले भवन निर्माण गरी विसं. २०७५ असार ३० गते गोरखापत्र संस्थानलाई हस्तान्तरण गरेको थियो।

गोरखापत्रको जग्गा खोजी होस् : संचारमन्त्री

कार्यक्रममा संचारमन्त्री बास्कोटाले विराटनगरको वडा नम्बर ३ मा गोरखापत्रलाई नगरपालिकाले दिएको ७ कठ्ठा जग्गा अतिक्रमण भएको भन्दै खाली गर्न आग्रह गरे। ‘गोरखापत्रको जग्गा मैले गएर हेरेँ, दुवैतिरबाट चेपिएको छ, त्यो जग्गा खाली गर्न सहयोग गरिदिनुहुन म महानगरपालिकालाई आग्रह गर्दछु, प्रदेश सरकारले पनि त्यो विषयलाई गम्भीरतापूर्वक हेरोस्,’ मन्त्री बाँस्कोटाले भने, ‘सडकमा परेको भए ठीकै छ तर, सर्वसाधरणले अनावश्यक रूपमा अतिक्रमण भएको विषय मान्न सकिँदैन, सडकको एलाइनमेन्ट परिवर्तन गरेर गोरखापत्रको जग्गालाई खुँडे बनाएर कामै नलाग्ने बनाएको पाइयो, त्यो जग्गा हामी सुरक्षित राख्न चाहन्छौँ, आवश्यक परेको बेला सदुपयोग गर्न पाइयोस्।’

यसैबीच मन्त्री बाँस्कोटाले प्रजातन्त्र दिवसको अवसर पारेर आगामी फागुन ७ गतेदेखि नेपाल टेलिभिजनले पनि क्षेत्रीय प्रसारण सुरु गर्ने बताए। सरकारको आलोचना गर्नेलाई कामबाट जवाफ दिने बताउँदै प्रदेशस्तरीय गोरखापत्रको प्रकाशन आरम्भ गरिएको र आगामी फागुन ७ गते टेलिभिजनको क्षेत्रीय प्रसारण इटहरीबाट सुरु हुने बताएका हुन्। उनले गोरखापत्र विगतको जस्तो मात्रै नभएर अब धेरै परिवर्तन हुने, राष्ट्रको आवाज बोल्ने पनि बताए। बिहानबिहान पत्रिका घरघरमा पुग्ने भन्दा पनि मनमनमा बस्ने खालको हुनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा बोल्दै प्रदेश-१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले सम्पूर्ण सेवा सुविधा, भौतिक सम्पत्ती भए पनि सरकारी संस्थाहरुले नीजि क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसक्नु दुःखलाग्दो कुरा भएको बताए। गोरखापत्रले पछिल्लो समय राम्रो गर्न खोजेको भएपनि अझै राम्रो गर्न जोड दिनुपर्ने मन्त्री कार्कीको भनाइ थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले लोकतन्त्रमा सञ्चारले नागरिकबीच सम्वाद गराउने बताउँदै गोरखापत्रले सोही काम गर्ने बताए। उनले गोरखापत्र विज्ञापन उठाएर नाफा खाने उद्देश्यमात्र बोकेको संस्था नभई नागरिकको सूचना पाउने अधिकारको संरक्षक भएको दाबी पनि गरे।

कार्यक्रममा प्रदेशसभाकी उपसभामुख सरस्वती पोखरेल, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलगायतको उपस्थिति थियो।

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.