|

विराटनगर : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका धनकुटा-मोरङ सेक्रेटरी दीपक राई (विकल्प)ले पार्टी परित्याग गरेका छन्। 

पार्टीले लिएको सिद्धान्त ठीक भए पनि व्यवहार गलत भएको भन्दै आफू पार्टीबाट अलग भई स्वतन्त्र नागरिकका रुपमा रहने उनले बताएका छन्। 
राईले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी विप्लव नेतृत्वको नेकपामा व्यवहारमा समस्या देखिएको बताए। 

‘पार्टीको गतिविधिप्रति म असन्तुष्ट छु,’ पत्रकार सम्मेलनमा उनले भने, ‘हिंसात्मक गतिविधि गर्ने, तर जिम्मा नलिने, सिद्धान्त एउटा लिने व्यवहार अर्को गर्ने विषयले मलाई असन्तुष्ट बनाएको हो।’

२०६३ सालदेखि तत्कालीन माओवादीमा संलग्न भएका उनी पार्टी विभाजन भएसँगै मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादी र त्यहाँबाट पनि विभाजित भएपछि विप्लव नेतृत्वको नेकपामा लागेका थिए। 

उनलाई गत असार ९ गते मोरङको बेलबारीबाट प्रहरीले पक्राउ गरेको थियो। धरानमा भएका कतिपय हिंसात्मक गतिविधिमा लागेको भन्दै उनलाई प्रहरीले संगठित अपराध, हातहतियार खरखजना अभियोगमा जिल्ला अदालत सुनसरी इनरुवामा मुद्दा दर्ता गराएको थियो। 

अदालतले सादा तारेकमा गत भदौ २४ गते रिहा गर्न आदेश दिएपनि पुनः बेलबारीमा भएको बम विष्फोटमा प्रहरीले पक्राउ गरेको थियो। जिल्ला अदालत मोरङले २६ गते सादा तारेकमा छोड्न आदेश दिएपनि उनलाई पुनः प्रहरीले अभद्र व्यवहारमा मुद्दा हालेको थियो। 

जिल्ला प्रशासन कार्यालय मोरङले उनलाई ४ हजार धरौटीमा बिहीबार छाडेको थियो। त्यसलगत्तै राईले पत्रकार सम्मेलन गरी आफू स्वतन्त्र नागरिक भएर जीवन यापन गर्ने बताएका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.