सोलुखुम्बु : यहाँको थुलुङदुधकोशी गाउँपालिका आफैँले प्रहरी नियुक्त गर्नेभएको छ। गाउँकार्यापालिकाले पारित गरेको गाउँ प्रहरी ऐनअनुसार पाँचजनाको दरबन्दीमा प्रहरी नियक्त गर्ने लागेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए।
एकजना वरिष्ठ गाउँ प्रहरी राजपत्रानकिंत चतुर्थ श्रेणी र अन्य श्रेणीविहीन तहमा चारजना गाउँ प्रहरीको लागि दरखास्त आव्हान गरेको गाउँपालिकाले जनाएको छ। वरिष्ठ गाउँ प्रहरीको लागि एसएलसी उत्तीर्ण गरेका २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको पाँच वर्ष नेपाल प्रहरी वा अन्य सुरक्षा निकायको जवान पदमा सेवा गरेको हुनुपर्ने विज्ञापनमा उल्लेख गरिएको छ।
यस्तै श्रेणीविहीन गाउँ प्रहरीका लागि भने कक्षा ८ उत्तीर्ण गरेको पुरुषका लागि २५ वर्ष पूरा भई ३५ ननाघेको र महिलाको लागि ४० वर्ष ननाघेको जो कोहीले दरखास्त दिन सकिने प्रमुख प्रशासकिय अधिकृत अबिलाल राईले जानकारी दिए।
गाउँपालिकाको योजनालाई कार्यान्वयन गर्न सहयोग गर्ने उद्देश्यसहित गाउँ प्रहरी नियुक्त गर्न लागेको अध्यक्ष राईको भनाई छ। स्थानीय सरकारको अधिकार प्रयोग गरि नियक्त गरिएको ती प्रहरीले आफ्नो क्षेत्रभित्र शान्ति सुव्यवस्था कायम गर्ने लगाएतको काम गर्ने उनको भनाई छ । आगामी वर्ष गाउँप्रहरीको कोटा थप गर्ने उनको भनाई छ।
गाउँ प्रहरी नहुँदा न्याय सम्पादनमा समेत समस्या हुनेगरेको न्यायीक समिति संयोजक एवं उपप्रमुख सविता राईले बताईन्। पक्ष विपक्षलाई झिकाउन समेत समस्या हुने गरेकाले अब देखी उनीहरुलाई घरैमा गएर पक्राउ गरि ल्याउन सक्ने हुँदा न्याय सम्पादनमा पनि सहजता आउने उनको विश्वास छ। मेलमिलापको क्रममा कुनै समयमा दुवैपक्ष आक्रोसीत हुँदा झगडाले ठूलो रूपसमेत लिन सक्ने संभावना हुनेभए पनि गाउँप्रहरी भएपछि ती त्यस्ता विषयमा समेत सहज हुने उप्रमुख राईले बताइन्।
स्थानीयले समेत थुलुङदुधकोशीले स्थानीय सरकारको अधिकार प्रयोग गरेको भन्दै खुसी व्यक्त गरेका छन् । नेलेका स्थानीय रोशन पौडेलले शिक्षक सरुवादेखि अन्य विभिन्न क्षेत्रमा अधिकार प्रयोग गर्दै स्थानीय सरकारको आभाष दिलाउन सफल भएको बताए। ऐन कानुन निर्माण देखी कार्यान्वयनमा समेत गाउँपालिका कठोर ढंगले अगाडी बढेको गाउँपालिका ७ का खिम बहादुर केसीको भनाई छ।
जिल्लाका गाउँपालिका मध्ये आफैले गाउँप्रहरी नियुक्त गर्ने थुलुङदुधकोशी पहिलो हो। यसअघि नगरपालिकाले भने विगत २ वर्षदेखि नै नगर प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जना नियुक्त गरेको छन्। उनीहरूलाई बढीजसो नगरपालिका सरसफाईमा प्रयोग गर्ने गरिएको प्रत्यक्षदर्शीले बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।