|
तस्वीरहरू सबै ः  अर्जुन आचार्य

विराटनगर :  आज असोज ३ अर्थात् संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा  विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइएको छ।

प्रदेश १ सरकारले पनि विराटनगरमा भव्य कार्यक्रम गरी संविधान दिवस मनाएको छ। गत वर्ष फितलो देखिएको संविधान दिवसको कार्यक्रम प्रदेश राजधानी विराटनगरमा यस वर्ष भने भव्य भयो। राजधानीको झल्को दिनेगरी हजारौंको संख्यामा मानिसहरु दिवसको अवसरमा सहभागी भए।

हातहातमा झण्डा लिएर आएका विद्यार्थी, कर्मचारी, सर्वसाधरण, निजामती कर्मचारीको सहभागीताले सहिद रंगशालाको प्याराफिट भरिएको थियो। त्यसमाथि विभिन्न जातजातीका झाँकी तथा कला कौशलयुक्त नेपाली सेनाको प्रस्तुतीले सहभागीलाई रोमाञ्चक बनाएको थियो।

सहिद रंगशाला विराटनगरमा आयोजित समारोहमा प्रदेश १ का प्रदेशप्रमुख डाक्टर गोविन्दबहादुर तुम्बाहाङ, प्रदेशका मुख्यमन्त्री शेरधन राई, उच्च अदालतका प्रमुख न्यायाधिश, उपसभामुख, प्रदेशका मन्त्रीहरु, संविधानसभाका पूर्व सदस्यहरु तथा प्रदेशसभा सांसदहरु, प्रतिपक्षी दलका नेता अन्य जनप्रतिनिधि, विशिष्ट सरकारी अधिकारी तथा आम समुदायको सहभागीता थियो।

संघीय सरकारले संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम घोषणा गर्दै असोज २, ३ र ४ गते दीपावली गर्न र घर घरमा राष्ट्रिय झण्डा राख्न सबै नागरिकलाई आग्रह गरेको छ। यस्तै प्रदेश सरकार र स्थानीय सरकारहरुले पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाइरहरेका छन्।

दिवसमा अवसरमा आयोजित सहिद रंगशालाको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशका मुख्यमन्त्री शेरधन राईले संविधान प्रदत्त जनताका हक अधिकारलाई व्यवहारमा रुपान्तरण गर्नु यति खेरको आवश्यकता र चुनौती रहेको बताउनु भयो। उहाँले संविधान स्वतः आफै कार्यान्वयन हुने नभई नीति, नियम, कानून, योजना, पद्धति र संस्कारको माध्यमबाट यसको व्यवहारिक कार्यान्वयन हुने बताउनु भयो।

उहाँले स्वच्छ, सुखी र समुन्नत  प्रदेशको मुल दृष्टिकोणसहित प्रदेश सरकारले पहिलो आवधिक योजनाको थालनी गरिसकेको पनि जानकारी दिनुभयो। प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग, पूर्वाधार विकास, सामाजिक तथा मानवीय विकासे प्राथमिकतामा रहेको बताउनु भयो।

प्रदेश सरकारले दुइवटा संविधान सभावाट टुंगिन नसकेको प्रदेश राजधानी तोक्ने विषयमा समेत भएको सर्वसम्मत निर्णयलाई सहमतिको एउटा सशक्त तथ्य र उदाहरण भएको उहाँले बताउनु भयो। यस्तै प्रदेशसभामा प्रतिनिधित्व गर्ने सवै राजनैतिक दलहरुको सहमतिमा प्रदेशको नामांकन पनि छिट्टै टुंगिने विश्वास व्यक्त गर्नुभयो।

उहाँले नेपालको संविधान, नेपाली जनताले गरेको लामो आन्दोलन, संघर्ष र बलिदानवाट प्राप्त उपलव्धीहरु सहितको जनभावना र अपेक्षाहरुलाई  सम्बोधन गर्ने मुल दस्तावेज भएको दाबी पनि गर्नुभयो। समारोहका अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय गानका रचयिता ओखलढुंगाका व्याकुल माइला प्रदिप कुमार राई, २४ पटक सगरमाथा आरोहण गर्ने विश्वकिर्तीमानी सोलुखुम्बुका कामीरिता शेर्पा र भोजपुरकी अल्ट्रा म्याराथुन धाविका मिरा राईलाई प्रदेशका प्रमुख गोविपन्द तुम्बाहाङले पाँच लाख नगद सहित सम्मान गर्नुभएको थियो।

दिवसमा सहिद रंगशालामा विभिन्न झाँकी, मार्चपास तथा नेपाली सेनाद्वारा कला कौशल प्रस्तुत गरिएको थियो। त्यसअघि विराटनगरमा बिहान संविधान दिवसको अवसरमा प्रभात फेरि निकालियो।

प्रभातफेरिको नेतृत्व आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले गर्नुभएको थियो। मुख्यमन्त्री शेरधन राईले संविधान दिवसकै अवसरमा विराटनगर विमानस्थल र महेन्द्र चोकमा राष्ट्रिय झण्डोत्तोलन गर्नुभएको थियो।

प्रदेश सरकारले प्रदेशका विभिन्न महत्वपूर्ण स्थानमा राष्ट्रिय झण्डा राख्ने निर्णय गरेअनुसार मुख्यमन्त्रीले विमानस्थलमा र महेन्द्र चोकमा झन्डोत्तोलन गर्नुभएको हो। यस्तै सामाजिक विकास मन्त्री जीवन घिमिरेले नेपाल भारत सीमा जोगवनी नाकामा झण्डोत्तोलन गर्नुभएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.