|

काठमाडौं : अच्युत कोइराला लेखक, पत्रकार तथा अनुवादक हुन्। उनी इतिहास र राजनीतिका पुस्तक अध्ययन गर्नमा रुचि राख्छन्। दुई दर्जनभन्दा बढी विदेशी प्रमुखदेखि लेखक र चर्चित व्यक्तिको जीवनी अनुवाद गरिसकेका छन्।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, मलेसियाका प्रधानमन्त्री महाथीर मोहम्मद, मलाला युसुफाजी, आङ साङ सुकी, लि क्‍वान यु, ओसामा बिन लादेन, वारेन बफेट र देङ सिआयो पिङ आदि चर्चित व्यक्तित्वका पुस्तकहरु अनुवाद गरिसकेका छन्। उनैसँग गरिकएको वार्ता यहाँ प्रस्तुत गरिएको छ।

हिजोआज के गर्दै हुनुहुन्छ ?

उद्यमशीलतासम्बन्धी पुस्तक लेख्दैछु ।

कुन पुस्तक पढिरहनुभएको छ?

म एकैपटक धेरै पुस्तक पढ्ने गर्छु।  म धनुषचन्द्र गौतमको संस्मरण पढिरहेको छु ।

पढ्न मन लागेर नपाएको कुनै पुस्तक छ?

धेरै छ। तर, नेपालको इतिहाससम्बन्धी लेखिएका पुस्तकहरु पढ्न मन छ।

पढ्न बाँकी रहेको कुनै पुस्तक?

धेरै बाँकी छन्। पढ्न समय बल्ल पाएको छु। अब पढ्ने छु। मेरो जीवनमा धेरै पुस्तक पढ्न बाँकी छन्। नाम चलेका लेखकको पनि पढेँ। गम्भीर साहित्य धेरै पछाडि पढेँ।

धेरै पटक पढेको पुस्तक कुन हो?

म एउटा पुस्तक पढ्नेबित्तिक्कै नयाँ पुस्तक पढ्न लालयित भइहाल्छु। पुस्तक दोहोर्‍याउँदा नयाँ-नयाँ पुस्तक पढ्न समय हुँदैन जस्तो लाग्छ।

कस्तो पुस्तक पढ्न मन पर्छ?

समयअनुसार हुने मन पर्ने हुने रहेछ। राजनीति र इतिहासमा लेखिएका पुस्तक पढ्न बढी मन पर्छ।

पहिलोपटक पढेको पुस्तक कुन हो?

लालहिराको कथा र पन्चुतन्त्र हो।

उपहार पाएको कुनै पुस्तकको नाम याद छ?

गार्नेट ब्रासलेट कथासंग्रह पाएको थिएँ। मेरो मिल्ने साथी रामकुमार राईले दिएको हो।

उपहार दिएको कुनै पुस्तकको नाम याद छ?

अफिसमा साथीहरुको जन्मदिन मनाउँदा उपहार स्वरुप पुस्तक उपहार दिने गर्छु। यो नै नाम भनेर याद छैन।

नेपालको मन परेको पुस्तकालय कुन हो?

अहिलेसम्म जाने अवसर जुरेको छैन। गएपछि भनौंला।

पुस्तकमा आएका टिप्पणीहरु कतिको पढनु हुन्छ?

कुन पुस्तकको गरेको रहेछ भनेर विचार गरेर मात्र पढ्छु।

पुस्तक पढेपछि प्रतिक्रिया दिने गर्नुहुन्छ कि गर्नुहुन्न?

चिनेका साथीहरुले लेखेका पुस्तक पढेको छु भने प्रतिक्रिया दिने गरेको छु।

पुस्तक पढ्दा पुस्तकको यो लाइन नभइदिएको भए हुन्थ्यो जस्तो लागेको छ कि छैन?

नेपाली लेखकले लेखेका पुस्तकहरुमा धेरै छन्। नराखेको भए पनि हुने थियो भन्ने त कति धेरै भेटिन्छन्। धैरैजसो पुस्तकका सम्पादन नमिलेका छन्।

कस्ता विधाका पुस्तकमा नमिलेका लाइन जस्तो लाग्छ?

मलाई अनुवाद साहित्य मनपर्छ। धेरैजसो समस्या अनुवाद साहित्यमा भेटेको छु।

पुस्तक पढ्ने समय हुन हो?

बिहानको समयमा र रातको समयमा सुत्नुभन्दा अगाडि पढ्न मन पर्छ ।

पुस्तकको छनौट कसरी गर्नुहुन्छ?

राजनीति र इतिहासबारेमा छन् भने इन्टरनेटमा हेरेर किन्छु। नेपाली पुस्तकको सन्दर्भमा भन्नु पर्दा पुस्तकको समीक्षा हेरेर र पढेर मात्र छनौट गर्छु। कुन उद्देश्यले लेखिएको त्यसको आधारमा विचार गरेर मात्र छनौट हुन्छ।

आख्यान कि गैरआख्यान?

गैरआख्यान मनपर्छ ।

मसँग मात्र भएको पुस्तक अरुसँग नभएको त्यस्तो कुनै पुस्तक छ?

पुस्तक ढिलो पढ्न थालेको हुँ। मसँग भएका पुस्तक सबैसँग होला।

तपाईसँग भएको सबैभन्दा मँहगो पुस्तक?

देङ सिया यो पिङको जीवनी छ। ३२ सय रुपैयाँमा किनेको छु।

मन परेका विदेशी लेखक?

धेरै छन्। लियो टोल्सटय, अर्नेस्ट हेमिङ्ग्य, शेक्शपियर र युगअनुसारका राम्रा लेखक छन्। प्रत्येक युगमा नयाँ नयाँ लेखक जन्मेका छन्।

पहिलोपटक पढेको विदेशी लेखकको पुस्तक कुन हो?

'चिकेन सुप द फर सोल' भन्ने पुस्तक पढेको छु।

पुस्तकले के दियो तपाईलाई?

मलाई भावना दियो। पुस्तकले भावना दिँदो रहेछ भनेर त्यस पुस्तकबाट थाहा पाएँ। समय बोल्छन् हरेक पुस्तकले।

कसको पुस्तक अनुवाद गर्दै हुनुहुन्छ?             

धेरैका अनुवाद गरेँ। अहिले भने अनुवाद गर्न छोडेको छु।

कल्पना शक्ति बढाउन केले सहयोग गर्छ? सिनेमा वा पुस्तक?

सिनेमाभन्दा पुस्तकले कल्पना शक्ति बढाउँछ।

कुनै पुस्तक छ जुन पुस्तकको फिल्म बनोस्?

मेरा लागि हरेक मानिस र पुस्तकको फिल्म बनिनुपर्छ। हरेकका आफ्नै भूमिका महत्त्वपुर्ण छ।

पुस्तक चोर्ने काम भयो कि भएन?

कहानी भन्ने पत्रिका किताब जस्तै थियो। भारतबाट प्रकाशित हुन्थ्यो। दाजुभाइले एक जनाको घरबाट सँगै चोरेका हौं। उक्त पुस्तक दाजुभाइ छुटिएपछि त्यो पुस्तक एकअर्काले चोर्ने क्रम तारन्तर चलिरहेको छ।(लामो हासोँ)।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.