ढुवानीमै समस्या,उपभोक्ता रित्तो हात

|

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशमा अझै सुपथ मूल्यपसल सञ्चालनमा आउन सकेका छैनन्। विगतका वर्षहरूमा  दशैंतिहार, छठ सहितका चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिमका ७ स्थानमा सुपथ मूल्यपसल सञ्चालन हुँदै आएको थियो।

तर  सुपथ मूल्य पसल सुदूरपश्चिम प्रदेशको धनगढीबाहेक अन्य बजार तथा जिल्लामा अझैं खुल्न नसकेका साल्ट ट्रेडिङ कर्पोरेशन अञ्चल कार्यालयका सूचना अधिकारी रामचन्द्र जोशीले जानकारी दिए।

साल्ट ट्रेडिङ कर्पोरेशनले हाल अञ्चल कार्यालय धनगढीमा मात्रै सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। कर्पोरेशनले विगतका वर्षहरूमा कैलालीको धनगढीमा रहेको अञ्चल कार्यालय, टीकापुर, कञ्चनपुरको महेन्द्रनगर,बेलौरी, डोटीको दिपायल, डडेल्धुरा र  बैतडीको पाटनमा दशैंतिहार तथा छठलाई लक्षित गरि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरेको थियो।

यस बर्ष भने सरकारले भदौ २३ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा आएको घोषणा गरेको भएपनि २ हप्तासम्म पनि सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालनमा अझै आउन सकेका छैनन्।  आसन्न चाडपर्व दसैं, तिहार र छठ पर्वलाई लक्ष्य गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कात्तिक १७ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने घोषणा गरेको थियो।

उपभोक्तालाई सहुलियत मूल्यमा बस्तु बिक्री गर्ने गर्ने उद्देश्यसहित सञ्चालनमा आउने सुपथ मूल्य पसल सञ्चालनमा नआउँदा समस्या भएको छ। 

साल्ट ट्रेडिङ कर्पोरेशनका सूचना अधिकारी जोशीका अनुसार ढुवानी समस्याका कारण अञ्चल कार्यालय धनगढीबाहेक अन्य ठाउँमा तत्काल सुपथ मूल्य पसल सञ्चालन ल्याउन नसकिएको बताए।

सरकारले चालू आर्थिक वर्षदेखि ढुवानीमा भ्याट लगाउने निर्णय गरेको छ। सुदूरपश्चिम प्रदेशभित्र सञ्चालित कुनै पनि मालबाहक ट्रक मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता नभएकाले सामग्री ढुवानी गर्न सकिएको छैन उनले भने, 'ढुवानीका लागि दुई पटक बोलपत्र आह्वान गर्दा पनि कर्पोरेशनले तोकेको ढुवानी भाडाभन्दा निकै बढी रकमको आवेदन प्राप्त भएको छ'  हाम्रो दररेटभन्दा बढी भएर आएको र बढी भएर आएको भाँडादरलाई केन्द्रिय कार्यालय अस्वीकृत गरेको उनले  बताए। 

तेस्रोपटक गरिएको बोलपत्र आह्वान पनि केन्द्रिय कार्यालयमा पठाएको र उक्त बोलपत्रको रिजल्ट आएको छैन उनले भने, 'उक्त रिजल्ट आएपछी छिट्टै धनगढी बाहेकका बजार तथा जिल्लामा पनि सुपथ मूल्य पसल सञ्चालनमा आउनेछन्'

कर्पोरेशन यसअघि भ्याटबिना भाडा तिरेर सुपथ मूल्यपसलका लागि सम्बन्धित स्थानमा सामान पठाउने गरेको भए पनि  तर चालू आर्थिक वर्षदेखि भ्याटमा दर्ता भएका मालबाहक साधनलाई मात्रै सामग्री ढुवानी अनुमति दिने निर्देशनअनुसार सुपथ मूल्यपसल सञ्चालन योजना अन्योलमा परेको हो।

साल्ट ट्रेडिङ कर्पोरेशनले धनगढीमा भदौ २३ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गरेको छ। सुपथ मूल्यपसल दशैं तिहार तथा छठ पर्वसम्म सञ्चालनमा रहने साल्ट ट्रेडिङ कर्पोरेशन अञ्चल कार्यालय धनगढीले जनाएको छ। 

रित्तै हात फर्किंदै उपभोक्ता

सरकारले भदौ २३ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा आएको घोषणा गरेपश्चात उपभोक्ताहरु सहुलियत मूल्यमा सामान किन्नको लागी सुपथ मूल्य पसल सञ्चालनमा नआउँदा रित्तै हात फर्किने गरेका छन्।

 बैतडीको पाटनमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन डिपो कार्यालयमा पनि सुपथ मूल्य पसल सञ्चालनमा नआउँदा रित्तै फर्किने गरेका छन्।  पाटनका डिपो प्रमुख नरेन्द्र धामीका अनुसार उपभोक्ताले सुपथ मूल्य पसल सञ्चालन कहिले आउछ भने सोध्ने गरेको र सञ्चालनमा  नआएकोले फर्किने गरेका छन्। 

गत वर्ष पनि पाटनमा घटस्थापना भन्दा १३  दिन अगाडी असोज २ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा आएको थिए।  चाडपर्वलाई लक्षित गरी सञ्चालन गर्ने सुपथ मूल्य पसल चाडपर्व नजिकिदैं जाँदा समेत सञ्चालनमा नआउँदा समस्या भएको स्थानीय दिनेश विष्टले बताए।  सुपथ मूल्य पसल सञ्चालनमा आएपछि सुपथ मूल्यमा सामान किन्न पाइन्थ्यो उनले बताए, 'यो वर्ष सूपथ मूल्य सञ्चालन भएको भनेर २ हप्ता भएसक्दा समेत सञ्चालनमा आएको छैन।'

बजारको दररेटभन्दा कम्तीमा पनि १० रुपैंया कममा दैनिक उपभोग्य बस्तु सुपथ मूल्य पसलमा उपलब्ध हुने गरेको पाटनका डिपो प्रमुख धामीको भनाई छ।

सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सरकारले चाडपर्वलाई लक्षित गर्दै हरेक बर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.