नेताहरू भन्छन् : राम्रा कुरा लिँदा केही बिग्रँदैन

|

काठमाडौं : ‘कम्युनिस्ट घोषणा पत्र’ जारी भएको १०१ वर्षपछि सन् १९४१ २२ अप्रिलका दिन (२००६ वैशाख १० गते) नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो।

अर्को संयोग भनेको सोभियत क्रान्ति सफल भएको ३० वर्षपछि तथा चीनमा जनवादी गणतन्त्र स्थापना भएकै वर्ष अर्थात् सन् २२ अप्रिल १९४९ (२००६ वैशाख १० गते) नेपालमा कम्युनिस्ट पार्टी सुरु भएको हो। कम्युनिस्ट पार्टीको स्थापनाको लामो समयपछि सत्तामै रहेका चीन र नेपालका कम्युनिस्ट पार्टीबीच अन्तरक्रिया भएको छ।

चिनियाँ कम्युनिस्ट पार्टी र नेपालको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीबीच काठमाडौंमा सोमबार भएको कार्यक्रममा नेकपाका ‍सीर्ष नेताले चिनियाँ राष्ट्रपति ‍सी जिनपिङको विचारधाराको खुलेरै प्रशंसा गरे।

नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७० वर्ष पुग्दा यस अवधिमा कम्युनिस्ट आन्दोलन कहिले फुट्दै र कहिले जुट्दै अगाडि बढेको छ। टुटफुटको यही क्रममा २०७५ जेठ ३ मा दुई ठूला कम्युनिस्ट पार्टी तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत भई नेपाल कम्युनिस्ट पार्टी बन्‍न पुग्यो। 

नेकपाले संविधानको सर्वोच्चता, विधिको शासन, आवधिक निर्वाचन, शक्ति पृथकीकरणको सिद्धान्त, प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने विधि, बहुमतको सरकार र अल्पमतको विपक्ष, बहुलवादी खुला समाज र मानव अधिकारको रक्षा, लोकतन्त्रका विश्वव्यापी मान्यताप्रतिका प्रतिबद्धतालाई निरन्तरता दिएको छ। 

अहिले दुई पार्टी एक भएर पार्टीलाई कुन लाइनमा अगाडी बढाउने भन्ने विषय नै विवादमा रहेकाले स्कुल विभागमा विवाद देखिएको हो । नेकपा अहिले जनताको जनवादको लाइनमा अगाडी बढ्ने निर्णय गरेको छ तर महाधिवेशनले नै अन्तिम निर्णय गर्ने गरी जनताको बहुदलीय जनवादलाई पनि बहसमा लैजाने पार्टीको अहिलेको निर्णय रहेको छ । अर्को पक्षबाट विश्लेषण गर्दा अहिले नेकपाभित्रको शक्ति संघर्षको परिणाम पनि हो स्कुल बिभाग विवाद ।

विचारको अलमल 

अहिले नेकपामा जनताको बहुदलीय जनवाद र जनताको जनवादलाई लिएर नेताहरू विभाजित छन्। पार्टी स्कुल विभाग प्रमुख ईश्वर पोखरेलसहितले मदन भण्डारीको जनताको बहुदलीय जनवादको वकालत गर्दै आएका छन्। यही लाइनमा प्रधानमन्त्री केपी शर्मा ओली पनि रहेको बताइन्छ। पोखरेलले खुला रुपमा बहुदली जनवादको वकालत गरेपछि उनलाई  तत्कालीन माओवादी समूहले स्कुल विभाग दिन नहुने अडान राखेको थियो। 

तर पार्टी एकता हुँदा जनताको जनवादको लाइनमा अगाडी बढ्ने सहमति भइसकेकाले पार्टीको वैचारिक कार्यदिशा त्यही अनुसार हुनुपर्ने अडानमा पूर्व माओवादी र पूर्व एमालेका माधव नेपाल पक्षधरले राखेका थिए। त्यही अनुसार अहिले नेकपाको दस्तावेजमा पनि महाधिवेशनसम्मलाई जनताको जनवादलाई अघि बढाउने लेखिएको छ। पार्टीको वैचारिक लाइनलाई महाधिवेशनबाटै निरुपण गर्ने गरी नेकपाले आफ्नो दस्तावेज तयार गरेको छ।

‍सी विचारधाराको लक्ष

उता, ‍सी जिनपिङ विचारधाराले सन् २०३५ सम्म चीनलाई विकसित देश र जनवादी गणतन्त्र स्थापनाको एक शताव्दी (सन् २०५०) सम्ममा विश्वव्यापी प्रभावसहितको गरिबीमुक्त र सामरिक क्षमतामा विश्वमै प्रभाव राख्‍न सक्ने देशका रुपमा स्थापित गर्ने संकल्प गरेको छ।

‍सी जिनपिङको विचारले विधिको शासन, समाजवादी मूल्यसहितको सभ्य र सु-संस्कृत चीन, एक अर्ब ४० करोड चिनियाँ जनताको गुणस्तरीय शिक्षा, स्वास्थ्यकोे सुनिश्चितता र जनजीविकाको ग्यारेन्टीलाई पहिलो प्राथमिकतामा राखेको छ।

यस विचारधाराले दुई वर्षमै विश्वको प्राज्ञिक जगत, कम्युनिस्ट पार्टी र यसका नेता, कार्यकर्तावीच गहन बहस र छलफल सिर्जना गरेकै बेला नेपालमा पनि उक्त विचारबारे अन्तरक्रिया हुनु स्वभाविक थियो।

नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीको स्कुल विभागको संयुक्त आयोजनामा भएको कार्यक्रममा दुवै पार्टीबीच वैचारिक आदान-प्रदानसँगै ‍सी विचाराधारा, बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजना, पार्टी सञ्चालन र संगठनका अभ्यासमा केन्द्रित भयो। दुई पार्टीबीच ६ बुँदे सम्झौता पनि भएको छ। यसको अन्तर्यमा चिनियाँको नेपाल चासो-स्वार्थ पनि लुकेको भन्‍नेहरू पनि छन्। अर्थात्, अब चीनले नेपालललाई नजरअन्दाज गरेर बस्नै सक्दैन। अमेरिकाले इन्डो प्यासिफिक रणनीति ल्याइरहेका बेला चिनियाँ कम्युनिस्ट पार्टी नेपालको प्रमुख दलसँग प्रशिक्षण तहसम्म ओर्लिएको हो।

सरकार र पार्टी सञ्चालनका विषयमा पार्टीमा खासै छलफल र अन्तक्रिया नगरे पनि सत्तारुढ नेकपाले चिनियाँ कम्युिनष्ट पार्टीसँगको छलफलले नेतृत्वलाई व्यवस्थापनको पाटोमा पक्कै सजग बनाउने छ। चिनियाँ कम्युनिस्टका नौं करोड सदस्यहरूको व्यवस्थापन, पार्टी सञ्चालन, पार्टी कमिटीहरू चल्ने परिपाटी, पार्टीभित्रको अनुशासन, पार्टीमा देखिने भ्रष्टाचार र कारवाहीको अवस्थाबारे भएको छलफलले नेकपालाई थप ऊर्जा थप्ने विश्वास कार्यकर्ताले पनि गरेका छन्।

रघुजी पन्त, नेकपा, नेता

एक वर्षअघि पनि हामीले भारतीय कम्युनिस्ट पार्टीसँग अन्तरक्रिया गरेका थियौं। अहिले चिनियाँ कम्युनिस्ट पार्टीसँग दुई दिन] अन्तरक्रिया गर्यौं। यो नियमित जस्तै हो। बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) बारेमा चिनियाँ नेताले ब्याख्या गरेका छन्। चिनियाँ कम्युनिस्ट पार्टी कसरी सञ्चालन भइरहेको छ भन्‍नेबारे नेकपाका नेताहरूले जिज्ञासा राखे। चिनियाँ नेताहरूले त्यसबारेमा जानकारी गराए। बाहिर हल्ला भएजस्तो चिनियाँ राष्ट्रपति ‍सी जिनपिङको हुने भनिएको नेपाल भ्रमणबारे छलफलका क्रममा कुनै कुरा उठेन।

चीनसँग नेपालको अपेक्षा

अन्तरक्रियाका क्रममा नेकपाका नेताहरूले केरुङ-काठमाडौं रेलमार्ग चीनले अनुदानमा बनाइदिओस् भन्‍ने धारणा राखेका थिए। 'केरुङ-काठमाडौं रेलमार्ग चीनले अनुदानमा बनाइदिन उपयुक्त हुन्छ। हामीसँग त्यो खालको प्रविधि छैन', पन्त भन्छन्, 'यसमा चीनको सहयोग हुनुपर्छ। के छ तपाईंको धारणा? भनेर साथीहरूले जिज्ञासा राख्नु भयो। यस्तै बीआरआईको बारेमा पनि कुरा भयो।' 

छलफलमा कोदारी राजमार्गका बारेमा पनि कुराकानी भएको थियो। नेपालमा चिनियाँ लगानीबारेमा पनि कुरा उठेको छ। रेल ल्याइदिन्छु भनेर राखेका अस्वभाविक सर्त नेपाललाई स्वीकार्य हुन सक्दैन। नेपालले आफ्नो हितका बारेमा सोच्ने गर्छ। यसमा पार्टीगत विचारहरू महत्त्वपूर्ण हुँदैनन्।

पार्टी सञ्चालनका आधार आदानप्रदान

पार्टी सञ्चालनको अवस्था, पार्टी कमिटीहरू कसरी चल्छन्, सदस्यहरूको अवस्था, पार्टीभित्रको अनुशासन, पार्टीमा देखिने भ्रष्टाचार र कारवाहीको अवस्थाबारे छलफल भएको छ। उनीहरूका कुरा हामीले मान्नै पर्छ भन्‍ने पनि छैन हाम्रा कुरा उनीहरूले मान्‍नै पर्छ भन्ने छैन। यो त छलफल हो। विभिन्‍न दलका नेताहरूलाई बोलाएर यस्ता खालका छलफल यसअघि पनि हुँदै आएका छन्।

देवेन्द्र पौडेल, नेकपा, नेता
चिनियाँ मापदण्डअनुसार निरपेक्ष गरीबीको रेखामुनि रहेका दश करोड नागरिकलाई सन् २०३५सम्ममा शुन्यमा झार्ने गरी कसरी काम गरेका छन्, कस्तो लक्ष छ? भन्‍ने बारेमा छलफल भयो। दुई देशका कम्युनिस्ट पार्टीको सम्बन्ध सुरकारका बारेमा उनीहरूको चासो रहेको पाइयो।

चिनियाँ कम्युनिस्ट पार्टीले जे गरेको छ, हामीले पनि त्यही गर्नुपर्छ भन्‍ने हाम्रो सोच पनि होइन। तर, राम्रा कामहरू हामी सिक्छौं। पार्टी सदस्यता लिन हाम्रोमा अलि खुकुलो रहेछ।

बीआरआई र ‍सी विचारधारा बाध्यकारी होइन

बीआरआई र ‍सी विचारधारा नेपाल र नेपाली कम्युनिस्टलाई बाध्यकारी छ भन्ने कुरा उनीहरूले गरेका छैनन्। हामी हाम्रै परराष्ट्रनीति र हामीले अपनाउँदै आएको पञ्च‍सील, असंलग्नताको नीतिकै आधारमा नेपाल अघि बढ्छ हामी यसमा प्रतिबद्ध छौं।

राम्रा कुराको सिको गर्दा हुन्छ

हामीले भारतीय कम्युष्टि पार्टीसँग पनि सूचना आदानप्रदान गर्ने गरेका छौं। चिनियाँ पार्टीसँग पनि छलफल हुनु नराम्रो होइन। चीनको अर्थतन्त्र, प्रविधि विकास, चीनको श्रम र उत्पादन व्यवस्थापन जोड्ने प्रक्रियाको बारेमा चीनले विकास गरेका कुराहरू सिक्न लायक र प्ररणादायक छन्। त्यो विकास र प्रगतीलाई नेपालले आफ्नो देशको अनुकुलताको आधारमा सिक्न सक्छ।

सीपी गजुरेल

कम्युनिस्ट आन्दोलनमा यो खालको कार्यक्रम नौलो हो। यहाँको डबल नेकपाले ‍सी विचारधारलाई पार्टीको सिद्धान्त बनाउने अधिकार त राख्छ नै तर, यो कार्यक्रमलाई अन्तरक्रिया भने पनि प्रशिक्षण जस्तै छ। किन कि विभिन्न विषयमा सम्झौता भएको छ । यो पहिले नै निर्णय भएको विषय पनि भयो। विश्व कम्युनिस्ट आन्दोलनमा कही मैले यस्तो भटेको छैन।

नयाँ कुरा देख्न पाइयो। आफू कम्युनिस्ट हो होइन भन्नेमा नेतृत्वनै अन्योलमा
सत्तारुढ नेकपा यो कम्युनिस्ट पार्टी होइन भन्ने चर्चा नै चलेको छ । प्रचण्डले पनि हामी कम्युनिस्ट हौं कि होइनौं भन्नु भएको छ। यसले पनि उहाँहरू कम्युनिस्ट होइन भन्ने पुष्टी गरेको छ। चीनको कम्युनिस्टले यस्तो खालको कम्युनिस्टसँग अन्तरक्रिया गर्ने सोच किन बनाए भन्ने विषय उनीहरूकै विषय भयो। यो अलि अनौंठो कुरा भयो।

सम्झौता सरकारको कि पार्टीको

सरकार प्रमुखको उपस्थितीमा दुई पार्टीबीच सम्झौतामा हस्ताक्षर भएको छ। सरकार प्रमुख र पार्टी अध्यक्ष एउटै मान्छे हुनु र ऊ त्यो हस्ताक्षर कार्यक्रममा साक्षी बस्नुले नेपालको परराष्ट्रनीतिमा असर नै नपर्ला भन्ने अवस्था रहँदैन। एउटै मान्छेले खेल्ने भूमिकाले असर गर्दैन भन्‍न कसरी सकिन्छ?

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.