|

विराटनगर : चाडबाडको समयमा मात्रै अनुगमन हुने गरेको गुनासो सर्वसाधरणको छ। यस्तो अनुगमनले न त व्यापारी, उद्योगी सुध्रिएका छन् न त राज्यको अनुगमनको तरिका नै बदलिएको छ। विराटनगरको ग्यास डिलर र ग्यास उद्योगको अनुगमनमा निस्किएको जिल्ला प्रशासन कार्यालय मोरङको टोली आफैँ विषयप्रति प्रष्ट नहुँदा एक उद्योगीले अल्मल्याएका छन्।

केही ग्यास डिलरको अनुगमनपछि अनुगमन टोली बूढीगंगाको कोशी ग्यास उद्योगको अनुगमनमा पुगेको थियो। ग्यास अनुगमन गर्नुको कारण पुराना सिलिण्डरको अवस्था के छ? कसरी ती सिलिण्डरलाई नष्ट गरिन्छ या रिपेयर गरिन्छ? ग्याँसको तौल घटीबढी के छ? र स्टक ग्यासको अवस्था के छ भन्ने रहेको थियो। अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय मोरङ, नेपाल आयल निगम र जिल्ला प्रहरी कार्यालयबाट एकजना प्रतिनिधि सहभागी थिए।

तर, अनुगमनमा गएका जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत डम्बरुबल्लभ बराल र नेपाल आयल निगमका सूचना अधिकारी दिवस विष्ट आफैँ अष्पष्ट देखिए। ‘सिलिण्डरको आयु कति हुन्छ?’ बरालले आयल निगमका सूचना अधिकारी विष्टलाई सोधे, ‘२० वर्ष हुन्छ होला’, विष्टले भने। कोशी ग्यास उद्योगीका मेनेजर सचित उपाध्यायले तत्कालै प्रतिक्रिया दिए, ‘निर्जिव वस्तुको कुनै आयु हुँदैन, सिलिण्डरको पनि आयु हुँदैन, कतै खिएको, वजन कम भएको आधारमा निकाल्ने हो, समयावधिका आधारमा गरिने होइन।’

यस विषमा विवाद हुँदै पृथ्वीको आयु हुन्छ हुँदैन भन्नेसम्म पुगेका थिए। ग्यास सिलिण्डरको गुणस्तर, उद्योग संचालनका लागि मापदण्डको पर्याप्त अध्ययन नै नगरी भएको अनुगमन टोलीको प्रस्तुति नै फितलो देखिएपछि उपाध्यायले विभिन्न आलटाल जवाफ दिएर फर्काएका थिए।

अनुगमनका क्रममा आफू सिक्ने क्रममा रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत डम्बरु बल्लभ बरालले बताए। ‘यसमा अनुगमन गर्दा केही कुरा सिकियो, पुनः अर्को पटक आउँदा अहिले हेरेको कुरा सिकेर कार्यान्वयनमा लाने हो,’ उनले भने।

डिलरहरूमा काँटा नहुँदा तौलमा ठगी भएको हुनसक्ने उपभोक्ताको गुनासो छ। तर, ग्यास उद्योगले त्यसप्रति चासो देखाएको देखिएन। यस्तै, ग्यासको मूल्यमा आयल निगमले २५ रुपैयाँ घटाएको भए पनि ढुवानी भाडा जोडेरै पहिलेकै मूल्य लिने गरेको पनि पाइएको छ। तरऽ यस विषयमा कुनै 'एक्सन' नहुँदा अनुगमन झारा टराई जस्तो देखियो।

विस २०४३ सालमा स्थापना भएको कोसी ग्यास उद्योगको हाल ७ लाख बढी सिलिण्डर रहेको तथ्यांक छ। उद्योगले दैनिक ७ हजार बढी सिलिण्डरमा ग्यास भर्ने गरेको छ। तर, उद्योग स्थापना भएको ३४ वर्ष पुगिसक्दा पनि उक्त उद्योगले ११ हजार ८ सय ४७ वटा सिलिण्डर मात्रै काम नलाग्ने भएको र नष्ट गरेको तथ्यांक दिएको छ। बजारमा ग्याँस पड्किएर हुनसक्ने दुर्घटना वा सिलिण्डरको क्षमता परीक्षणमा हुने लापरबाहीले यस्तो हुने गरेको जनगुनासो छ। तर, ग्यास पड्कनुमा उपभोक्ताकै कारण भएको ग्याँस उद्योगको दाबी छ।

बीमाको निर्धारण र पेमेन्टको जिम्मा पनि आफूहरू लिन नसक्ने उद्योगी उपाध्यायको भनाइ छ। सबैको मुखामुखले उपभोक्तामा जोखिम छँदैछ। ‘काँटा राख्ने जिम्मा उद्योगको हो, बीमा रकम उपलब्ध गराउने जिम्मा पनि उद्योगको हो,’ आयल निगमका सूचना अधिकारी विष्टले भने, ‘तर, सबै कुरा पन्छाएर उद्योगी उम्कन खोजेको देखियो।’ अनुगमन प्रभावकारी हुन नसक्दा उपभोक्तामा मूल्यमा हुने ठगी, पुराना सिलिण्डर पड्केर हुनसक्ने क्षति र क्षति भएमा तत्काल क्षतिपूर्ति दिन कन्जुस्याई भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.