|

सोलुखुम्बु : चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई कडाइ गरिएको छ। चाडपर्वमा हुन सक्ने अखाद्य बस्तुको बिक्री तथा कालोबजारीलाई नियन्त्रण गर्ने उदेश्यले बजार अनुमगनलाई चुस्त पारिने सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए।

यसैक्रममा जिल्लाको सदरमुकाम सल्लेरीमा सञ्चालित अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ। सोलुदुधकुण्ड नगरपालिका र जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले बिहिबार संयुक्त रुपमा गरेको बजार अनुगमनको क्रममा अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन भएको पाइएको हो।

टोलि पुग्दा ती पसल सञ्चालक भागेको अनुगमनमा संलग्न सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी कुमारी शाहीले बताइन्। उनीहरुलाई अब १५ दिनको म्याद दिएर मापदण्डमा आउन आग्रह गर्ने र यदि अबज्ञा गरि पुन सञ्चालन गरेको पाइएमा त्यस्ता पसललाई सील गर्दै सञ्चालकलाई कारबाही गर्ने उनको भनाइ छ।

फाप्लुमा म्याद नाघेका सामग्री 

सल्लेरी तथा फाप्लुको अधिकांश पसलमा म्याद गुज्रेको खाद्यबस्तु मध्ये मिट मसला बढी भेटिएको छ। नगरपालिका ६ को जेरो प्वाईन्टदेखी वडा नम्बर पाँचको प्रशासन कार्यालय नजिक र वडा नम्बर ४ फाप्लुसहित ४५ वटा पसलमा गरिएको अनुगमनको क्रममा मिटमसला, बिस्कुट, थुक्पा र चिउरा लगायतको खाद्य बस्तुको म्याद गुज्रेको पाइएको हो।

अनुगमन गरिएका मध्ये ५ वटा पसल बिना दर्ता सञ्चालनमा रहेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी कुमारी शाहिले  जानकारी दिईन्। नगरपालिका उपमेयर कल्पना राईको नेतृत्वमा गरिएको अनुगमन टोलिले फाप्लु क्षेत्रको पसलबाट सबैभन्दा बढी म्याद नाघेको खाद्य बस्तु बरामद गरेको छ। 

टोलिले २६६ प्याकेट मिटमसला, १ सय ६४ थान बिस्कुट, ६६ थान थुक्पा, ४१ प्याकेट चिउरासहित २१ प्रकारको खाद्य  बस्तु बरामद गरेको प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए। उनका अनुसार ती खाद्य बस्तुको मुचुल्का उठाउँने काम सकिएकाले शुक्रबार डिस्पोज गरिने छ।

व्यापारीले नै किन्छन् म्याद गुज्रिएका सामग्री 

चाडबाड नजिकिएकाले मानव स्वास्थ्यलाई ध्यान राख्दै गाउँ गाउँमा समेत बजार अनुगमन गरिनुपर्ने इलाका प्रहरी कार्यालय सोताङका प्रमुख प्रहरी निरीक्षक प्रदिप खड्काले बताए। हिमाली जिल्ला भएकाले अन्तिम म्याद भएका अधिकांश खाद्य बस्तु आउँने गरेको व्यापारीले बताएका छन्।

फाप्लुका एक व्यापारी पदम तामाङले केही दिन अगाडी मात्रै ल्याएको सनफ्ल्वार तेलको एक महिना अगाडीनै म्याद सकिएको पाइएको छ। उनलाई समेत डिलरले ढाँटेर छाडेको  अनुगमन टोलिले जनाएको छ। “बरामद भएका केही मसला दुई बर्ष अगाडीनै म्याद सकिएको भएपनि बिक्रिमा राखेको पाइयो” सहायक प्रजिअ शाहीले भनिन्, “व्यापारीले समेत समान खरिद गर्दा डेट हेर्नुपर्ने सुझाव दिएका छौ।”

बिहिबार गरिएको बजार अनुगमनका क्रममा प्रहरी, प्रशासन, नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, पत्रकार महासंघ, उपभोक्ता हित संरक्षण मञ्च, उद्योग वाणिज्य संघ लगायतको सहभागिता रहेको थियो।  बजार अनुगमनलाई गाउँगाउँमा पुर्‍याईने प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ।

यता सल्लेरीका केही व्यापारीले समेत समय समयमा बजार अनुगमन गर्न माग गरेका छन्। अनुगमनमा पुगेको टोलीलाई उनीहरुले प्रत्येक महिना अनुगमन गरिदिन आग्रह समेत गरेका हुन्।

कानुनी व्यवस्था

उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद ५ को दफा २० को उपदफा १ मा बस्तु उत्पादन गर्ने उद्योग भए उद्योग दर्ताको प्रमाणपत्र तथा व्यवासायको हकमा व्यवसाय दर्ता, इजाजत पत्र बिक्रि स्थलमा सर्वसाधरणले देख्ने गरी राख्नुपर्ने व्यवस्था उल्लेख। तर यहाँका अधिकांश पसलमा यो व्यवस्था लागु भएको छैन।

सोही ऐनको परिच्छेद २ को दफा ३ को उपदफा १ ले उपभोक्तालाई गुणस्तरीय बस्तु वा सेवा प्राप्त गर्ने अधिकार प्रदान गरेको छ । सोही परिच्छेदको उपदफा २ को खण्ड (ङ) मा समेत मावन जिउ, ज्यान, स्वास्थ्य तथा सम्पत्तिमा हानी पु¥याउने बस्तु तथा सेवाको बिक्री वितरणबाट सुरक्षित हुन पाउँने अधिकार ग्यारेण्टी गरेको छ । तर यहाँका अधिकां क्षेत्रमा सञ्चालित पसलले हाल क्रियाशिल रहेको ऐनको एक छेउपनि कार्यन्वयन गरेको पाईदैन।

परिच्छेद ३ को दफा ११ खण्ड (घ) मा सम्बन्धित निकाय वा पदाधिकारीले माग गरेको बखत आफुसँग रहेको मौज्दात वा विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था उल्लेख छ। तर पनि अनुगमन टोली जाँदा कुनैपनि व्यापार व्यवसायीले आफुसँग भएको गोदाम वा मौज्दात बस्तु उपलब्ध गराएनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.