टिकट नपाएपछि यात्रुलाई समस्या

|

काठमाडौंः दसैंका लागि काठमाडौंबाट घर जाने यात्रुका लागि लामो दुरीका साना गाडीले टिकट खुलाएको छैनन्। सरकारले अग्रिम टिकट बुकिङ खुलाएको बताए पनि साना सवारीसाधनले अटेरी गरेका हुन्। 

'सबै सिटहरु यात्रुको लागि रिजर्भ भइसकेको छ,' एक सवारी चालकले भने। तर टिकट लिन जाने यात्रुले खाली हात फर्किनु परिरहेको छ। माइक्रो बसका लागि टिकट बुकिङ खुल्ला नहुने यातायात व्यवासयीहरु बताउँछन्।

'सबै चिनेका हुन्छन्, फोन गरेर रिजर्भ गर्छन,' एक व्यवसायीले भने,' 'उनीहरुलाई पनि सजिलो हुन्छ, टिकट बुकिङमा बस्दा झन्झट हुन्छ ।' पहिले लिएको भन्दा यो पटक २ सय रुपपैयाँ बढी लिएको उनले जानकारी दिए। केही काउण्टरले पनि खुलाउने गर्छन्। त्यसमा कमिशन बुझाउनु पर्ने भएकोले टिकटमा नबसेको उनले बताए ।

सानो गाडीमा केही समस्या भएपनि बाहिर आएजस्तो टिकट नपाइने हल्ला मात्रै भएको  यातायात व्यावसायी महासंघको उपाध्यक्ष विजय स्वारले बताए।

साना गाडीले दैनिक टिकट बुकिङ गर्ने भएकोले समस्या नआउने उनले बताए। 'सानो गाडीमा थोरै सिट हुन्छ, त्यस्तोमा समस्या हुँदैन,' स्वारले भने, सानो गाडीमा अधिकांश मान्छेले फोन गरेर बुक गरेकाले पनि समस्या भएको हुन सक्छ।'

दसैंमा घर जानेका लागि टिकट अभाव नहुने उनको भनाइ छ। जिल्ला-जिल्लाका यातायात व्यावसायीले काठमाडौंबाट गएका यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन सहयोग गरिरहेको यातायात व्यवसायीहरुले बताए ।

यो पटक गाडी भाडा पनि नबढाएको स्वारले बताए। गत वर्ष सरकारले तेलको मूल्य वृद्बि गरेकोले भाडामा समायोजन गर्न माग गरेको उनले जानकारी दिए।

टिकट बुकिङ नखुलाएपछि लामो दुरीमा जाने सानो सवारी साधनका चालक र सवारी धनीलाई बोलाएर वार्ता गर्न लागिएको  यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले बताए। 'उनीहरुले गर्न खोजेको के हो? हामीले बुझ्न चाहेका छौँ', उनले भने, 'व्यक्तिगत चिनजानका भरमा फोनबाट टिकट बुकिङ भइरहेको सुनेका छौँ।'

सरकारले तोकेको भाडादर भन्दा बढी लिएमा यात्रुले नजिकैको सुरक्षाकर्मी वा ट्राफिक प्रहरीलाई जानकारी गराउनसमेत उनले आग्रह गरे। यात्रुको सुविधाका लागि सेवा नदिनेलाई कार्वाही गरिने उनले बताए। 'सादा पोशाकमा सुरक्षाकर्मी पठाएर अनुगमन गरिरहेका छौँ', उनले भने,' साना सवारी साधनले मनपरि गर्न पाउँदैनन्, हामी नियमन गर्छौँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.