|

काठमाडौं :  दुई दशकभन्दा लामो नेपाली गजल र गीत लेखनमा सक्रिय छिन् शीतल कादम्बिनी। उनका गजल र गीतका प्रशंसक पनि उत्तिकै छन्।

धेरैचोटि मरे, कहाँ थियो तिमी रंगमञ्च उठेपछि आयौ, ओइ झुमा लगायतका  गीतहरू चर्चित छन्। कादम्बिनी साहित्य, कला भन्ने भन्ने कुरा कोमल भावनाको सबैभन्दा ठूलो बौद्धिक सम्पत्ति मान्छिन्। गीतमा नेतालाई गाली, आफ्ना कुण्ठा, उत्ताउला कुरा लेखेर नहुने भन्ने उनी गीतका शब्दले सास फेर्नुपर्छ, नत्र गीत मर्छ।

हरेक मान्छेको संवेदनालाई छुनसक्ने गीत लेख्न सके मात्र सर्जक बाँच्छ जस्तो लाग्छ उनलाई। तिनै सर्जकले पढ्ने पुस्तक कस्ता छन्? कस्ता पुस्तकले उनलाई छुन्छन्? लगायतका विषयमा थाहाखबरकर्मी अतिन आचार्यले गरेको कुराकानी :

हिजोआज के गर्दै हुनुहुन्छ?

उपन्यास लेख्दै छु।

तपाईको रुचि?

गीत लेखन, कविता, किताब पढने, लेखन र गजलमा लेख्नमा रुचि छ।

कुन पुस्तक पढदै हुनुहुन्छ?

अमर न्यौपानेको 'गुलाबी उमेर'।

कस्तो पुस्तक पढ्न मनपर्छ?

जीवन बुझाउने, प्रेम र प्रकृतिलाई छुने पुस्तक मनपर्छ।

अन्तिम पटक पढेको पुस्तक?

सुबिन भट्टराइको 'प्रिय सुफी' हो।

धेरैपटक पढेको पुस्तक?

'सेतो धर्ती' हो।

पहिलोपटक पढेको पुस्तक?

'सेतो सिन्दुर' हो

किताब किन पढनुपर्छ?

मानिससँग बसेर गफ गर्नभन्दा राम्रो किताब पढदा राम्रो विचार र कल्पना शक्ति बढाउनलाई सहयोग गर्छ। कल्पना शक्ति बढाउनको लागि भएपनि पुस्तक पढनुपर्छ। किनभने कल्पनाले नै सबै कुराको सृष्टि भएको छ।

पुस्तक कि सिनेमा?

पुस्तक।

कल्पना शक्ति बढाउन के ले सहयोग गर्छ पुस्तक वा सिनेमा?

पुस्तकले त्यसको शब्दमा जीवन्त हुन्छ। पुस्तकले घोत्लिन प्रेरणा दिन्छ। सिनेमामा दृश्य मात्र हुन्छ।

कसैलाई उपहार दिएको पुस्तक?

'उलार' हो ।

उपहार पाएको पुस्तक?

'नेपाली आधुनिक कविता संग्रह' भन्ने किताब पाएको छु।

पढन मन लागेर नपाएको पुस्तक?

टाइगर टेगोर को 'गीताञ्जली' भन्ने पुस्तक छ ।

कहाँ किन्नु हुन्छ पुस्तक?

फुटपाथ वा पुस्तक पसल जहाँ सहज लाग्छ त्यहीँ किन्ने गर्छु।

कुन समयमा बढी पुस्तक पढ्नुभयो?

वर्तमान समयमा बढी पढिरहेको छु।

पुस्तकालयमा गएर कति पुस्तक पढनु भएको छ?

पढदिन, अरुलाई देखाउन पढेजस्तो लाग्छ। घरमा किनेर ल्याएर पढछु।

पुस्तक पढेपछि टिप्पणी गर्न मन लाग्छ कि लाग्दैन?

मन लाग्दैन, श्रष्टाको कुन अनुभव र महसुसले लेखेको हुन्छ त्यसलाई सम्मान गर्छु।

पुस्तक पढदा यो नभइदिएको भयो हुन्थ्यो जस्तो लाग्छ कि लाग्दैन?      

लाग्दैन, तर्क गरेर मात्र विद्बान भइन्छ जस्तो लाग्दैन।

तपाईको पुस्तक पढ्ने समय?

रातीको समयमा पढछु।

पुस्तक पढन कसरी छनौट गर्नुहुन्छ?

शिर्षक हेरेर पनि छनौट गर्छु। मलाई जीवन बुझ्ने र समाज बुझ्ने खालको शिर्षक जस्तो लागे किनिहाल्छु।

आख्यान कि गैरआख्यान?

आख्यान

तपाईसँग मात्र भएको कुनै किताब छ?

‘वैशालीकी नगर बधु’ आचार्य चर्तुसेनले ४० वर्ष लगाएर लेखेको किताब म सँग छ। त्यो पुस्तक अरुसँग छैन जस्तो लाग्छ।

गीत लेख्न आनन्द आउँछ कि पुस्तक पढ्न?

दुवै  आनन्दका पाटा हुन्। पढदा सिर्जना गर्नलाई प्रेरणा मिल्ने रहेछ।

तपाईको विचारमा नेपालमा कुन पुस्तकले बढी चर्चा पायो जस्तो लाग्छ?

‘सेतो धर्ती’ले बढीले चर्चा कमायो।

सेतो धर्तीको कुन पात्रले छोयो तपाईंलाई?

‘तारा’ ले छोएको छ। उनले नेपाली समाज र नारीको वेदना बोलेको छिन। ताराले भनेको कुराले मलाई छुन्छ। 'पवित्रा! तिमी तनकी वेश्या हौ तर मनकी कुमारी! म तनकी कुमारी हुँ तर मनकी वेश्या।'

मनपर्ने विदेशी लेखक?

पाउलो क्वेले मनपर्छ।

अन्तिम पटक विदेशी लेखकको पढेको पुस्तक?

खलिल जिब्रानको पुस्तक पढेको हो।

नेपालमा अनुवाद साहित्यका पुस्तक कस्तो लाग्छ?

विदेशी साहित्य अनुवाद गरेर पढ्न पाउनु राम्रो हो। तर, स्वाद हराइसकेका हुन्छन त्यहाँ अनुवादकको स्वाद छिरिसकेको हुन्छ।

राजनीति गर्नेले कस्ता पुस्तक पढुन जस्तो लाग्छ?

समाज बुझ्ने र जनताको भावना छुने र जनताको समस्याका बारेमा लेखिएका पुस्तक पढ्न जस्तो लाग्छ।

नेपालीहरुले कम पुस्तक पढछन भनेर आरोप लगाउँछन के भन्नुहुन्छ?

पढने संस्कृतिको विकास नभएर होला। पढनुपर्छ भनेर सिकाइएन परिवार र विद्यालयबाट। समाज र परिवारको संरचना नै फरक भएको होला जस्तो लाग्छ ।

साथीहरुले पढन सिफारिस गरेको पुस्तकलाई महत्व दिनुहुन्छ?

पढछु। तर, साथीहरुले सिफारिस गरेको पुस्तक सबै राम्रो हुन्छ भन्ने पनि छैन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.