|

काठमाडौं : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन्। महराले आफू माथि लागेको दोषको छानविन प्रक्रिया नसकिएसम्मका लागि उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष पदबाट राजीनामा दिएका हुन्। 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको आकस्मिक बैठकले सभामुख महराले राजीनामा दिनुपर्ने निर्णय गरेलगत्तै उनको राजीनामा आएको हो।

महराले राजीनामा पत्रमा आफ्नो चरित्रमा गम्भीर आरोप लागेका कुराको सत्यतथ्य छानविन नहुन्जेलसम्मका लागि पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्। 

'हिजोदेखि विभिन्‍न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाइ लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजैका मितिदेखि छानविन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु', महराले उपसभामुखलाई सम्बोधन गरेर लेखिएको राजीनामा पत्रमा भनिएको छ।

महराले दिएको राजीनामा सभामुख या प्रतिनिधिसभा सदस्यबाट समेत हो भन्‍ने खुलाइएको छैन। सत्तारुढ नेकपाले भने उनले सभामुख र प्रतिनिधिसभा सदस्य दुवै पदबाट राजीनमा दिनुपर्ने निर्णय लिएको थियो। 

महरामाथि संसद् सचिवालयमै कार्यरत एक महिला कर्मचारीले यौन दुराचारको आरोप लगाएकी थिइन्। यौन दुर्व्यवहार गरेको गम्भीर आरोप लगाएपछि महराले पदबाट राजीनामा दिएका हुन्। 

मंगलबारै बालुवाटारमा भएको नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलमा पनि महरालाई पदबाट राजीनामा गर्न लगाउने निचोड निकालिएको थियो। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.