|

दाङ : दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विगत एक महिनादेखि आफैँ बिरामी जस्तै छ। बिरामीको उपचार गर्ने ठाउँमा विभिन्न राजनीतिक खिचातानीको कारण प्रतिष्ठानमा विवाद हुँदा हिजोआज बिरामी भर्ना हुने बेडमा धुलो जमेको छ। प्रतिष्ठानमा उपचार गर्न आउने सेवाग्राहीले पनि राम्रो सेवा पाउन सकेका छैन। उनीहरूले प्रतिष्ठनामा उपचार नपाउँदा बिरामी निजी अस्पतालमा जान बाध्य भएका छन्।

प्रतिष्ठानमा विगत एक महिनादेखि बिरामी भर्ना गरिएको छैन। भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीलाई जिल्ला बाहिर रेफर गर्ने गरिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा बुझाएपछि उपचार सेवा प्रभावित बनेको हो। बिरामी उपचारको लागि प्रतिष्ठानमा आउने क्रम घट्दो क्रममा छ।

यता, उपकुलपति संगीता भण्डारीको मनोमानीका कारण प्रतिष्ठानको शाख घट्दै गएको आरोप लागेको छ। आफूखुसी कर्मचारी भर्ना गर्ने, निःशुल्क उपचार सेवा कटौती गर्ने लगायतका आरोप उपकुलपति भण्डारीलाई लागेको छ। प्रतिष्ठानकी उपकुलपति भण्डारीले भने राजनीतिक पूर्वाग्राहीका कारण अस्पतालमा विवाद भएको उनको भनाइ छ। उनले आफू नियुक्त हुन नपाउँदै हाजिर गर्नसमेत नदिएको अवस्थामा थियो भन्दै सबै रातिनितिक पूर्वाग्राहका कारण प्रतिष्ठानको अवस्था यस्तो भएको बताइन।

त्यसैगरी, उनले सरकारले प्राप्त मात्रामा बजेट नदिँदा अस्पतालमा काम गर्न नसेको समेत गुनासो गरिन्। २/३ करोड बजेट सरकारले प्रतिष्ठानलाई दिँदा संचालन गर्न समस्या भएको उनको भनाइ छ। त्यसैगरी आफूले राजीनामा दिँदैमा समस्या समाधन नहुन भन्दै उनले राजीनामा माग्दैमा आफूले नदिनेसमेत बताइन।

त्यसैगरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ अभियानका संयोजक विकरण गौतमले प्रतिष्ठानले जनतालाई दिने सेवा दिन नसक्दा जनताले दु:ख पाएकाले त्यसका विरोधमा आफूहरूले आन्दोलन गरेको बताए। उपकुलपति भण्डारीले प्रतिष्ठानमा आइसकेपछि कुनै पनि राम्रा काम नगरेकाले भन्दै राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने उनको भनाइ छ।

त्यसैगरी, प्रतिष्ठानका सिनेट सदस्य तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालले दाङमा प्रतिष्ठान बनाउन जुन बेला यहाँका सबै दल एक भएका थिए। तर, पछिल्लो चरणमा त्यसो नभएका कारण यस्ता समस्या आएको बताए। प्रतिष्ठानमा कुन आउने पदाधिकारी कस्को मान्छे आउने भन्ने कुराले गर्दा यस्तो भएको उनको भनाइ छ।

त्यसैगरी, प्रतिष्ठानले जिल्लाका सबै राजजीतिक दल, जनप्रतिनिधि संघसंस्थालाई एकै ठाउँमा राखेर यसको समस्या समाधान गर्नुपर्ने उनले बताए। त्यसैगरी, दाङ जिल्ला नागरिक समाजका अगुवा चन्द्रराज पन्तले राजनीतिक आस्थाका कारण विवाद देखिएको बताए। उनले जुगांको लडाइँका कारण प्रतिष्ठान अत्यन्तै दयनीय अवस्थामा पुगेको समेत बताए। 

त्यसैगरी, नागरिक अगुवा श्रीमन न्यौपानले प्रतिष्ठानले नाम अनुसारको सेवा नदिएको भन्दै यो सबै नहुनुमा राजनीति नै भएको बताए। बदलाको भावना  र कर्मचारीहरूप्रति असहयोग गर्ने प्रवृत्तिका कारण प्रतिष्ठानमा समस्या भएको उनको भनाइ छ। यता, अस्पतालमा आएका बिरामीले भने राम्रो  सेवा नपाएको गुनासो गरेका छन्। उनीहरूले प्रतिष्ठानमा चेक गराउन आउँदा डाक्टर नभएका कारण निजी अस्पतालमा महँगो तिररे उपचार गराउन परेको बताए।

विस २०१४ सालमा स्वास्थ्य क्लिनिक रूपमा र २०१६ सालमा राजा महेन्द्रको दाङ भ्रमणका क्रममा १५ शैयाको अस्पतालबाट सञ्चालन भएको अस्पताल क्रमशः ५० शैयाको जिल्ला अस्पताल १ सय शैयाको राप्ती उपक्षेत्रीय अस्पतालको रूपमा विकास भएको आएको हो। अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा सञ्चालन आएपछि यसले ३ सय शैयाको अस्पताल समेत सञ्चालन गर्ने र स्वास्थ्य सेवामा फड्को मार्ने अपेक्षा गरे पनि विभिन्न कारणले त्यो हुन सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.