चार दिनमा दुईको मृत्यु, ११ जना घाइते

|

भद्रपुर : चाडपर्व नजिकिएसँगै झापा जिल्लामा फेरि सवारी दुर्घटना बढेको छ। ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्ने अभियानको थालनी गरेसँगै झापामा महिनादिनयता सवारी दुर्घटनामा कमी आएको थियो। तर, बडादशैं सुरु भएलगतै जिल्लामा सवारी दुर्घटना बढेको पाइएको हो।

जिल्लाका विभिन्न स्थानमा बिहीबार मात्र चार स्थानमा सवारी दुर्घटना भएको प्रहरी कार्यालय झापाले जनाएको छ। दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने केही घाइते भएका छन्। प्रहरीका अनुसार बिहीबार साँझ कनकाई नगरपालिका १ स्थित पूर्व-पश्चिम राजमार्गको जामुनखाडी चोकमा दुइटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भयो।

मृत्यु हुनेमा सुनसरी धरान उप महानगरपालिका १३ बस्ने १८ वर्षीय अजिब राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को.३४प ७९०४ नम्बरको मोटरसाइकलले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को ३३ प १०५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल चालक अजित राई, पछाडि सवार धरान उप महानगरपालिका १३ बस्ने २२ वर्षीय सविन राई र को.३३ प १०५० नम्बरको मोटरसाइकल चालक समेत घाइते भएका थिए। घाइतेमध्ये अजितलाई अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो।

त्यस्तै अर्जुनधारा नगरपालिका ५ कैलाशघाट स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको मे.११प २२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ३ प ६०४० नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा मे.११प २२ नम्बरको मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका ८ बस्ने २५ वर्षीय केशव रसाइली र सोही नगरपालिका बस्ने २४ वर्षीय विकास खाती घाइते भएका छन्। दुवै जनाको बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

उता कमल गाउँपालिका ६ पाडाजुङी–गौरीगञ्ज सडक खण्डको सोनापुरमा दुर्घटना हुँदा एक साइकलयात्री गम्भीर घाइते भएका छन्। दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे.१ह २११९ नम्बरको अटोले साइकललाई ठक्कर दिँदा साइकलयात्री कमल ६ बस्ने ७६ वर्षीय कृष्ण प्रसाद पोखरेल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। घाइते पोखरेलको अनुहार, मुख, छातीमा चोट लागेको अवस्था गम्भीर छ। झापामा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि न्यूरो हस्पिटल विराटनगर रेफर गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए।

त्यसैगरी, मेचीनगर नगरपालिका १३ मेट्रो पेट्रोल पम्पस्थित पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ज २६४३ नम्बरको सुमो कारलाई सोही दिशाबाट आउँदै गरेको मे १० प २५५५ नम्बरको मोटरसाइकलले ओभर ट्याक गर्ने क्रममा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

मोटरसाइकल चालक गौरादह नगरपालिका ६ बस्ने ३९ वर्षीय मोतिलाल बास्तोलाको दाहिने हात खुट्टामा गम्भीर चोट लागेको छ, भने सोही मोटरसाइकल पछाडि सवार सोही नगरपालिका बस्ने ३१ वर्षीय जित बहादुर बस्नेतको टाउको, हात खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

घाइते दुवै जनाको उपचार बिर्तामोडमा भइरहेको छ । सुमो कार चालक इलाम नगरपालिका ७ बस्ने ३४ वर्षीय अरुण तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। असोज १४ गते पनि झापा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुईजना घाइते भएका थिए। असोज १३ गते मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए।

चाडपर्वमा दुर्घटना न्यूनीकरण गर्नका लागि झापा प्रहरी र ट्राफिक प्रहरीले जिल्ला विभिन्न स्थानमा चालकलाई दुर्घटना रोकथाम र न्यूनीकरणका लागि सन्देश मूलक सूचना प्रवाह गर्दै आइरहे पनि जिल्लामा दुर्घटनामा कमी आउन सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.