जाजरकोट : राम्रो लगाउने र मीठो खाने कसलाई पो रहर हुँदैन् र? सबैलाई घरमा बसेर दशैंको समयमा रमाइलो गर्ने उत्तिकै लागेको हुन्छ। तर, जाजरकोट डोल्पा सडकखण्डका विभिन्न ठाउँमा बसेर गिट्टी कुट्दै दशैं खर्च जुटाउने बालबालिकाको संख्या पनि ठूलै रहेको छ।
सयौँ व्यक्ति यही बाटो हुँदै हिड्ने गर्दछन् , तर यहाँका दलित र जनजाती समुदायका वालबालिका भने हतौडा हातमा लिएर गिट्टीको खातमा दशैंको लागि खर्च जुटाउने उपाय खौज्दै छन्। रुकुम पश्चिम आठविसकोट नगरपालिका-११ रिटा गाउँ नजिकै त्रिभुवन मावि दल्लीमा कक्षा ६ मा पढ्ने सावित्रा घर्ती सडकमै गिट्टी कुट्न थालेको ६ दिन बितेको छ।
घरमा बाबा नभएका कारण आमाले कमाएको रकमले घर खर्च नटरेपछि आफू बाध्य भएर गिट्टी कुट्न लागेको बताइन्। 'गिट्टी कुट्दै गर्दा यही बाटो भएर साथीहरू जान्छन्, तर म भने कसैसँग नहेरी गिट्टी कुटिरहन्छु' सावित्राले भनिन्।
उनीसँगै अर्का ९ वर्षीय बालक सरोज घर्ती पनि गिट्टी कुट्छन्। विद्यालयमा छुट्टी भएका कारण गिट्टी कुट्न लागेको उनले बताए। 'विद्यालय सञ्चालन भएपछि दैनिक पढ्न जान पर्छ' उनले भने, 'अहिले फुर्सदको समयमा गिट्टी कुटेर कमाएको पैसाले दशैं र अन्य काम गर्नुपर्ला।'
उमेरले सानै भए पनि कुरा र कामले भने उनी निकै छिपिएको स्पष्ट देख्न सकिन्थ्यो। उनी थप्छन्, 'सबै साथीहरू अहिले विभिन्न रमाइलो कार्यक्रम गदै रमाएका छन्, म भने गिट्टीमा भविष्य खोज्दैछु, के गरिब हुँनु अपराध हो?'
उनीसँगै कक्षा ३ मा पढ्ने रमेश विक पनि सकिनसकी गिट्टी कुट्ने काममा लागेका छन्। गिट्टी कुट्दा-कुट्दै कहिले घामले चर्काउँछ, कहिले पानीले भिजाउछ। तर, हाम्रो समस्यका अगाडि सबै समस्य केही नभएको उनीहरूको प्रतिक्रिया छ। अहिले अर्थ अभावका कारण समस्यमा परेका अधिकांश बालबालिकाहरू आफैँ मजदुरी गर्दै आमा-बाबालाई सघाउने गर्दछन्।
३० केजीको बोरमा गिट्टी कुटेर दिएमा ४० रुपैयाँ पाउने गरेको उनीहरूको भनाइ छ। गिट्टी कुट्दा काम गर्न सजिलो होस भनि पानीको मूल भएको ठाउँमा गएर काम गरिरहेको उनीहरू बताउँछन्। कसैलाई दशैं आएको छ भने कसैलाई दशा आएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहको भनाइ छ।
गिट्टी कुटदै उनीहरू भन्छन्, 'अहिले हामी गिट्टी कुट्दै छौँ, भोली हामी यही पैसाले कापी, कलम र झोला किनेर हाम्रो भविष्य बनाउँछौँ।' दिनभरी गिट्टी कुट्दा पहिले-पहिले हात दुखे पनि अहिले दुख्न छाडेको उनीहरु बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।