|

कैलाली : छिमेकी राष्ट्र चीनका राष्ट्रपति सी चिनपिङ दुई दिने राजकीय भ्रमणका लागि शनिवार अपराह्न नेपाल आइपुगेका छन् । उनको भ्रमणका क्रममा नेपाल र चीनबीच १२ वटा परियोजनामा दुई देशबीच सम्झौता हुने तयारी छ । ती १२ परियोजनामा सुदूरपश्चिम प्रदेशको एउटा पनि परियोजना परेको छैन । 

चीन र नेपालसँग सरोकार ठूला परियोजनाहरू सुदूरपश्चिम प्रदेशमा नभएका पनि होइनन् । तर, पनि यो प्रदेशको एउटा पनि परियोजना नसमेटिनु अत्यन्त दुःखद् र सुदूरपश्चिम प्रदेशवासीका लागि दुर्भाग्य रहेको कैलालीबाट प्रतिनिधित्व गर्ने संघीय सांसद नारदमुनि रानाले टिप्पणी गरे। 

‘मैले व्यक्तिगत रूपमा र सुदूरपश्चिम प्रदेश सरकारमार्फत पनि यो प्रदेशको एजेन्डाबारे परराष्ट्र मन्त्रालय र प्रधानमन्त्रीको सचिवालयलाई जानकारी गराएका थियौँ,’ उनले भने, ‘तर, एउटा पनि योजना नपर्नु अत्यन्त दुर्भाग्य हो।’

सुदूरपश्चिम प्रदेशमा बझाङको उरै भन्ज्याङ वा दार्चुलाको तिङ्कर हुँदै ताक्ला कोट व्यापारिक नाका खुलाउनु पर्ने माग हुँदै आएको छ । यसै गरी पश्चिम सेती जलविद्युत आयोजना पनि रहेको छ । यो जलविद्युत आयोजनालाई चीनकै थ्री गर्जेज कम्पनीले निर्माण गर्ने भनिए पनि त्यो कम्पनी अहिले पछाडि हटेको छ।

उत्तर–दक्षिणमा व्यापारिक ‘कनेक्टिभिटी’ बढाउनका लागि सीको भ्रमण एउटा कोसेढुङ्गा साबित हुन सक्ने बेला यो प्रदेशलाई उपेक्षा गरिएको सांसद रानाको ठहर छ । ‘सडक, नाका, ऊर्जालगायतमा अरू प्रदेश कुनै न कुनै रूपमा समेटिएको छ,’ उनले भने, ‘तर, सुदूरपश्चिमलाई किन छुटाइयो यसको गम्भीर समीक्षा हुन्छ ।’

ताक्लाकोटलाई अन्तर्राष्ट्रिय व्यापारिक नाका बनाउन सके सुदूरपश्चिमको भाग्य र भविष्य दुवै चम्किने बताइन्छ । तर, यो नाका खुलाउनका लागि ठोस कदम अगाडि बढाइएको पाइँदैन । बझाङको चैनपुर–उरै भन्ज्याङ हुँदै वा दार्चुलाको व्यास–तिङ्कर हुँदै जुनसुकै बाटोबाट ताक्ला कोट नाका खुलाइए पनि त्यो उत्तर–दक्षिण छिमेकी राष्ट्र जोड्नका लागि सबैभन्दा छोटो रुट हुनेछ ।

सुदूरपश्चिम प्रदेशकै चीनसँग नाका जोडिने छोटो मार्गको रूपमा रहेको दार्चुला–तिङ्कर सडक निर्माण ओझेलमा परेको छ । महाकाली कोरिडोरअन्तर्गत बजेट विनियोजन हुन थालेपछि दार्चुला–तिङ्कर सडक निर्माण ओझेलमा परेको हो । महाकाली कोरिडोरअन्तर्गत सुदूरपश्चिमका चार जिल्ला कञ्चनपुरको ब्रह्मदेव, डडेल्धुरा, बैतडी हुँदै दार्चुला जोडिँदै छ । 

त्रिदेशीय सीमा भएका कारण पनि यो सडकको महत्त्व रहेको छ। तर, यस पटक पनि यो सडक प्राथमिकतमा पर्न नसकेको कैलाली उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा सुन्दर सुदूरपश्चिम अभियन्ता गोपाल हमालले बताए । 

‘हामीले पटक पटक दार्चुला–तिङ्कर सडकको निर्माण गर्नुपर्नेमा जोड दिँदै आएका छौं,’ उनले भने, ‘यो मार्ग हुँदै नाका खोले नेपाल, भारत र चीनसँगको व्यापारमा सहज हुने छ ।’ दार्चुला–तिङ्कर सडक भएर कैलाश मानसरोवर जाने धार्मिक यात्रुलाई पनि सहज बाटो हुने हमालको भनाइ छ ।   

कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र तिङ्कर ४२५ किलोमिटर छ । तिङ्कर गाउँसम्म मात्रै सडकको पहुँच पुर्‍याउने हो भने चीनसँगको व्यापारमा सिधा सम्पर्क हुने हमाल बताउँछन् ।

अहिले चीनका राष्ट्रपति आएको बेला यो नाका खुलाउने विषय चर्चामा भने आउन सकेको छैन । दार्चुला–तिङ्कर सडकलाई चीनसँग जोड्न सकेमा सुदूरपश्चिमको मात्र नभई मुलुककै समृद्धिमा सहयोग पुग्ने यस क्षेत्रका सरोकारवालाहरुको भनाइ छ । 

‘सी भ्रमणमा आएको बेला कमसेकम ताक्ला कोट नाका खुलाउनका लागि नेपाल सरकारले पहल गर्नु पर्दछ,’ हमालले भने, ‘नाका मात्रै खुलाइयो भने पनि प्रदेशको विकासमा ठुलो टेवा पुग्छ ।’ 

सी भ्रमणमा सुदूरपश्चिम प्रदेशका मुख्य ठूला योजनाहरू नसमेटिनु विडम्बना रहेको कैलाली उद्योग वाणिज्य सघंका अध्यक्ष पुष्पराज कुँवरले टिप्पणी गरे। ‘पश्चिम सेती, तिंकर नाका, महाकाली  कोरिडोर उत्तर दक्षिण सडक सञ्जाल लगायतका कुनै पनि योजना प्राथमिकतामा परेनन्,’ उनले भने, ‘दर्जनभन्दा बढी सम्झौता हुँदा सुदूरपश्चिम प्रदेशका कुनै योजना नसमेटिनु दुर्भाग्य हो ।’

केरुङ–काठमाडौँ रेलमार्गको निर्माणबारे छलफल गर्ने सरकारले तयारी गरेको छ । त्यसै गरी गल्छी–रसुवागढी–केरुङ ४०० केभी अन्तर्देशीय विद्युत् प्रसारण लाइनमा सम्झौता गर्ने तयारी गरेको छ । ७६२ मेगावाटको तमोर जलविद्युत् आयोजना निर्माण सम्झौता, मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान लगायत दर्जनभन्दा बढी सम्झौता र सहमति हुने भए पनि सुदूर पश्चिम प्रदेशका कुनै योजना नसमेटिनुमा प्रदेश सरकारकै कमजोरी रहेको सरोकारवालाहरुको आरोप छ।

‘चीनसँग जोडिएको सुदूरपश्चिम प्रदेशको नाका सञ्चालन गर्ने विषयले मात्रै पनि प्रवेश पाएको भएन सबै भन्दा राम्रो हुने थियो,’ नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण महराले भने,  ‘प्रदेश सरकारले चासो नदिँदा समस्या भएको हो ।’

विगतमा पटक पटक सङ्घीय नजरमा विभेदमा परेको सुदूरपश्चिम यस पटक पनि त्यही नियति भोग्न बाध्य भएको यस क्षेत्रका सरोकारवालाहरुको ठहर छ । प्रदेश सरकारकै कमजोरीले सुदूरपश्चिम प्रदेशका विषय ओझेलमा परेको आरोप लागिरहँदा सत्तारुढ दलकै सांसदको भनाइ पनि त्योभन्दा फरक छैन । केन्द्र सरकार र केन्द्रीय स्तरमा राजनीति गरिरहेका नेतृत्वले चासो नदिँदा सुदूरपश्चिम प्रदेशका महत्त्वपूर्ण विषयहरू ओझेलमा परेको सुदूरपश्चिम प्रदेश सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक तारा लामा तामाङको गुनासो छ ।

‘केन्द्रले कम महत्त्व दिएको हामीलाई पनि लाग्छ,’ उनले भने, ‘यहीका दुई पूर्व प्रधानमन्त्री हुनुहुन्छ । नेकपाका नेता पनि हुनुहुन्छ उहाँहरूले एक स्वरमा बोल्नु पर्ने थियो ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.