|

रौतहट : मोहम्मद आफताव आलम नेपाली कांग्रेसमा सदावहार शक्तिमा रहने नेतामध्ये एक हुन्। उनले रौतहटबाट लगातार चुनाव जित्दै आएका छन्। 

रौतहट क्षेत्र नं. २ बाट वि.सं. २०५१,२०५४,२०५६,२०६४ र २०७४ सालमा निर्वाचित हुँदै पटक पटक सहायक मन्त्री, राज्य मन्त्री तथा मन्त्री हुँदै आएका सांसद आलम अहिले प्रहरीको हिरासतमा छन्। 

वि.सं. २०५१ सालदेखि हुँदै आएको हरेक निर्वाचनमा जित्दै आएका कांग्रेस नेता आलमले २०७० सालको दोश्रो संविधानसभाको निर्वाचनमा मात्र पराजय भोग्नु परेको थियो।

उनलाई २०७० को सविधानसभा निर्वाचनमा तत्कालीन विजयकुमार गछदारको पार्टी मधेसी जनाधिकार फोरम लोकतान्त्रिकबाट उठेका उनकै भान्जा मुस्ताका राजाले हराएका थिए।

वि.स‍‌ं‍. २०६४ सालको संविधानसभाको निर्वाचनमा बम विस्फोट काण्डका मुख्य नाइकेको रूपमा परिचित आलमलाई आइतबार जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी प्रधान कार्यालय काठमाडौंको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।

वि.स‍‌ं‍. २०३४ सालबाट राजनीतिक यात्रा सुरु गरेका आलम २०४५ सालदेखि पार्टीको कार्यबहाक सभापति हुँदै दुई पटक जिल्ला सभापति र एक पटक केन्द्रीय सदस्य भइसकेका छन्।

नेपाली कांग्रेसको इतिहास बोकेका तत्कालीन कांग्रेस नेता शेख इद्रिसको उत्तराधिकारीको रूपमा आलमलाई हेरिएको थियो। सुरुदेखि नै हठ्ठी स्वभावका थिए इद्रिस। स्वास्थ्य राज्यमन्त्री र श्रम मन्त्रीसमेत हुन भ्याए। कांग्रेसका जिल्ला सभापति र केन्द्रीय सदस्यसमेत भए। इद्रिसको एक वर्षअघि हृदयघातबाट मृत्यु भयो।

त्यस क्षेत्रमा आलमले भारतबाट आपराधिक प्रवृतिका मानिस प्रयोग गर्दै आएको आरोप छ। चुनावमा भारतीय अपराधी प्रयोग गरी बुथ कब्जा गरेको उनीमाथि आरोप लाग्ने गरेको छ। उनी खास गरी कांग्रेसको कोइराला परिवारसँग अतिनिकट सम्बन्ध रहेको छ। जसको कारण उनी सधैँ शक्तिमा बसिरहे।

वि.स‍‌ं‍. २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट आलम नेपाली कांग्रेसको तर्फबाट १८ हजार ८ सय ३३ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र यादव नेतृत्व संघीय समाजवादी फोरमका उमेदवार किरण शाहले १६ हजार ८ सय ६५ मत प्राप्त गरेका थिए। यसैगरी उनकै भान्जा मुस्ताक राजा (हाल निधन भइसकेको) ले एमालेको तर्फबाट १३ हजार ८ सय ८३ मत ल्याएका थिए।

यता प्रहरी हिरासतमा रहेका सांसद आलमलाई म्याद थपेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नवीन कार्कीले बताए। अन्यको जस्तै कर्तव्य ज्यानको मुद्दामा सांसद अलममाथि अनुसन्धान हुने उनले जानकारी दिए। ‘अन्यको जस्तै कर्तव्य ज्यानको मुद्दामा सांसद अलममाथि अनुसन्धान हुन्छ,’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.