|

काठमाडौं : देशभर दशैंको रौनक छाएको थियो। गाउँ फर्कनेको ताँतीले वातावरण अझै रमित लाग्दो बनेको थियो। दशैंको रौनक थपिदैँ जाँदा  हुम्लाका पत्रकार अर्जुन बोहरालाई नसोचेको पीडा आइलाग्यो। उनी एका-एक बोल्न नसक्ने भए, बेहोस भए। यो घटना असोज ११ गतेको हो।

उनी केही दिनअघि मात्रै महोत्सव र चिनियाँ नाका ल्याप्चा पुगेर फर्किएका थिए। बुधबार बाँसबारीस्थित न्यूरो अस्पतालमा भेटिएका बोहराका दाजु विष्णुले फेरिहस्त सुनाए। 'दुःख बाजा बजाएर आउँदो रहेनछ। भाइ ११ गते अचानक उनी सिमकोटमा बेहोस भएको हो। बोली बन्द भएको छ,' उनले भने, 'लेकतिर गएको थियो। सायद चिसोले गर्दा कमजोर भएको ठान्यौँ तर रोग अर्कै रहेछ।'

सुरुमा उनको उपचार गाउँमै धामी झाँक्रीबाट भयो। तर, रोगले च्याप्दै जाँदा अन्तिम विकल्प काठमाडौं नै थियो। गाडीमा आउँदा समय लाग्ने भएपछि दाजुले आफ्नो भाइलाई जहाजमा चढाएर काठमाडौं ल्याइपुर्‍याए। 

मस्तिष्क घातका कारण गम्भीर बिरामी भई बाँसवारीस्थित न्यूरो अस्पतालको आइसीयू कक्षमा उपचाररत छन् उनी। बोल्न र हिँडडुल गर्न नसक्ने भएपछि बेहोस अवस्थामै अध्यक्ष बोहरालाई उपचारका लागि काठमाडौं ल्याइएको हो। दुर्गम जिल्लाबाट पत्रकारिता गरिरहेका नेपाल पत्रकार महासंघ हुम्लनका अध्यक्षसमेत रहेका बोहराको पारिवारिक आर्थिक अवस्था कमजोर हुँदा उपचारका लागि आर्थिक समस्या परेको छ।

घरमा  श्रीमती छिन्। दुई छोरी पनि। एउटा सानो छोरा छ। उनीसँग बोल्दै गर्दा मोबाइलको घण्टी बज्यो। उनी फोनमा भन्दै थिए, 'तेरो बुवा खाजा खान गएको छ। आएपछि बोल्न दिउँला।' यसो भन्दै उनले फोन काटे। फोन गर्ने अर्जुनका छोरा रहेछन्। 'छोरो सानो छ। बाबु खोज्छ। यता बाबु बोल्न सक्दैन,' उनले तुरुक्क आँसु झारे।

पत्रकार बोहराका दाजु विष्णु

असोज २६ गते न्युरो अस्पताल आएका उनले भाइको उपचारका लागि हरेक दिन रकम जम्मा गर्नुपर्ने बाध्यता सुनाए। हरेक दिन २० देखि ४० हजार रुपैयाँ अस्पतालमा जम्मा गर्नुपर्छ। ऋण गरेर ल्याएको रकम सकिए पनि हिम्मत भने हारेका छैनन्। भाइ बाँच्ने आशामा अस्पतालमा दिन बिताउँदै छन्। 

'अब गोजी रितिसकेको छ। भगवान्को भरोसाबाहेक अर्को विकल्प छैन', उनी भन्छन्, 'आफूलाई परेको समस्याबाट मुक्ति पाउने सबै बाटो बन्द भएपछि मान्छेले अन्तिम विकल्प भगवानलाई ठान्दो रहेछ।'

दुर्गम जिल्लाबाट पत्रकारिता गरेर जनतालाई सुसूचित गरेर आफ्नो धर्म निभाएका छन् बोहराले। आफू र परिवारबाट बेखबर भएर जनतालाई देश दुनियाँका खबर पुर्‍याउनु, भोको पेटले भरिएका पेटहरूका कथा लेख्नु, आफैं पीडामा हुँदाहुँदै पनि अरूको पीडाबारे आवाज उठाउनु पत्रकारको धर्म र कर्तव्य दुवै हो। शरीरमा रोग पालेरै पनि बोहराले जनतालाई सुसूचित गरिरहे। तर, तिनै पत्रकार आज जीवन र मृत्युको दोसाँधमा संघर्षरत छन्।

उनी कुनै प्रतिष्ठित र देशको उच्च ओहदाका व्यक्ति होइनन्। जसले सजिलै उपचार गर्न पाओस्। कलम  र आवाजको दुनियाँबाट जनतालाई सुसूचित गराइरहने एउटा पत्रकार आज आर्थिक विपन्‍नताका कारण उपचारबाटै विमुख  हुनुपर्ने अवस्था आइलागेको छ।

उनको उपचारका लागि गाउँपालिका र नगरपालिकामा पहल नभएको होइन। तर, उपचारका लागि अहिलेसम्म सहयोग पाउन सकेका छैनन्। हरेक पटक कार्यक्रमका लागि पत्रकार खोज्‍ने सरकारी संस्था र कार्यालय स्वयम् पत्रकार बिरामी हुदाँ बेखबर हुँदा दुःख लागेको दाजु विष्णुले बताए।

बोहराले सशस्त्र जनयुद्धमा लागेर पनि विभिन्‍न लडाइँ लडे। चेतनाको विगुल फुक्दै गाउँ-गाउँ हिँडे। समानताको आवाज उठाए। धनी र गरिबबीचको खाडल पुर्नुपर्छ भनेर भाषण गरे। निरंकुशताविरुद्ध विद्रोहमा लागे। लडाइँमा गोलीबाट जोगिएका बोहराले मृत्युलाई पनि जित्‍ने कोशिसमा छन्। विष्णु भन्छन्, 'भाइलाई अहिले सबैको माया र सहयोगको आवश्यकता छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.