नेपालमा लगानी बढाउन र श्रमिकको आय वृद्धिमा ध्यान केन्द्रित गर्छुं

|

काठमाडौं : निकै विवादका बीच गैरआवासीय नेपाली संघ (एनआरएनए)मा आगामी दुईवर्षे कार्यकालका लागि कुमार पन्तको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। आफ्ना प्रतिस्पर्धीलाई १४७ मतले पराजित गर्दै पन्तले दुईवर्षे कार्यकालको जिम्मेवारी लिएका छन्।

गोरखामा जन्मिएको पन्त सन् १९९७ मा उच्च शिक्षा हासिल गर्न युरोप छिरेका थिए। राजनीतिशास्त्रमा स्‍नातक गरेका उनी होटलमा कामदार हुँदै अहिले दुई दर्जन बढी होटलका संचालक रहेका छन्।

संघका पूर्वअध्यक्ष जीवा लामिछानेका 'बिजेनश पार्टनर'समेत रहेका उनी गैरआवासीय नेपाली संघमा जर्मनी राष्ट्रिय परिषद् संगठन क्षेत्रीय सदस्यबाट संघमा छिरेका हुन्। उनी अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य, महासचिव, दुई कार्यकाल उपाध्यक्ष बन्दै अध्यक्षको जिम्मेवारी लिएका छन्। नवनिर्वाचित अध्यक्ष पन्तसँग थाहाखबरका भागवत भट्टराईले गरेको कुराकानीको सार :

अध्यक्षमा निर्वाचित हुनु भएकोमा बधाई।

धन्यवाद, स्वदेश र विदेशमा रहनुभएका दिदीबहिनी, दाजुभाइलाई पनि एक साथ धन्यवाद दिन चाहन्छु। यो महाधिवेशनबाट मलाई महत्त्वपूर्ण जिम्मेवारी सुम्पिनुभएको छ। आफ्नो व्यक्तिगत काम नभनी, दशैंतिहारजस्ता ठूला चाडका बीचमा परिवारसमेत नभनी मतदानका लागि हाम्रा मतदाता यहाँ आउनुभयो, भोक, प्यास, निद्रा नभनी यहाँहरूको महत्त्वपूर्ण समय र अमूल्य मत दिनुभयो। मलाई विजयी गराउनु भयो, अब काम देखाउने छु।

जितलाई कसरी हेर्नु भएको छ?

म सन् २००४ देखि यो संस्थामा लागेको हुँ। दुई पटक उपाध्यक्ष भइसकेँ। एक पटक महासचिव भइसकेँ। लामो अनुभव छ भन्दै साथीहरूले मलाई एनआरएनएको नेतृत्व गर्नुपर्छ भन्नु भएको थियो। अहिले सुम्पनु भयो। श्रमिक साथीहरूको लागि सारेका एजेण्डा, लगानीको लागि सार्वजनिक गरेका एजेण्डाहरू साथीहरूले चित्त बझाएको रूपमा पनि लिएको छुँ।

निर्वाचनको बीचमा केही फरक दृश्य देखियो। बढी राजनीति भयो भन्‍ने गुनासो पनि सुनियो। यसलाई कसरी लिनु भएको छ?

संस्थामा अनावश्यक राजनीतिकरण गर्न खोजिएको जस्तो देखियो। सम्मेलनका बेला होटलका कोठा-कोठामा नेताहरू ल्याएर छलफल पनि भए। यी कुरा ठीक होनन्। हामी संस्थालाई राजनीतिकरण गर्न चाहानौँ। अनलाइन भोटिङ गर्छौं, एनआरएनएका प्रतिनिधिले होइन साधारण सदस्यहरूले नै भोट गर्न पाउने व्यवस्था मिलाउँछौँ। जसले कार्यरत देशमा बसेर भोट हाल्न सक्नु हुन्छ।

तपाईं लामोसमयदेखि संघको पदाधिकारीमा हुनुहुन्छ संघले के कस्ता काम गरेको छ ?

गैर-आवसीय नेपाली संघ नेपालमा आर्थिक समृद्धिको निम्ति गैर-आवासीय नेपाली परिचालन गर्नुपर्छ भनेर सुरुदेखि नै प्रतिबद्ध थियो र यसलाई अझ प्रभावकारी बनाएर लिएर जानु पर्छ भनेर कामअघि बढाएका छौँ। अहिले लगानीका कुरालाई दुई चरणमा बाडेका छौँ। एउटा ज्ञान, सीप र प्रविधिको लगानी। अर्को पुँजीको लगानी। पुँजीको लगानीमा गैर-आवासीय नेपालीको संजाललले महत्वपूर्ण उपलब्ध हासिल गरेको छ। हामीले सिकेको ज्ञान, सीप र प्रविधि पुँजीभन्दा बढी आवश्‍यक हुन सक्छ भनेर काम सुरु गरेका छौँ।

हामीले सम्मेलन नै गरेर प्रतिवेदन तयार गरिसकेका छौँ। अब त्यसलाई कार्यान्वयन लिएर जाने फेजमा छौँ। त्यसमा नेपाल सरकारसँग कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने बारेमा केलाइ रहेका छौँ। अर्को यति ठूलो संख्यामा श्रमिक साथीहरू विदेशी बजारमा हुनुहुन्छ। नेपाल भने अहिले पनि विदेशमा अत्यन्तै सस्तो कामदार पठाउने देशका रूपमा चिनिएको छ।

यसलाई परिवर्तन गर्नुपर्छ। यसको लागि कमसेकम ३/४ वटा तालिम गराएर पठाउन सकियो भने आर्जन गर्ने आयको क्षमता बढ्छ। त्यसको निम्ति संघीय तथा प्रदेश सरकारसँग समन्वयन गरेर हामीले भोकेशनल ट्रेनिङ सेन्टर स्थापना गर्ने भनेर लागि रहेका छौँ। 

श्रमिक साथीहरू दैनिक रूपमा अंगभंग हुने र मृत्यु हुने संख्या बढी छ। त्यस्ता साथीहरूको उद्धार कसरी गर्ने, मृतकको शव कसरी ल्याउने भनेर श्रमिक कल्याणकारी कोष स्थापना गरेका छौँ। त्यसलाई ठूलो बनाइने छ। परोपकारी कामको निम्ति रकम भित्र्याउने सवालमा पनि काम गरेका छौँ। महिला तथा युवालाई सक्रिय बनाउने विषयमा पनि काम गरिएको छ। विभिन्न कार्ययोजनासहित काम गरेको छ।

नेपालमा लगानीको वातावरण कस्तो सहज पाउनु भएको छ?

नेपालमा अहिले लगानी ल्याउनको निम्ति गाह्रो केही छैन। केही समस्या छन् भने नेपालको राज्य सकारले समाधान गर्ने भनेको छ। गैर-आवसीय नेपाली संघ लगानी ल्याउनको निम्ति सरकार 'पोजेटिभ' छ भन्ने अर्थमा बुझेका छौँ। केही समस्या छन भने पनि सरकार समाधान गर्न तयार छ भन्ने पाएका छौँ।

एनआरएनएलाई थप बलियो बनाउन तपाईंको भूमिका के हुन्छ?

मैले आफ्नो एजेण्डाको रूमपा गैर-आवासीय नेपाली संघको सदस्यलाई व्यापाक बनाउने भनेर अघि सारेको थिएँ। त्यसमा जोड दिन्छु। पञ्जीकृत सदस्य ल्याउँदा तीर्नुपर्ने 'फी' इत्यादी कारणले गर्दा पनि सदस्यता घटेको पाइएको छ। त्यसले केही विकृति आएका छन्। अब फ्रि अफ चार्ज पञ्जीकृत सदस्य लिन पाउने मतादान प्रकियाको लागि काठमाडौं आउन नपर्ने। घर-घरमा बसेर मतदान गर्न पाउने व्यवस्था मिलाइने छ।

लगानीको लागि १० अर्ब बराबरको फण्डको प्रयोगको लागि यसअघि मेरो नेतृत्वमा तयारी कमिटी बनेको थियो। त्यसैले साइन गरेको हो। त्यसको लागि प्रतिबद्ध भएर मेरो कमिटीले अघि बढाने छ। गैरआवासीय नेपालीले सिकेको ज्ञान, सीप र प्रविधीलाई मेरो नेतृत्वमा यसअघि नै कमिटी बनेको छ। त्यसलाई सशक्त बनाएर जाने छौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.