|

डडेल्धुरा :  ऐतिहासिक ‘अमरगढी किल्ला’ डडेल्धुरा सदरमुकाम अगरगढी नगरपालिका–५ खलंगामा अवस्थित छ। समुद्री सतहबाट यस किल्लाको उचाइ लगभग छ हजार ५०० फिट रहेको छ।

बडाकाजी अमरसिंह थापाद्वारा निर्मित यस किल्लामा ठूलठूला ढुंगा प्रयोग गरिएकाले किल्ला निकै कलात्मक देखिन्छ। पृथ्वीनारायण शाहपछि उनका छोरा बहादुर शाहले नेपाल एकीकरणको नेतृत्व गरेका थिए। रणबहादुर शाहको शासनकालमा बहादुर शाहकै नेतृत्वमा नेपालको सिमाना  कुमाउ गढवालसम्म पुगेको थियो।

एकीकरणको अभियानका बेला वि. सं. १८४७ भदौ ३१ गते सेती नदीको नारिदाङ भन्ने स्थानमा गोरखाली फौज र डोटेली फौजबीच घमासान युद्धभयो। डोटेली फौजलाई हराएपछि कर्णाली र पश्चिमी भूभागमा युद्ध गर्न अमरसिंह थापा प्रथम प्रशासक नियुक्त भएका थिए। तिनै अमरसिंह थापाले आफू नियुक्त भएपछि यस क्षेत्रको संरक्षण तथा महाकालीपारि पश्चिम काँगडासम्म विजय अभियानलाई जारी राख्न यो किल्ला निर्माण गर्न लगाएका थिए। त्यसैले यो ‘अमरगढी किल्ला’को रूपमा परिचित छ।

वि. सं. १८४७ मा निर्माण भएको यही किल्लालाई आधार बनाएर गोरखाली फौजले युद्ध लडेको थियो। काँगडा र कुमाउँको अलमोडामा नेपालको हार भएपश्चात यो क्षेत्रको सदरमुकाम दिपायल सिलगढी सरेको बताइन्छ। बडाकाजी अमरससिंह थापाद्वारा निर्मित यो किल्ला विशाल ढुंगाले कलात्मक तरिकाले बनाइएको छ।

किल्लाभित्र युद्ध गर्नका लागि सैनिकहरूका लागि २२ वटा गुफाहरू बनाइएको छ। त्यस्तै, युद्ध छल्न तथा सफलताका लागि शस्त्र निरोध गर्ने मार्ग निर्माण गरिएको छ। अहिले भएका किल्लाको माथिल्लो भागका ठूलाठूला रूखहरूका कारण किल्लाकै ऐतिहासिक गौरव अझै झल्किन्छ भने किल्लाको बीच भागका रहेको काmल भैरवको मन्दिरले धार्मिक महत्व पनि झल्काउँछ।

नेपाल एकीकरणका बेला बडाकाजी अमरसिंह थापाले डोटेली राज्यको डडेल्धुरालाई आधारक्षेत्र बनाई कुमाउँ गडवालसम्म युद्ध लड्नका लागि यसै अमरगढी किल्लालाई मुख्य आधार मानेर निर्माण गरिएको स्थानीय ६५ वर्षका उमा श्रेष्ठले बताइन्। समय बित्दै जाँदा पछि वि. सं २०२० तिर यो किल्लामा गोरख दल बसेर हेरचाह गर्ने गरेको समेत उनले बताइन्।

गत वर्ष सरकारले छनोट गरेका १०० नयाँ पर्यटकीय गन्तव्यमा ‘अमरगढी किल्ला’ पनि परेको भएपनि किल्ला संरक्षणमा स्थानीय सरकार र किल्ला पर्यटन पूर्वाधार क्षेत्र विकास समितिले ध्यान नदिँदा जीर्ण बन्न थालेको हो। किल्ला बाहिर पेटी निर्माण गरिएको छ । तर, त्यो पनि अधुरै रहेको छ।

अमरगढी नगरपालिकाले भने योजनाबद्ध रुपमा किल्लाको संरक्षण गर्ने जनाएको छ। चालू आर्थिक वर्षकमा संघीय सरकारले किल्लाका लागि ससर्त अनुदान तर्फ २० लाख रुपैयाँ विनियोजन गरेको अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले जानकारी दिए। सय नयाँ पर्यटकीय गन्तव्यमा अमरगढी किल्ला पनि परेकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट थप ५० लाख रुपैयाँ किल्लाका लागि आउने उनको भनाइ छ।

डडेल्धुराको अमरगढी नगरपालिका यही किल्लाको नामबाट २०५४ सालमा नामाकरण गरिएको हो। नगरपालिकाले स्थापनापछि २०५६ सालमा किल्लालाई आफ्नो मतहतमा ल्याएको थियो। तर, २०५८ सालमा तत्कालीन माओवादी द्धन्द्धका बेला जिल्लालाई सुरक्षा दिन यो किल्ला नेपाली सेनाले आफू मातहत ल्याएको थियो।

त्यसपछि किल्ला पर्यटकका लागि प्रतिबन्ध लगाइएको थियो। २०५८ देखि २०६६ सालसम्म किल्ला सेना मतहत रह्यो। स्थानीयको पटक–पकटको प्रयासपछि २०६६ साल पुसदेखि अमरगढी नगरपालिकाले रेखदेख र सञ्चालन गर्ने जिम्मा पाएको हो।

छिमेकी जिल्ला बैतडी, दार्चुला, डोटी, बझाङका साथै कैलाली, कञ्चनपुरबाट समेत घुम्नका लागि पर्यटक आउँछन्। सुदूरपश्चिम प्रदेश बाहेक अन्य प्रदेशबाट पनि डडेल्धुरा आउने व्यक्तिहरूहरू एकपटक अमरगढी किल्ला पुगेर नै फर्किन्छन्। विषेश गरी सुदूरपश्चिम प्रदेशका विभिन्न विद्यालय, कलेजले विद्यार्थीलाई अमरगढी किल्ला घुमाउन ल्याउँछन्। सडक मार्ग भएर यहाँ जहजै रूपमा पुग्न सकिन्छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.