अहिले पनि उस्तै छ राजपुरमा आलमको आतंक

|

रौतहट : पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन बम बनाउने क्रममा विस्फोट भइ घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै हालेर हत्या गरेको अभियोगमा पक्राउ परेका कांग्रेस नेता मोहम्मद आफतान आलम अहिले प्रहरी हिरासतमा छन्। जिल्ला प्रहरी कार्यालय रौतहटको कडा निगरानीमा रहेका आलमको आतंक अहिले पनि उस्तै छ।

इँटाभट्टामा जिउँदै पोलिएका युवाहरूका परिवार आलम छुटेपछि आफूहरूको पनि उनको समुहले ज्यान लिन सक्ने भन्दै त्रस्त छ। जघन्य अपराधमा प्रहरी हिरासतमा रहेका पूर्वमन्त्री आलम यदि अदालतबाट छुटेमा आफूहरू असुरक्षित हुने पीडित परिवारले बताएका छन्।

बमकाण्डमा कान्छो छोरो त्रिलोकी प्रताप सिंह गुमाएका यमुनामाई गाउँपालिका-४ निवासी ७९ वर्षीय पिता श्रीनारायण सिंहले अहिले पनि आलम र उनका गुण्डाहरूको डर त्रासमा बस्नु परेको बताए।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राति राजपुर नगरपालिका ४ (साविक राजपुर-४) स्थित आलमका काका शेख इद्रिसको गोठमा बम विस्फोट हुँदा घाइतते भएका यमुनामाई गाउँपालिका-४ (साविक सरुअठा-४) का त्रिलोक प्रसाद सिंह (पिन्टु) ओसी अख्तरलाई इँटा बनाउने चिम्नी भट्टामा जिउँदै जलाएको आरोपमा कांग्रेसका संघीय सांसद आलमलाई गत असोज २६ गते प्रहरीले पक्राउ गरेको थियो।

आलमलाई जमानतमा छुटाउन शक्तिकेन्द्रको चलखेल भइरहेका बेला पीडितहरू त्रसित छन्। मृतक त्रिलोकीका बुवा श्रीनारायण सिंह त्रासमा बाँच्न बाध्य एक गाउँले हुन्। ‘यदि आलम प्रहरीबाट छुटे भने रोक्सना खातुनलाई जसरी हामीलाई पनि मारिदिन्छ', श्री नारायण भन्छन्, 'यहाँ (रौतहट) का न्यायमूर्तिलाई यस्तो गलत निर्णय नगरिदिन आग्रह गर्दछु।'

बम विस्फोटपछि इँटा भट्टामा जिउँदै जलाइएका अर्का युवा ओसी अख्तरका लागि न्याय खोज्दा खोज्दै उनकी आमा रुक्सानकोसमेत गोली हानी हत्या भएको थियो। २०६७  माघ ८ गते साँझ दुर्गाभगवती गाउँपालिकास्थित माइतीबाट आफ्नो घर सरुअठा आउँदै गर्दा गौडा कुरेर बसेका हतियारधारी समूहले रुक्सानाको गोली हानी हत्या गरेको थियो। उक्त घटनामा अहिलेसम्म कोही पक्राउ परेको छैनन्। यो हत्यामा पनि उनै आलमको हात रहेको स्थानीयले अनुमान गरेका छन्।

‘भोलि मेरो पनि त्यसैगरी हत्या नहोला भन्न सकिँदैन,’ आलम पक्राउ परेपछि न्याय पाउने अनुभूति भएको बताउँदै उनी थप्छन्,‘१२ वर्षपछि न्याय पाउने आश पलाएको छ। यहाँका न्यायमूर्तिले पूरा गरिदिनुपर्छ।’

आलमलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ। आलमको म्याद कात्तिक ३ गते अर्थात् भोलि आइतबार सकिँदै छ।

श्रीमानको हत्या भएपछि बिचल्ली

श्रीमान् ओसी अख्तरको हत्या भएपछि दैनिक रोजीरोटीमै चलाउन समस्या भएको श्रीमती मदिना खातुनले बताइन्। श्रीमानका हत्यारालाई पक्राउ गर्न जाहेरी दिएकी सासु रोक्सना खातुनको पनि हत्या भएपछि आफू विचलित भएको उनले बताइन्।

अहिले उनी २ छोरासहित माइतमा बस्छिन्। मदिनाका १३ वर्षीय छोरा हैदर अली र १२ वर्षीय छोरा अब्दुल सहिल छन्। आर्थिक समस्याका कारण उनीहरूले पढ्न नपाएको उनले दुखेसो पोखिन्।

मदिना बुवा समसुल मियाको शरणमा छिन्। जीवनसाहरा श्रीमानकको हत्या भएपछि उनी बेसाहरा भइन्। 'हत्यारा' पक्राउ परेको समाचार सुनेपछि उनी खुशी छिन्। तर क्रुरताको हद पारेको घटनाका मुख्य अभियुक्त छुट्ने चिन्ता पनि उत्तिकै छ। आफूलाई माया गर्ने सासू रोक्सनाको पनि हत्या भएपछि खातुन माइत आएर बस्न थालेकी हुन्।

श्रीमान् ओसी अख्तरलाई सांसद आलमका भाइ महताबले बोलाएर चुनावको प्रचारमा लगाएको उनले बताइन्। कमाएर खुवाउने श्रीमान नै नभएपछि जीविकोपार्जन गर्न  कठिनाइ भएको खातुनको दुखेसो छ। खातुनले बज्जिका भाषामै भनिन्,‘श्रीमान् गुजरला से बेटाको पढाए नसक्लै, खाए पिएमे भी बहुत कठिन बा।’

उनले अपराधीलाई कानुनअनुसार कारवाही हुनुपर्ने माग गरिन्। 'यो पटक पनि पहिले जस्तै छाडिदियो भने भोलि यस्ता अरू घटना हुन्छन्, हामी त्रासमा बाँचिरहेका छौँ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.