प्रहरीले जवरजस्ती निवेदन दिन लगाएको जिकिर

|
फाइल फोटो- कृष्णबहादुर महरा

काठमाडौं : निवर्तमान सभामुख कृष्णबहादुर महराले आफुमाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले फेरि बोली फेरेकी छन्। 

आफूमाथि महराले बलात्कार प्रयास गरेको भन्दै महानगरीय प्रहरी वृत्त तीनकुनेमा लिखित जाहेरी दिएकी उनले जिल्ला अदालत काठमाडौंमा त्यसको ठीक विपरीत लिखित निवेदन दर्ता गराएकी छन्। 

असोज १५ गतेको मितिमा पति चित्रजंग शाहीलाई रोहवरमा राखेर लेखिएको निवेदन महानगरीय प्रहरी वृत्त तीनकुनेले बुझ्न अस्वीकार गरेपछि उनले जिल्ला न्यायाधीश बाबुराम सुवेदीसमक्ष बुझाएकी हुन्। 

महरालाई दोस्रो पटक म्याद थपका लागि उपस्थित गराएसँगै रोशनीले प्रहरीको दबाबमा उजुरी दिएको भन्दै जिल्ला अदालतका न्यायाधीश सुवेदीको इजलासमा घटनामा पनि कुनै सत्यता नरहेको तर्क गरेकी छन्। 

यो पनि : महरालाई थप पाँच दिन हिरासतमा राख्‍न अनुमति

‘असोज १२ गते रातिको समयमा मैले बेहोसी अवस्थामा घटना भएको भन्दै प्रहरीको कन्ट्रोल नम्बर एक सयमा फोन गरी प्रहरीलाई बोलाउन पुगेछु। मैले फोन गरेपछि प्रहरी आएर कोठामा खानतलासी गर्दा कसैलाई भेट्टाउनु भएनछ’, उनको निवेदनलाई उल्लेख गर्दै अदालत स्रोतले भन्यो, ‘प्रहरी गएपछि पनि मैले कस–कसलाई बोलाएँ। के के भने थाहा पाइनँ। म पछि होसमा फर्केर सामान्य अवस्थामा आउँदा विभिन्‍न मिडियामा मेरो र कृष्णबहादुर महराको नाम जोडेर विभिन्‍न किसिमका लाल्छना लगाउँदै आएका समाचार पढेर म नै अचम्ममा परेँ।’

उनले असोज १२ गते राति आफ्नो कोठामा महरा आउँदै नआएको तर्क फेरि गरेकी छन्। ‘उक्त दिन कृष्णबहादुर महरा मेरो कोठामा आउनु नै नभएकाले मिडियामा बाहिर आएका कपोलकल्पित समाचारहरु सबै झुटा छन् भनी यो निवेदन पेश गरेकी छु। मेरो मानसिक तथा शारीरिक अवस्थाको फाइदा उठाइ गलत प्रचार गर्ने सम्पूर्ण समाचारहरु तथ्यहीन भएकाले खण्डनसमेत गदर्छु’, उनले पेश गरेको निवेदनमा उल्लेख छ। 

प्रहरीको बहकाउमा परेर जाहेरी दिन पुगेको उनको तर्क छ। 'प्रहरीको बहकाउमा आएर कृष्णबहादुर महराविरुद्ध जाहेरी दिन बाध्य भएँ’, न्यायाधीशलाई सम्बोधन गर्दै अदालतमा बुझाइएको निवेदनमा भनिएको छ, ‘पुलिसले मलाई जवरजस्ती जाहेरी दिन लगायो। पुलिसले जवरजस्ती उजुरी लेखाएको हो, मैले बहकाउमा आएर उजुरी दिएँ।’

यो पनि : निवर्तमान सभामुख महराको गुनासो : ममाथि 'मिडिया ट्रायल' भो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.