आफैँलाई छैन सरकारी अनुदान, सर्वसाधारणको  कुरै छाडौँ

|

ओखलढुंगा : जिल्लाको चम्पादेवी गाउँपालिका-१० का वडा अध्यक्ष उदाहरणीय जनप्रतिनिधि बनेका छन्। जिल्लामै कृषि व्यवसायी जनप्रतिनिधि बनेर उनी उदाहरणीय बनेका  हुन्।

चम्पादेवी गाउँपालिका-१० का वडा अध्यक्ष उज्जनकुमार बुढाथोकी आफूले उदाहरण दिएर युवाहरूलाई कृषिमा लाग्न प्रोत्साहन दिन र व्यवसायिक बन्न राजनीतिसँगै यो पेसा अंगालेको बताउँछन्। विद्यार्थी राजनीतिलाई आधार बनाएर जनप्रतिनिधि बनेका बुढाथाकी राजनीति गर्नेलाई आम नगरिकसरह दु:ख गर्न सल्लाह दिन्छन्।

जनताको लागि काम गनर्छु  भन्नेहरुले आफले पनि जनतासरह काम गरेर कामाइ गर्नुपर्ने उनका भनाइ छ। कुराले र भाषणले मात्रै समृद्धि नहुने उनको बुझाइ छ। ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपालटारबाट ग्रामीण विकास विषयमा मास्टर डिग्रीसम्मको अध्ययन गरेका बुढाथोकी पेसाले पर्यटन गाइडसमेत हुन्। उनले काठमाडौंमा रहँदा चाइनिज भाषाबाट पर्यटकहरूलाई गाइडसमेत गरेका थिए।

गाउँका युवामा राम्रो छाप

राजनीतिमा चासो राख्ने भएकै कारण सानै उमेरमा पार्टीले जिम्वेवारी दिएका कारण उनी राजनीतिमा पूर्णकालीन भएको बताउँछन्। विदेशमा गएर बगाउने पसिना यहीँ बगाए समृद्ध बन्न सकिने  उनको बुझाइ छ। आफू कृषि उद्धमी बनेपछि गाउँमा राम्रो  छाप परेको र अरू युवा पनि कृषिमा लागेको  उनले  बताए।

उनले गाउँकै सहकारीबाट ५ लाखभन्दा बढी र परिवारको तर्फबाट ५ लाख लगानी गरी पेसा अँगालेका  बताए। उनले बाखालाई घाँसको लागि आफ्नो ५ रोपनी जग्गा र भाडामा  ३० रोपनी लिएको सुनाए।

लिनै सकिएन सरकारी अनुदान

३५ रोपनी जग्गामा मेन्दोलो, किब्बु, नेपोलियन, भटमास लगायतका घाँस लगाएका छन्। राज्यले दिने कृषि अनुदानका लिन नसकेको उनले सुनाए। उनले भने, 'हामी जत्तिका मान्छेले त सरकारी अनुदान लिन सक्दा रहेनछौं सर्वसाधारणको त कुरै नगरौं।'

कतिपटक पहल गरे पनि कृषि अनुदान लिन नसकिएको उनले बताए। आफूले लिन नसके पनि अरूलाई दिलाउनका लागि पहल गर्दासमेत केही गर्न नसकिएको उनले अनुभव सुनाए।

निर्वाचित भएसँगै मौरीपालन

बुढाथोकी निर्वाचित भएसँगै मातामारुती मौरीपालन केन्द्रको नाममा मौरीपालन सुरु गरे। उनले ३० घार मौरीबाट सुरु गरेका  मौरीपालन पछिल्लो समय फष्टाउँदै  गएको बताउँछन्। सुरुमा मौरीबाट व्यवसाय सुरु गरेका उनले गत फागुनदेखि बाख्रा फारम खोलेका छन्। दुईवटा बोयर जातका बोका र बाख्रासहित उनको कृषिफर्ममा अहिले ४५० बढी बाख्रा छन्।

बुढाथोकी ओखलढुंगाको पश्चिमी क्षेत्रका युवा पुस्तालाई प्रेरणाको स्रोत बनेका छन्। अहिले उनको प्रेरणाबाट चम्पादेवी गाउँपालिका-१० का दुई दर्जन बढी युवाहरू व्‍यावसायिक कृषि पेसामा लागेका छन्।

बुढाथोकी जिल्लाकै उदाहरणीय वडा अध्यक्षका रूपमा चिनिएका छन्। उनले आफ्नो पारिश्रमिकबापत आउने बैठक भत्तासमेत आफूले नबुझी सामजिक काममा प्रयोग गरेका छन्। उनले आफ्नो जन्म दिनमा एकल महिला तथा बृद्धहरुलाई सहयोग गरेका छन् भने विद्यालयहरूमा विद्यार्थीका लागि शैक्षिक सामग्रीसमेत हस्तान्तरण गर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.