सत्यनिरुपण र बेपत्तामा सहमति खोजिँदै

|

काठमाडौं : सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता खोजबिन आयोग गठनबारेमा दुई दलका तीन ठूला नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बैठक बसेको छ। 

दुवै आयोगका पदाधिकारी तथा सदस्य नियुक्ति तथा संसदमा अड्किएको कानुनको टुंगोका लागि प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संवाद भएको छ।

यी दुवै आयोगमा पदाधिकारी नियुक्तिका लागि यसअघि नै संयोजक समिति गठन गरिएको छ। समितिले अझैसम्म कसलाई नियुक्त गर्ने भन्‍ने टुंगो लगाउन सकेको छैन।

दुई आयोगका अध्यक्षका लागि गोविन्द बन्दीसहितको नाममा चर्चा भए पनि शीर्षीहरुबीच सहमति जुटेको छैन। यसबारे दलहरूबीच निर्णायक छलफल अभावले दुवै आयोग गठन लम्बिएको छ। 

संसदमा अड्किएका विधेयकलाई छिटो अघि बढाउनुबारे तीन नेताहरुबीच छलफल भएको छ। संवैधानिक परिषद्‍ बैठकका यी विषयमा पनि छलफल भएको बैठकमा सहभागी एक नेताले बताए। 

संवैधानिक परिषदमा संवैधानिक आयोगमा नियुक्तिबारे छलफल हुने सम्भावना छ। दलित र महिला आयोग लगायतमा पदाधिकारी नियुक्तिको काम पनि बाँकी नै छ।  

नेकपा स्थायी समिति सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले उक्त भेट सत्ता र प्रतिपक्षको नियमित भएको बताए।

यी दुई आयोगमा पदाधिकारी नियुक्त नगरिँदा युरोपियनसहित पश्चिमा शक्तिहरुले सरकारमाथि दबाब बढाइरहेका छन्। उनीहरुले संक्रमणकालीन न्यायको प्रक्रिया राम्ररी टुंग्याउन सरकार चुकेको भन्दै आलोचना गरिहरहेका बेला तीन नेता जुटेका हुन्। 

यी दुई आयोग गठनबारे प्रचण्ड र देउवाबीच ललितपुरको समिट होटलमा पटक पटक छलफल भएको थियो। तर दुई दलबीच अझै सहमति नजुट्दा पीडितहरुले न्यायको आशा मार्दै गएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.