तपश्विनी भन्छिन् : ध्यानमा बस्दा मलाई बाघ, भालु र चितुवाले हेरिरहन्थे

|

म्याग्दी  : मानव बस्तीदेखि करिब आधा घण्टाको उकालो उक्लिएपछि घनाजंगलको पूर्वतर्फ अक्करेभीरको टुप्पोमा चिटिक्क परेको मन्दिर छ। मन्दिरको अगाडिपट्टि चट्टानको माथि पानीको कुवा, धुपी सल्लाका सर्लक्क परेका रूख र ती रूखको बीचमा ग्रामीण शैलीको ढुंगाले छाएका २ एउटा परम्परागत घर छन्।

अनकन्टार ठाउँ र घना जंगलको पूर्वपट्टी अग्लो डाँडोमा बनेको एउटा ग्रामीण शैलीको घरमा एकजना अन्दाजी ६०/६५ वर्षकी गेरु वस्त्रधारी महिला एक्लै तपस्या र ध्यान गरी बसेकी छन्।

दिउँसै बाघ, भालु, चितुवा लगायतका जंगली जनावरहरुको ओहोरदोहोर भइरहने त्यस ठाउँमा निर्भयपूर्वक अर्धलोचन मुद्रामा ध्यानमा मस्त तपस्विनी हुन् ईश्वरानन्द सरस्वती। र, ठाउँ हो म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको स्वर्गाश्रम।

स्वर्गाश्रम, नामले नै यस ठाउँको सांकेतिक अर्थ दिएको छ। पटकपटक स्वर्गाश्रममा पुगेका म्याग्दीका पत्रकार हरिकृष्ण गौतमका अनुसार यस ठाउँको महत्व र गरिमा बुझ्नका लागि प्राचीन ऋषि, महर्षिहरुको तपविधि र एकान्तवासको रहस्य बुझ्न आवश्यक हुन्छ।

पर्यटक लोभ्याउने सम्भावना

स्वर्गाश्रम प्राचीनकालदेखि सुरक्षित म्याग्दीको एउटा आध्यात्मिक सम्पदा रहेको र प्रचारप्रसार र आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सक्ने हो भने यो ठाउँ आध्यात्मिक चिन्तन तथा  सौन्दर्यावलोकनका लागि पर्यटकलाई लोभ्याउन सक्ने जिल्लाकै उत्कृष्ट स्थान बन्न सक्ने तपस्विनी ईश्वरानन्द सरस्वतीले बताइन्।

पहिलो पटक २०४३ सालमा  २५/३० वर्षको उमेरमा जंगलको बाटो हुँदै स्वर्गाश्रममा आई स्वर्गाश्रम नजिकको ओढारमा १२ वर्षसम्म कठोर तपस्या गरेपछि सिद्धिप्राप्त गरेर देवघाट गई बसेकी ईश्वरानन्द सरस्वती पुनः स्वर्गाश्रममा आएकी छन्।

मृत्युपछि स्वर्ग पुग्‍ने लौकिक धाम

‘स्वर्गाश्रम दैविक गुणले युक्त,प्राकृतिक सम्पदाले सुशोभित अत्यन्त दुर्लभ स्थान भएकोले म पुनः यहाँ आएर तप,ध्यान र आध्यात्मिक चिन्तनमा लागेकी हुँ' तपस्विनी ईश्वरानन्द सरस्वतीले भनिन्, ‘यहाँको महिमा वर्णन गरी साध्य छैन, यो मृत्युपछि स्वर्ग पुग्ने लौकिक धाम हो।' उनका अनुसार स्वर्गाश्रम आध्यात्मिक चिन्तनका लागि दुर्लभ ठाउँ हो।

तपस्विनी सरस्वतीका अनुसार वेद पुराणहरुमा वर्णन गरिएअनुसार हिमालय पर्वतको नजिक स्वर्गाश्रमहरु रहेका छन्। तीमध्ये एक भकिम्लीको स्वर्गाश्रम पनि हो।

ध्यान मुद्रामा बाघ, भालु र चितुवाले हेरिरहन्थे

‘पहिला यस ठाउँमा घनाजंगल थियो। जंगली जनावरहरुको आश्रयस्थल थियो, तपश्विनी सरस्वतीले भनिन् ‘म ध्यान मुद्रामा हुँदा बाघ, भालु र चितुवाहरुले मलाई हेरिरहन्थे, सानो ओढारमा म बसेकी थिएँ, पछि जंगलमा घाँस दाउरा गर्न आएका गाउँलेले थाहा पाएर मलाई सुरक्षित रूपमा ध्यान गर्नका लागि कुटी (घर) बनाइदिएका हुन्।

स्थानीयले बनाइदिएको कुटीलाई अहिले भकिम्लेली जनताले खानेपानी, बिजुली आदिले सुविधायुक्त बनाइदिएका छन्। बेनी नगरपालिका ३ भकिम्लीका वडाअध्यक्ष पदम पुनले आफ्नो प्राथमिकतामा आध्यात्मिक आस्थाको स्थल स्वर्गाश्रम र पर्यटकीय सम्‍भावनाले युक्त बेलढुङ्गा रहेका बताए।

जिल्लाकै अनमोल सम्पदा

अध्यक्ष पुनले भने, ‘स्वर्गाश्रम भकिम्लीका लागि मात्रै नभएर समग्र म्याग्दी जिल्लाकै अनमोल आध्यात्मिक सम्पदा हो, यसको संरक्षण र प्रचारप्रसार गरी महत्व उजागर गर्नु जिल्लावासीको दायित्व हो।

समय समयमा यहाँ विभिन्न ठाउँहरुबाट आध्यात्मिक व्यक्तित्वहरु आउने गरेका, उनीहरू केही दिन बसेर तप साधना गरी फर्किने गरेका अध्यक्ष पुनले बताए। अध्यक्ष पुनले भने, ‘हामीलाई जानकारी नै हुँदैन, कहाँबाट आउनुहुन्छ अनि कहाँ जानुहुन्छ।'

तपमा बसेपछि सबै चिज पूरा हुन्छ

निर्जन वनको एकान्त स्थानमा आएर तप गरी फर्किने व्यक्ति साधारण हुन नसक्ने स्थानीयको भनाइ छ। हाल तपमा बसेकी तपस्विनी सरस्वतीले पनि आफूलाई आवश्यक पर्ने कुराहरुको जोहो गरेर आफू नआएको बताउँदै यहाँ बसेपछि स्वतः आवश्यक पर्ने चिजहरु आउने गरेको बताइन्।

उनले भनिन् ‘मैले कसैलाई पनि मलाई यो चाहियो भनेर भन्दिनँ, उनीहरुले आफैं कसरी थाहा पाउँछन् र मलाई आवश्यक परेको चिज ल्याइदिन्छन् म आँफै छक्कै परेकी छु।'

प्रचारप्रसार र संरक्षणका लागि समिति

यस्तो आध्यात्मिक सम्पदाको संरक्षण र प्रचारप्रसारका लागि अहिले स्थानीयले निकै चासो देखाएका छन्। स्वर्गाश्रमलाई व्यवस्थित बनाई संरक्षण र प्रचारप्रसार गर्नका लागि स्वर्गाश्रम धाम विकास समितिसमेत गठन गरिएको छ। वडा कार्यालयले पनि स्वर्गाश्रमको महत्वलाई उजागर गर्न समयसमयमा विभिन्न किसीमका कार्यक्रमहरु गर्ने गरेको स्वर्गाश्रम धाम  विकास समितिका अध्यक्ष रत्न जिसीले बताए।

अध्यक्ष जिसीका अनुसार अहिले वडा कार्यालयको पहलमा स्वर्गाश्रमदेखि करिब २ सय मिटरको  दूरीसम्म मोटरबाटो पुगेको छ। स्वर्गाश्रम मन्दिरमा खानेपानीको पहुँच छ। बिजुली बत्ती पुर्‍याइको छ। यसको महत्वलाई बढाउन केही समयका लागि तपस्विनी ईश्वरानन्द सरस्वतीलाई यहाँ बोलाइएको हो।

महिमा बुझाउन सरोकारवालालाई स्थलगत अनुगमन

आध्यात्मिक र पर्यटकीय सम्भावनाले युक्त स्वर्गाश्रम र स्वर्गाश्रमदेखि केही दूरीमा रहेको बेलढुङ्गाको महिमा बुझाउन र पर्यटकीय सम्भावनाको उजागर गर्ने उद्धेश्यले केही समयअघि स्थलगत अनुगमन गरिएको थियो।

स्वर्गाश्रम ब्यवस्थापन समिति र बेनपा–३ को वडा कार्यालयको आयोजना तथा बेनी नगरपालिकाको पहलमा स्वर्गाश्रम मन्दिरमा औपचारिक कार्यक्रमसमेत आयोजना गरियो। गण्डकी प्रदेशका सांसद विनोद केसीले जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार र विकासमा ध्यान दिनुपर्ने बताएका थिए।

उनले जिल्लामा रहेका ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको दिगो विकास गरी आन्तरिक एवं बाह्य पर्यटकहरू भित्र्याउन सकिने बताउँदै धार्मिक र पर्यटकीय क्षेत्रको विकासका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धतासमेत जनाएका थिए।

स्थलगत अनुगमन तथा निरीक्षणमा तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षक, बेनी नगरपालिकाका उपमेयर, सञ्‍चारकर्मीलगायत सरोकारवालाहरुको सहभागितासमेत रहेको थियो।

रथयात्रासहित विशेष कार्यक्रम

स्वर्गाश्रमलाई चिनाउन र यसको प्रचारप्रसार गर्न स्थानीयले पहल गर्दै आएका छन्। यहाँका जनप्रतिनिधि, क्षेत्र विकास समिति र स्थानीयले गरेका प्रयासहरू मात्र यस ठाउँको महिमा उजागर गर्न पर्याप्त नभएका र यस ठाउँको आध्यात्मिक र पर्यटकीय महत्व विस्तारका लागि जिल्ला तहबाट नै पहल हुनुपर्ने स्थानीय बताउँछन्।

स्थानीयले हरेक वर्ष वैशाख १ गते नयाँ वर्षका दिन   रथयात्रासहित विशेष कार्यक्रम आयोजना गर्दै आएका छन्। ‘स्थानीयले आफ्नो क्षमता र वर्गले भ्याएसम्म यस

ठाउँको विकास र प्रचारप्रसार गर्न बाँकी राखेका छैनौं, क्षेत्र विकास समितिका अध्यक्ष जिसीले भने, ‘तर, हाम्रो प्रयासले मात्रै भएन, यो ठाउँ सामान्य पर्यटकीय सम्भावनाको ठाउँ मात्रै नभएर, आध्यात्मिक क्षेत्र पनि भएकोले यसलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चिनाउन आवश्यक छ।

सात तीर्थको एकै ठाउँबाट दर्शन

प्राकृतिक रुपमा अत्यन्त रमणीय, आध्यात्मिक आस्थाको केन्द्र, पर्यटकीय सम्भावनाले युक्त स्वर्गाश्रमको अर्को अद्धितीय विशेषता पनि रहेको स्वर्गाश्रम विकास समितिका अध्यक्ष जिसीले बताए।

जिसीका अनुसार यहाँबाट सातवटा तीर्थस्थलको दर्शन गर्न सकिन्छ। पवित्र कालीगण्डकी, महारानी थान, जगन्नाथ धाम, गलेश्वर धाम, मुक्तिनाथ, रिखार क्षेत्र र पौलस्त्य क्षेत्रको यहाँबाट दर्शन गर्न सकिन्छ।

तपस्विनी सरस्वतीका अनुसार एकैठाउँबाट सातवटा तीर्थस्थल दर्शन गर्न सकिने नेपालको एक मात्र ठाउँ स्वर्गाश्रम नै हो। स्वर्गाश्रमको ढोकाबाट पूर्वतर्फ सुन्दर बेनीबजारसँगै कालीगण्डकी, महारानी थान, उत्तरतर्फ गलेश्वरधाम, जगन्नाथधाम, मुक्ति क्षेत्रलगायतका तीर्थस्थलहरूको अवलोकन गर्न सकिने उनले बताए।

अपार पर्यटकीय सम्भावना

स्वर्गाश्रम केवल आध्यात्मिक महत्वले मात्रै होइन अपार पर्यटकीय सम्भावनाले पनि युक्त रहेको छ। बेनी- भकिम्ली- स्वर्गाश्रम मोटरबाटोलाई व्यवस्थित बनाएर त्यहाँसम्म सहज पहुँचको व्यवस्था गर्न सके सदरमुकाम बेनीबाट धेरै पर्यटकहरु त्यहाँ पुग्न सक्ने पर्यटन व्यवसायी बताउँछन्।

स्वर्गाश्रमबाट अन्नपूर्ण र धौलागिरि रेञ्जका प्रायः सम्पूर्ण हिमालहरु देख्‍न सकिन्छ। त्यसका साथै म्याग्दी, मुस्ताङ, वागलुङ र पर्वतका दुई दर्जनबढी गाउँ, चैत वैशाखमा राताम्यै फूलेका लालीगुराँस, विभिन्न किसिमका जडीबुटी र वन्यजन्तुहरुको अवलोकन गर्न सकिने वडाअध्यक्ष पुनले बताए।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.