कोसी र नारायणीमा पानी जहाज चल्छन्

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले काम भन्दा कुरा काट्नेहरुको जमातलाई सुधार्नुपर्ने बताएका छन्। 

सिस्नेरी–नागढुंगा सुरुङमार्गको सोमबार चन्द्रागिरि नगरपालिका स्थित टोटेपाखामा शिलान्यास गरेपछि सम्बोधन गर्दै ओलीले सरकारले काम गरिरहे पनि एउटा जमात कुरा काट्न लागिरहेको बताए। 

‘हामीमाझकाम नगर्ने अनि कुरा काटेर मात्रै बस्नेहरुको जमात छ’, उनले भने, ‘उनीहरुलाई कुरा काट्ने होइन, काम गर्ने बनाउनुछ।’

विस्तारका क्रममा अलपत्र कलंकी–नागढुंगा सडकखण्ड अब बनिसकेको बताउँदै गीत गाउने बहाना सकिएको उल्लेख गरे। ‘धेरै वर्षदेखि गीत थियो, कलंकी–थानकोट–नागढुंगा सडक बनेन भनेर’, उनले भने, ‘अब यो सडक पनि तयार भएको छ, गीत गाउनेहरुको बहाना यहाँ पनि सकियो।’ 

प्रम ओलीले सम्बोधनका क्रममा यो वर्ष १६ सय किलोमिटर सडक बनिसकेको बताउँदै अब सरकारले चार लेन र ६ लेनका मात्रै सडक बनाउने उल्लेख गरे।

उनले अब नागढुंगाबाट सुरुङ खोलेर पाँच मिनेटमै चित्लाङ पुर्‍याउने दाबी गरे। ‘हामीले यो वर्ष ४३ पुलहरु बनाएका छौँ। अढाई तीन सय झोलुङ्गे पुल बने। १२४ वटा तुइनहरु विस्थापित गरिए’, उनले भने, ‘काठमाडौँबाट कलकत्ता ७-८ सय किलोमिटर पानीजहाज चल्छन्। डेढ सय किलोमिटर बाटोमा मात्र गाडीमा सामान ल्याउनुपर्छ।’ 

प्रम ओलीले काठमाडौंका सडकका पेटीमा अब माग्ने नदेखिने दाबी गरे। ‘अब सडकमा बालबालिका पनि हुँदैनन्। पानीजहाजका कुरा गर्दा मान्छेले उडाए’, उनले भने, ‘पहिले भोजपुर पुग्न चार घण्टा लाग्थ्यो। अहिले सुनसरीबाट पानीजहाज २० मिनेटमै पुगेर आउँछ। एकछिनमै पुग्छ, एकछिनमै आउँछ।’

नारायणीमा २०० जना अट्ने स्टिमर बनिरहेको बताउँदै सरकारले देखाएको सपनालाई युवाहरुले विपनामा परिणत गरेको भन्दै खुसी व्यक्त गरे। ‘सकारले पानीको बाटोको कुरा गरेपछि युवाहरु उत्साहित भए। कोसी र नारायणीमा साना जहाजहरु चल्न थालेका छन्।’

ओलीले सुरुङमार्गको काम ठकेदारले समयमा सक्नुपर्ने पनि बताए । ‘ठेकेदारले समयमा काम सकेर जिम्मा नदिने क्रम हट्नुपर्छ’, उनले भने, ‘जापानीहरु समयमा काम गर्छन्। यो हामी कसैको निजी सुरुङ होइन, यो सबैको हो। त्यसैले यो तोकिएको समयमै निर्माण पुरा हुनुपर्छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.