खुसी हुन थालेको श्रेष्ठ परिवारमा बज्रपात

|
पाकिस्तानी सेनासँगको भिडन्तमा मारिएका गमिल श्रेष्ठ

पाल्पा  : रामपुर नगरपालिका-४ सदावर्तका रुद्रनारायण श्रेष्ठ साउदी अरबमा दशक बिताएर फर्किएको तीन वर्ष बितिसकेछ। 

स्वास्थ्यअवस्था र उमेरले साथ दिँदासम्म विदेश बसेका उनी काम गर्न नसक्ने भएपछि घर फर्किएका थिए। खाडीमा बसेर परिवार पाल्दै आएका रुद्रनारायणलाई घरमै बस्न थालेपछि घरखर्च चलाउने चिन्ताले पिरोलेको थियो। उनका छोरा पढ्दै थिए। धर्मपत्नी सीता श्रेष्ठ घरायसी काममा सीमित थिइन्। 

यो परिवारमा विगत २७ महिनादेखि खुसियाली छाएको थियो। रुद्रनारायणका छोरा गमिलले कक्षा १२ बाटै पढाई छाडे। त्यसको कारण थियो, घरखर्च पुर्‍याउन धौधौ। 

पढाई छाडेपछि उनी रोजगारीका लागि निकै भौतारिए। संजोगले परिवारका कान्छो छोरा गमिल भारतीय सेनामा भर्ती भए। भाइ भारतीय सेनामा भर्ती भएपछि उनका दाजु गणेश वैदेशिक रोजगारका लागि यूएइ (दुबई) गए। 

त्यसैले यो परिवारमा पछिल्लो एक वर्ष निकै खुसियाली छाएको थियो। अब बढ्दै गएको साहुको ऋण तिर्न सजिलो र परिवारका सदस्य पाल्न समस्या नहुने आशामा  सिंगो परिवार थियो।

गाउँमा इमानदार मानिने गमिल भारतीय सेनामा लागेपछि गत वैशाखमा घर आएका थिए। इमानपूर्वक जागिर खाने कसम खाएका उनले १५ दिने छुट्टीमा आउँदा पञ्चावली पूजा गरे। भर्ती हुन पाऊँ भन्दै गरेको भाकल पूरा भएपछि उनले पञ्चवली पूजा गरेका थिए। 

खुसीसाथ रमाएका बाबुआमाले उतिबेलै उनलाई विवाह गर्न प्रस्ताव गरेका थिए। तर गमिलले अर्को वर्ष विवाह गर्ने प्रतिक्रिया दिए। एउटा छोरो भारतीय सेनामा, अर्को विदेश त्यसैले घरमा खुसी बढ्दो थियो।

तर त्यो खुसी धेरै समय टिक्न सकेन। दैवको लीला कम्पनी गतिलो नपरेपछि दाजु गणेश दुबईबाट फर्किए। गएको एक वर्षमै घर फर्किएका उनले जाँदा लागेको ऋणसमेत तिर्न सकेका छैनन्। 

कम्पनी भनेजस्तो नहुँदा काम निकै अप्ठ्यारो परेको कुरा उनले भाइलाई सुनाएका थिए। दाजुको दुःखमा साथ दिन खोजेका भाइले घर फर्किन भने।

‘उनीहरुबीच तिहारमा भेट हुने सल्लाह पनि भएको थियो’, गमिलका साथी सन्तोष गैरेले भने, ‘तर घर आउने बेला कश्मिरमा गमिलको मृत्युले सिंगो परिवार भावविह्वल बनेको छ।’

२४ वर्षीय गमिलको पाकिस्तानी सेनासँग कश्मीरमा भएको भिडन्तपछि शनिबार मृत्यु भएको हो। पैसा कमाएर परिवारलाई सुखी बनाउने उद्धेश्य बोकेर भारतीय सेनामा पुगेका छोराको मृत्युले परिवार विक्षिप्त बनेको छ। गमिलको परिवारमा ९६ वार्षीय हजुरबुवा, हजुरआमा, दाजु, भाउजु र बुवाआमा छन्।

‘कान्छाले कमाएर आफूहरुलाई पाल्ने अपेक्षमा मनभरी खुसी बटुलेर बसेका बुवाआमा अहिले त्यही छोराको शव लिन भारत गएका छन्’, छिमेकीसमेत रहेकी रामपुर नगरपालिकाकी उपप्रमुख विष्णुदेवी आचार्यले भनिन्, ‘अचानकको दुःखद खबरले सिंगो गाउँ नै अहिले स्तब्ध छ।’

सामान्य कृषक परिवारमा परेको बज्रपातले आफुलाई निकै दुःख लागेको उनले बताइन्। ‘बुवा काम गर्न सक्नुहुन्न, जेठो छोरा काम गर्न नसकेर विदेशबाट फर्किएको एक महिना भएको छैन’, उनले भनिन्, ‘यस्तो अवस्थामा घरको खुसीको त्यान्द्रो कान्छो छोराको मृत्यु भयो। यो भन्दा दुःखद के हुन सक्छ?’

उनका अनुसार रुद्रनारायणले साउदीमा बसेर कमाएको पैसाले जेनतेन घर बनाएका छन्। छोरालाई भर्ती गराउन र विदेश पठाउन ल्याएको ऋण तिर्न बाँकी नै छ। अहिले उनी काम गर्न सक्दैनन्।

‘गरिबीले विदेशमा जानुपर्ने बाध्यता’, उनले भनिन्, ‘सम्पत्ति कमाएर आउँछकी भको छोराको घरमा शव आउनु जस्तो दुःखद अवस्था के हुनसक्छ?’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.