|

दाङ : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले सरकारका कामले जनतामा उत्साह जगाएको बताए।

सोमबार दंगीशरण गाउँपालिका ३ र ६ नम्बर वडालाई जोड्ने पुल उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले प्रदेश सरकारले अघि सारेको समृद्विको यात्रा नरोकिने बताए। उनले दुई तिहाइको सरकारले छोटो समयमै उल्लेखनीय काम गरेको दाबी गरे। लामो समयसम्म वन्न नसकेका पुल, बाटो र विभिन्न आयोजनाहरू वर्तमान सरकारले पूरा गर्दै लगेको समेत दाबी बताए।

'प्रदेश ५ ले कुल ग्राहस्थ उत्पादनको ७/७ प्रतिशत वृद्विदर हासिल गर्न सक्नु समृद्विको यात्रातर्फ उन्मुख हुनु हो', उनले भने। संविधान सभा निर्माणपूर्व नेपालको कुल ग्राहस्थ उत्पादन ४ प्रतिशत रहेको र संघीयता कार्यान्वयन भएसँगै ७ प्रतिशतनजिक पुग्नु नेपाल समृद्विको बाटोमा पुगेको गतिलो उदाहरण भएको मुख्यमन्त्री पोख्रेलले बताए।

७ वटै प्रदेशमध्ये प्रदेश ५ ले जनताको सहयोग र साथले विकास निर्माणका कार्यमा सबैभन्दा बढी रकम खर्चन सकेको समेत बताए। ‘जनतामा विपक्षीले निराशाको प्रचार फैलाए पनि निराशा हुनुपर्ने कुनै कारण छैन’, मुख्यमन्त्री पोख्रेलले भने। पश्चिम दाङ विगतमा विकासले पछाडि पारिएको क्षेत्रका रुपमा हेर्ने गरेता पनि वर्तमान अवस्थामा भने विकास निर्माणका कार्यले गति ल्याएको उनले बताए।

पश्चिम दाङ तुलसीपुर सुर्खेत सडकखण्ड कालोपत्र कार्य २ वषर्भित्र सम्पन्न हुने र त्यसपछि कर्णाली प्रदेशको प्रवेशद्वारका रुपमा पश्चिम दाङको विकास हुने समेत बताए। थारु राजा दंगीशरणलाई आजको पुस्तासम्म चिनाउनका लागि प्रदेश सरकारले दंगीशरणको सालिक निर्माण गर्ने तयारी भइरहेको समेत बताए। दाङ जिल्लाको दक्षिण क्षेत्रलाई मध्यनजर गर्दै दामोदर मार्गमा सडक कालोपत्र गर्ने काम प्रदेश सरकारले सुरु गरेको बताए।

प्रदेश सरकारले गत वर्ष दामोदर मार्गका लागि ५ करोड विनियोजन गरेको थियो भने यस वर्ष १० करोड बजेट बिनियोजन गरेको मुख्यमन्त्री पोख्रेलले बताए। समयमै निर्माण कार्य सम्पन्न गर्ने निर्माण व्यवसायीलाई राज्यले पुरस्कृत गर्ने कामको सुरुवात भएको समेत बताए।

४ करोड ८० लाखको लागतमा पुल निर्माण कार्य सम्पन्न भएको हो। दामोदर मार्गअन्तर्गत पुल निर्माण भएसँगै दंगीशरण र बबई गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका ६ हजार बढी जनसंख्या प्रत्यक्ष लाभान्वित हुने भएका छन्।

२०७३ सालमा सम्झौता भएको पुल २ वर्षमा निर्माण कार्य सम्पन्न भएको थियो। जग्गा विवाद, निर्माण सामग्रीको अभाव र पूर्वाधार विकास कार्यालयबाट समयमै रकम भुक्तानी हुन नसक्दा एक वर्ष ढिला सम्पन्न भएको पूर्वाधार विकास कार्यालय दाङका इन्जिनियर चन्द्रबहादुर शाहले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.