|

इलाम : नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सरकारले घोषणा गरेको १०० गन्तव्यमध्येको एक श्रीअन्तुमा खानेपानी समस्या भएको छ। झुल्केघामसँगै हरियो चिया बगान र कञ्चनजंघाको दृश्यावलोकनका लागि प्रख्यात मानिएको अन्तुमा पर्यटकको चाप बढेसँगै खानेपानीको समस्या समेत बढ्दो छ। 

यस क्षेत्रमा दिनहुँ सयौं पर्यटकको आगमन भइरहेका छ। पछिल्लो समय अन्तुका होटल र होमस्टेहरु थपिने क्रम बढेको स्थानीय व्यवसायी खगराज घिमिरे बताउँछन्। अन्तुडाँडाको भ्युटावर क्षेत्र र अन्तु पोखरी क्षेत्रमा खानेपानी हाहाकार भएको छ। अन्तु पर्यटकीय क्षेत्रमा पानी आपूर्तिका लागि अन्तु खानेपानी आयोजना सञ्चालनमा आए पनि पुरानो संरचनाको मर्मत नभएकाले होटल तथा होमस्टेहरुमा पानी अभाव भएको हो।

पर्यटक आउने क्रम बढ्दो रहे पनि पानी अभाव भएपछि व्यवसायीले पर्यटकका लागि प्याकिङमा आएको बोतलको खानेपानी प्रयोग गरिएको र शौचालय प्रयोगका लागि ट्याङ्करमा पानी ओसार्दै आएका छन्। पर्यटकहरुका लागि प्रतिलिटर एक रुपैयाँका दरले खानेपानी खरिद गर्दै आएका छन्। अन्तु खानेपानीको संरचना पुरानो भएकाले धारामा पानी नआउने भएपछि केही होटल व्यवसायीले निजी बारीका धनीसँग मासिक भाडामा लिएर सिममा कुवा बनाई प्रयोग गर्दै आएको थ्री सिक्स्टी होटल क्याम्प फायरका प्रोपाइटर प्रज्वल प्रधानले बताउँछन्।  अन्तु पोखरी वरिपरिका होटल तथा होमस्टे सञ्चालकले नजिकैको सिमबाट मोटरको सहयोगमा पानी तानेर प्रयोग गर्न थालेका हुन्। पर्यटकको चाप बढ्दै गएपछि अन्तुको भञ्ज्याङ्ग क्षेत्रमा पनि पानीको समस्या सुरु भएको अन्तु पर्यटन विकास केन्द्रका अध्यक्ष धनकुमार आलेले बताए। 

अन्तुको भ्यु टावर क्षेत्रमा पानीको मुहान नरहेका कारण त्यहाँ रहेको शौचालय प्रयोग गर्दा पर्यटकले ‘मिनरल वाटर’ नै प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ। भ्यु टावर क्षेत्रमा पानी पुर्‍याउनका लागि पम्पिङ्ग खानेपानी योजना सञ्चालनको काम सुरु गर्न लागिए पनि बजेट अभावले रोकिएको पर्यटन विकास केन्द्रको भनाइ रहेको छ। खेतीयोग्य जमिन चिया बगानले भरिएको अन्तुका स–सना खोल्सामा पानीका मुहान रहे पनि पुरै अन्तु क्षेत्रलाई खानेपानी पु¥याउन आयोजना सञ्चलान हुन सक्ने मुहानको खोजी भइरहेको स्थानीय बताउँछन्।

अन्तुमा पर्यटकीय सिजन सुरु नभए पनि नियमित दैनिक ३०० भन्दा बढी नेपाल र भारतका पर्यटक पुग्ने गरेका छन्। असोज, कात्तिक, मंसिर, चैत्र र बैशाख पर्यटकीय सिजन मानिने अन्तु क्षेत्रमा सिजनका बेला दैनिक सात हजारसम्म पर्यटक पुग्ने गरेका छन्। पर्यटकलाई बस्न र खानका लागि अन्तु सामुदायीक होमस्टेमा आवद्ध ४४ वटा होमस्टे र दर्जनभन्दा बढी होटल, लज र कटेज सञ्चालनमा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.