|

पर्वत : ‘पैसा छैन बाबु, दशैंमा टीकोटालो गर्न छिमेकीसँग ऋण काढेर चलाएँ। अब तिहारमा बहिनीलाई टीका लगाउने पैसा छैन,’ पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरी कुँडापानीका ८८ वर्षीय कमल पौडेलले भने, ‘भत्ता दिन्छन् कि भनेर वडामा आएको हुँ। वडाध्यक्षले वडाबाट दिन मिलेन कुस्मा गएर बैंकमा खाताबाट निकाल्नुहोस् भन्नुभएको छ।’ 

कमलको घरबाट वडा कार्यालयमा पुग्न आधा घण्टाको बाटो हो। चिप्लो बाटोमा कुप्रो परेको शरीरलाई जसोतसो धान्दै डेढ घण्टा लगाएर उनी वडामा पुगे। भत्ता पाउने आशामा वडामा पुगेका उनले भत्ता नपाउँदा निराश भए। 

शंकरपोखरी रुग्दीकी ७५ वर्षीया कुन्तीकुमारी उपाध्याय पनि भत्ताकै आसामा वडा कार्यालयमा पुगेकी थिइन्। वडाबाट भत्ता नपाउँदा सदरमुकाम पुगेर बैंकबाट भत्ता लिने तरिकाबारे नजाने र त्यहाँसम्म जान नसक्ने शारीरिक अवस्था रहेको उनले दुखेसो गरिन् ।

‘सक्तिन बाबु, म बजार गएर बैंक कहाँ छ ठम्याउन पनि सक्तिन। खुट्टामा पनि गति छैन,’ उनले भनिन्, ‘सुख पाइएला भनेर नेताहरूलाई भोट दिएको हो। नेताले झन् दुःख दिए। अब बाँचेछु भने भोट दिन पनि जान्न।’

कतिपय वडामा सामाजिक सुरक्षा भत्ता वितरणको रकममा दुरुपयोग गरेको पाइएपछि वडाबाट भत्ता वितरण गर्ने काम रोकिएको छ। भत्ता लिनका लागि ज्येष्ठ नागरिक स्वयं अथवा उसले अधिकार प्रत्यायोजन गरेको व्यक्ति तोकिएको बैंकमा उपस्थित हुनुपर्ने प्रावधान राखिएको छ। 

फलेवास नगरपालिकाको हकमा गरिमा विकास बैंकले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ भने उसले सदरमुकाम कुस्मा बजार नगरपालिकाको कार्यालय रहेको फलेवास गरी दुई ठाउँबाट सेवा प्रवाह गरिरहेको छ। शंकरपोखरीका ज्येष्ठ नागरिकहरूलाई बैंकको फलेवास शाखामा पुग्न अपायक हो भने सिधा सवारी पनि लाग्दैनन्। यही कारण ज्येष्ठ नागरिकहरू गाडी चढेर सदरमुकाम पुग्नुपर्छ। 

ग्रामीण क्षेत्रबाट सदरमुकाम आउजाउ गर्ने जिपहरू सीमित भएकाले बस्ने ठाउँ नै हुँदैन। ती जिप पनि कति बेला जान्छ, कहाँबाट चढ्ने भन्ने पनि जानकारी नभएको ज्येष्ठ नागरिकहरुको गुनासो छ।

थरथर काँप्दै लौरी टेकेर भए पनि सदरमुकामको बैंकसम्म आइपुग्दा त्यहीँ पनि घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता छ। भत्ताका लागि आएका उनीहरू कोही बैंक रहेको भवनकै पेटीमा सुतिरहेका भेटिन्छन् त कोही सडकमा थचक्क बसेका हुन्छन्। 

शंकरपोखरीका वडाध्यक्ष अर्जुनबहादुर कार्कीले ज्येष्ठ नागरिकहरूलाई गाउँमा नै सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसक्नु विडम्बना भएको बताउँछन्। फलेवास नगरपालिकाले यसको व्यवस्थापनका लागि तीन दिनसम्म बैठक बसेर गाउँमा नै वितरण गर्ने वातावरण मिलाउन प्रयास गरेको भए पनि कोष तथा लेखा नियन्त्रण कार्यालयले निकासा नदिएकाले बैंकसम्मै धाउनुपर्ने बाध्यता रहेको कार्कीको भनाइ छ।

 ‘राज्यले ज्येष्ठ नागरिकलाई सम्मान गर्दै सामाजिक सुरक्षा भत्ता दिएर राम्रो काम त गरिरहेको छ,’ उनले भने, ‘भत्तासँगै उनीहरुलाई सजाय पनि दिएको छ। यो बुढेसकालमा लौरी टेकेर सदरमुकामका बैंकसम्म जानुहोस् भन्दा हाम्रो रोएको छ।’

सामाजिक सुरक्षा भत्ता वडाबाट दिँदा ज्येष्ठ नागरिकलाई सजिलो हुने भए पनि कतिपय ठाउँमा भएका अनियमितताका कारण वडाबाट भत्ता वितरण गर्न सक्ने अवस्था नरहेको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री  विकास लम्सालले बताए।

 ‘भत्ता वितरणलाई व्यवस्थित गर्न खोजिएको छ। साबिकका गाविसबाट बाँड्दा न त ज्येष्ठ नागरिकले पाउने न त सरकारको खातामा पैसा रहने अवस्था पनि देखियो,’ मन्त्री लम्सालले भने, ‘प्रदेश सरकारले बैंकहरूसँग सहकार्य गरेर वडामा कम्तीमा पनि बैंकको एउटा शाखा सञ्चालन गर्न पहल गरिरहेको छ। नेपाल सरकारले त एक स्थानीय तहमा एक बैंक भनेको छ, तर त्यत्तिले मात्र पुग्दैन।’ 

राज्यले हरेक कारोबारलाई बैंकिङ प्रणालीमा लैजान चाहेकोले हरेक नेपालीको बैंक खाता हुनुपर्ने तथा ज्येष्ठ नागरिकहरूले पनि बैंक खाताबाट नै पैसा निकाल्नुपर्ने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.