|

पर्वत : गाउँमा प्रहरी चौकी निर्माण गरी शान्ति सुरक्षा कायम गर्न भन्दै पर्वतको फलेवास नगरपालिका ९ भँगराका एक व्यक्तिले ३ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन्।

गाउँमा प्रहरी चौकी रहेमा गाउँघरमा हुने अपराधका घटनामा कमी आउने भएकोले प्रहरी बस्ने स्थायी भवन निर्माण गर्ने प्रयोजनको लागि स्थानीय ४१ वर्षीय मानबहादुर क्षेत्रीले झन्डै ५ लाख मूल्य आकलन गरिएको जग्गा उपलब्ध गराएका हुन्। क्षेत्रीले उक्त जग्गाको लालपुर्जा जग्गा उपलब्ध गराउन पहल गरेका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख, प्रहरी नायव उपरीक्षक श्यामु अर्याललाई हस्तान्तरण गरेका छन्।

प्रहरीलाई लालपुर्जा उपलब्ध गराउँदै मानबहादुरले समाजमा शान्ति सुरक्षाको प्रत्याभूतिको लागि प्रहरीको भूमिका अहम् रहने बताए। ‘समाजमा शान्ति स्थापना गर्न प्रहरीबिना त कल्पना नै गर्न सकिँदैन’ उनले भने, ‘अनि हाम्रै सुरक्षामा खटिने प्रहरी बस्ने स्थायी भवन नभएर भाडाको घरमा दुःखका साथ बस्नुपरेको छ। यसलाई मैले मेरो दायित्वको रूपमा लिएँ र निःशुल्क जग्गा दिएँ।’

लालपुर्जा ग्रहण गर्दै डिएसपी अर्यालले मानबहादुरको सहयोगले समुदाय र प्रहरीको अन्तर सम्बन्धसमेत प्रस्ट भएको बताउँदै यस्ता सहयोगले प्रहरीलाई समाजको हितमा काम गर्न थप मनोबल मिल्ने बताए। ‘मानबहादुरजीको यो सहयोगले हामीलाई समाजप्रति र नागरिकप्रति अझै बफादार बन्न प्रेरणा दिएको छ’ उनले भने, ‘उहाँप्रति विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु, आम नागरिकबाट पनि प्रहरीलाई यसरी नै सकारात्मक रूपमा लिँदै सहयोग गर्न आह्वान गर्दछु।’

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले समुदाय प्रहरी साझेदारी अन्तर्गत विभिन्न कार्यक्रमहरूको आयोजना गरिरहँदा नागरिकले प्रहरीप्रति देखाउने व्यवहारमा परिवर्तन आएको बताए। प्रहरीलाई दण्ड दिने निकायका रूपमा मात्र हेर्ने चलन रहेकोमा अहिले प्रहरीले नागरिककै लागि काम गर्ने रहेछन् भन्ने मानसिकताको विकास हुँदै गएको र काममा पनि सजिलो हुँदै गएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.