|

दाङ : तत्कालीन वेयष्टर्न डेभलपमेन्ट बैंक नारायणपुर शाखाबाट भएको १८ करोड रुपैयाँ हिनामिनामा बैंक सञ्चालक समितिका अध्यक्षसहित प्रमुख कार्यकारी अधिकृत र खातावाल गरी ५६ जनाबिरुद्ध बैंकिङ कसुरमा उच्च अदालत तुलसीपुरमा मुद्दा दायर भएको छ।

सरकारी वकिल कार्यालयले आइतबार बैंक सञ्चालक समितिका अध्यक्ष ओमभक्त बुढाथोकी, सञ्चालकहरू अर्जुन बुढाथोकी, वेगमबहादुर भण्डारी, शेषमणि गौतम, निर्मल देवकोटा विरुद्ध मुद्दा दायर गरिएको जिल्ला न्यायाधिबक्ता शुसिल देवकोटाले बताए।

त्यसैगरी बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) खिमबहादुर डिसी, नारायणपुर शाखा प्रमुख समिर बुढाथोकी, बैंकका कर्जा विभाग प्रमुख अनिलकुमार न्यौपाने, कर्जा सहायक पोषणराज जैसी, सहायक सिर्जना थापा र लेखापरिक्षक प्रेम भुर्तेलविरुद्ध पनि मुद्दा दायर भएको छ। अन्य ४३ जना खातावाल व्यक्तिहरू पनि रकम हिनामिनामा दोषी देखिएको प्रहरीले अनुसन्धानबाट प्रमाणहरू पनि सरकारी वकिल कार्यालयमा पेश गरेपछि उनीहरूविरुद्ध पनि मुद्दा दायर भएको छ।

सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको मुद्दामा १८ करोड ३ लाख ७२ हजारको दोब्वर विगोसहित जरिवाना र कम्तिमा ६ वर्ष कैद सजायको माग गरिएको छ। यसैबीच रकम अपचलनमा दोषी नरहेको भन्दै भदौ २७ गते पक्राउ परेका सूचना प्रविधि अधिकृत विनोद डिसी भने आइतबार छुटेका छन्। त्यसैगरी यस अघि निर्दोष देखिएर छुटेका बसन्त बुढाथोकी फेरि अनुसन्धानमा तानिएका छन्।

फरार रहेका अभियुक्तहरूलाई पक्राउका लागि अब उच्च अदालतले म्यादी पूर्जी जारी गर्ने छ। तत्कालीन वेयष्टर्न बैंक अहिले देबः विकास वैंकमा गाभिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.