|

म्याग्दी : हिमालपारिको जिल्ला मुस्ताङको 'ठिनी गाउँ' प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। त्यति मात्रै होइन, सांस्कृतिक सभ्यताले समेत यो ठाउँ उत्तिकै प्रसिद्ध छ।

चारैतिर दन्तेलहरजस्ता सेताम्मे हिमालको बीचमा छ ठिनी गाउँ। सदरमुकाम जोमसोम बजार नजिकै गुजुमुज्जु परेका घर भएका चिटिक्कको बस्ती ठिनी गाउँ थकाली सभ्यताको उद्गमस्थल मानिन्छ। घरपोझोङ गाउँपालिका-५ मा पर्ने थकालीबासीको सुन्दर बस्ती हो ठिनी।

हिमालको श्रीपेच लगाएको ठिनी गाउँबाट ढुम्वा ताल, हिउँचितुवा गुफा, भ्युटावर कुछप तेरेङ्गा गुम्बासँगै जोमसोम र कोरला नाकासम्मको सुन्दर दृश्य नियाल्न सकिने मुस्ताङको चार दिने भ्रमणबाट फर्केका म्याग्दीका पत्रकार निर्मल खत्री बताउँछन्।

प्राचीन थकाली जातिको संस्कृतिसमेत झल्किने ठिनी गाउँका स्थानीय अहिले पाहुनाको स्वागत गर्नमै व्यस्त छन्।

ठिनी गाउँको सुन्दरता 

ठिनीमा अहिले आन्तरिक तथा बाह‍्‍य पर्यटकको चाप बढेको छ। थकाली समुदायले सञ्चालन गरेको पहिलो होमस्टे ठिनी गाउँको हो। २०७४ बैशाखदेखि पाँच घरबाट संचालन भएको होमस्टे अहिले १५ घरमा पुगेको छ। सबै होमस्टेमा पालैपालो पाहुना राख्ने परम्परा रहेको थकाली होम स्टे संचालिका जुमा थकालीले बताइन्।

पहिला यहाँका गुफा, ताल, कुछप, तेरेङ्गा, गुम्वा लगायतका स्थल  हेर्न मात्र आउने पर्यटन आजभोलि सबै ठाउँ घुमेर एक रात बास बस्न ठिनी आउने गरेका छन्।

यस ठाउँमा आउने पर्यटकलाई आरामदायी बसाइँसँगै उनीहरुले थकाली जातिको सभ्यता, संस्कृति चार्ड पर्वबारेमा जानकारी दिने गरिएको थकालीको भनाइ छ।

पर्यटकको चहाना अनुसार थकालीको संस्कृति झल्कने प्रराम्परागत भेषभुषामा कला प्रदर्शन गरिन्छ। त्यति मात्रै होइन, ठिनीमा थकाली समुदायको प्राचीन संग्रहालय पनि यहाँ छ। थकाली गाउँको जीवनशैली, संस्कृति र इतिहास झल्काउने संग्रहालय पनि गाउँलेले स्थापना गरेका छन्।

२०७३ सालमा स्थापना गरिएको संग्रहालयमा थकाली जातिको जीवनशैलीलाई राम्रोसँग बुझ्न सकिने गण्डकी पर्यटन परिषदका सदस्यसमेत रहेका स्थानीय युवा निरज थकाली बताउँछन्।

थकाली समुदायमा पराम्परागत रुपमा प्रयोग गरिने भाँडा, भेषभुषा र जीवनशैलीलाई संग्रहालयमा उतारिएको संग्रहालयमा थकालीको सभ्यता अध्ययन गर्न पर्यटक आउने गरेको थकालीले बताए। संग्रहालयमा ६ सय वर्ष पहिला घरपझोङ्ग किला लडाइँमा राजा थोक्करचेनले प्रयोग गरेका भरुवा बन्दुक, तोपलगायतका सामग्री पनि राखिएको छ।

पछिल्लो समयमा ठिनी गाउँको होम स्टेमा बास बस्‍न आउने पर्यटकको संख्यामा बढिरहेको होम स्टे संचालिका आरती थकालीले बताइन। धादिङबाट ठिनीमा मुस्ताङ घुम्न आएकी पर्यटक शान्त्ति अधिकारीले यो अन्य ठाउँ भन्दा भिन्न शैली आरमदायी बसाइ र अर्ग्यानिक खानाका परिकार र यहाँको संस्कारले पाहुना बढेको बताइन्।

होटलको भन्दा फरक शैली र संस्कारले ठिनी गाउँको थकाली होम स्टेमा पर्यटकको संख्यामा दिनदिनै बढिरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.