जिल्लाबाट राहदानी नदिँदा सेवाग्राहीलाई सास्ती

|

काठमाडौंः  अमेरिकाले डिभी लोटरी भर्दा नयाँ र कडा प्रावधानसहित राहदानी अनिवार्य गरेपछि परराष्ट्र मन्त्रालयको राहदानी विभागमा यतिखेर  घुइँचो छ।

हरेक दिन विभागमा राहदानी बनाउनेको घुइँचो बढ्दै गएको छ। अघिल्लो वर्षभन्दा कडाइ गर्दै अमेरिकालले यस वर्ष डिभी चिट्ठा भर्नेका लागि कडा शर्तसहित राहदानी नम्बर हुनै पर्ने शर्त राखेको छ। यसको प्रभाव अहिले राहदानी विभागमा देखिएको हो।

राहदानी विभाग परिसरको लाइनमा उभिइरहेका थिए वीरगञ्जका जोगेन्द्रप्रसाद पटेल। उनले छोराका लागि राहदानी बनाउन लाइनमा उभिएको बताए। तर‚ उनलाई डिभी लाोटरीबारे उत्ति ज्ञान र चासाे पनि छैन।

पटेल लाइनमा बस्नुको एउटै कारण हो गरिबी र बेरोजगारको समस्या। उनका छोराका साथीले केही दिनमा राहदानी मलेसियाका लागि पेश गर्दैछन्। 'छोरालाई विदेश पठाए गरिबी घट्थ्यो। छोरो बेरोजगार भएको देख्नु पर्दैन,' उनले भने। उनका छोराले दश कक्षासम्म पढेका छन्। सरकारले गाउँ-गाउँमा रोजगार उपलब्ध हुन्छ भनेको यत्रो वर्ष बित्दा पनि घरमा रोजगारको कुनै कार्यक्रम नआएको उनले बताए ।

'गाउँपालिका अध्यक्षलाई छोरालाई पिउनको भए पनि जागिर देउभन्दा पत्याएनन्,' उनले भने, 'मेरो कुनै पनि कुरा सुनिएन, सबैले आफन्तलाई मात्र भर्ती गर्दा रहेछन।'

अहिलेसम्म नराम्रो शब्द नभनेको छोराले विदेशमा गएर अरुको आदेशमा बस्नुपर्ने पीडा सम्झेर उनलाई नरमाइलो लागेको छ। 'सरकारको नारा मात्र राम्रो छ, जनताको घरदैलोमा केही पुग्न सकेको छैन', उनले गुनासो गरे, 'छोरालाई कुनै ठूलो देश पठाउन सक्दिन। परिवारबाट गरिबी हटाउन सक्ने देशमा पठाउन लागेको छु।'

अरुका बाबु छोराछोरीका लागि राहदानी बनाउन आएको देख्न नपरे हुन्थ्यो भन्ने लाग्छ जोगेन्द्रको मनमा। 'चाडपर्वको मुखमा राहदानी बनाएर कसको छोरालाई विदेश पठाउन रहर हुन्छ र,' उनले भने, 'तीन दिनका लागि काठमाडौं बस्नुपर्छ, २० हजार लिएर आएका छौं।'

जिल्लामा भनेको समयमा राहदानी बनाउने सुविधा भएको भए धेरै खर्च नहुने उनले बताए। 'जिल्लामा भनेको समय राहदानी बनेको भए यहाँ आउने पैसा जोगिन्थ्यो', उनले भने, 'ऋण त छोरो विदेश जाला र कमाएर तिर्ला भन्ने आशा छ।'

प्रतीक्षालयमा बसेका गोरखाका अमृत परियार पनि राहदानी बनाउन आएका रहेछन्। ' राहदानी बनाउँछु, दुबई जान्छु, मैले डिभी भर्न राहदानी बनाएको होइन,' उनी भन्छन्। यहाँ आएर मात्रै डिभी खुलेको थाहा पाएको उनले बताए। १२ पास गरेका छन् अमृतले। दुबई छिटो जान पाउने भएकाले राहदानी बनाउन राजधानी छिरेको उनको भनाइ छ । 'दुबई गएर खाना खाइवरी महिनाको २५-३० हजार बचाउन सकेँ भने त्यो नै मेरा लागि ठूलो उपलब्ध हो', उनले भने ।

'नेपालमा बसेको यत्रो भयो पढे केही काम पाइनँ,'उनले भने,'यहाँ बस्दा नराम्रो काम र कुलतमा लागिन्छ जस्तो लागेर दुबई जान लागेको हुँ।' सरकारले गाउँका बेरोजगार युवालाई लक्षित कुनै पनि काम नल्याएको उनले बताए। खोलामा गएर गिटी,बेल्चा पनि हान्न नसक्ने त्यस्ता काम मात्र गाउँमा पाइने उनले बताए। घरमा बस्दा काम नगरी बसेको भनेर परिवार कचकच र गाउँमा कुरा काटने गरेको अमृत बताउँछन्।

अमेरिका जाने रहर

घुइँचोमा भेटिएका एक युवाले भने डिभी भर्दा अनिवार्य चाहिने भएर राहदानी बनाउन आएको बताए। ज्योतिषीले यस वर्ष तेरो शुभ हुने बताएकाले आफूले डिभी  भर्न लागेको उनले बताए।

'डिभी लोटरी नेपालीहरूका लागि अमेरिका जाने सुनौलो अवसर पनि हो। यो अवसर किन छुटाउनु भनेर राहदानी बनाउन आएको हुँ। के थाहा डिभी परी पो हाल्छ कि,' अमेरिका जान पाउनेमा केही आशावादी देखिएका उनले भने।

राहदानी विभागमा सेवाग्राहीको संख्या बढेको प्रवक्ता तीर्थराज अर्यालले बताए। मंगलबार मात्र २८ सयभन्दा बढीको आवेदन परेको उनले जानकारी दिए। 'एक सातामा १५ हजारले राहदानीका लागि आवेदन दिएको छन, 'उनले भने। सेवाग्राहीको घुइँचो बढेर नियन्त्रण गर्न नेपाल प्रहरीको पनि सहयोग लिइएको उनले बताए। 

गृहजिल्लाबाट साता दिनमै दिने व्यवस्था भए यहाँ घुइँचो कम नहुने उनले बताए। जिल्लाबाट तत्कालै भन्नेबित्तिकै राहदानी दिन सकिँदैन। प्रविधिको व्यवस्थापनमा कमजोरी भएकाले जिल्लाबाट राहदानी दिन नसकिएको उनले बताए। जिल्लाबाट राहदानी आवेदकले ढिलोमा २१ दिनमा राहदानी पाइरहेको उनको दाबी छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.