|

भद्रपुर : नाडेप लघुवित्त वित्तीय संस्थामा कार्यरत कर्मचारी आन्दोलित बनेका छन्। 

नाडेप कर्मचारी संघ नेपाल र नेराकस नाडेपमा आबद्ध कर्मचारी कार्तिक ३ गतेदेखि आन्दोलित बन्दा झापाका ६ वटासहित देशभरका ७८ वटा शाखाको कामकाज ठप्प पारेर ३५० बढी कर्मचारी आन्दोलनमा उत्रिएका छन्।

नाडेपका कर्मचारीको आन्दोलनले शाखाका कामकाज ठप्प हुँदा सेवाग्राही समेत मारमा परेका छन्। नाडेप लघुवित्त वित्तीय व्यवस्थापन पक्षबाट विभिन्न बहाना बाजीमा आ-आफ्नो स्वार्थ अनुरूप उच्च व्यवस्थापनहरू गुट उपगुटको खेलमा लागि संस्थालाई बन्धक बनाई संस्था तथा कर्मचारीको भविष्यमाथि कुठाराघात हुने गरी कार्य गर्न तल्लीन रहेको जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा संस्थाको काम कारबाही व्यवस्थापकीय ढंगबाट छलफल गरी निर्णय गर्नुपर्ने प्रचलित नियमलाई उल्लंघन गरी सम्पूर्ण कार्य सञ्चालक समितिबाट हुने गरेको संस्थामा भाखा नाघेको कर्जा दिनानुदिन बढिरहेको अवस्थामा सोलाई व्यवस्थित गर्नुपर्नेमा कर्मचारीलाई सरुवा तथा बर्खास्तको योजना बनाई पत्र प्रेषित गरिएको जनाइएको छ।

कर्मचारीको नियुत्ति प्रक्रियामा भेदभाव गरेको, नेपाल राष्ट्र बैंकको निर्देशनविपरीत गैरकानुनी रूपमा सेवा सुविधा तथा पारिश्रमिक हत्याएका कठपुतली प्रमुख कार्यकारी अधिकृतलाई पदीय मर्यादामा बसिरहन शोभनीय नभएकोले तत्काल एक सूत्रीय राजीनामा माग राखिएको नाडेप कर्मचारी संघ नेपालका संयोजक केशवराज कार्की (विपिन) ले जानकारी दिए। 

कर्मचारीले माग उल्लेख गरिएको विज्ञप्तिको बोधार्थ नाडेप लघुवित्त वित्तीय संस्थाका अध्यक्ष तथा सदस्यहरू, राष्ट्र बैंक, गर्भनर-डेपुटी गर्भनरको कार्यालय बालुवाटार, राष्ट्र बैंक, लघुवित्त प्रवर्द्धन तथा सुपरिवेक्षण विभाग, श्रम कार्यालय, बैंक, बिमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपाल र पेशागत महासंघ नेपाललाई दिइएको छ।

‘पटक-पटकको आन्दोलनपश्चात् नाडेप कर्मचारी संघ नेपाल र नाडेप लघुवित्त वित्तीय संस्थाका व्यवस्थापनबीच २०७६ भदौ २ गते भएको सहमति हालसम्म कार्यान्वयनमा नलगिएको भन्दै हामी आन्दोलन नबनेका हौं’, संयोजक कार्कीले भने, ‘हामीसँग गरिएको सहमति कार्यान्वयनमा नआएसम्म शान्तिपूर्ण आन्दोलन अनिश्चितकालीन जारी रहन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.