|

पाँचथर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तापक्ष र प्रतिपक्षबीच समझदारीका साथ शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने निष्कर्षमा पुगेको बताएका छन्।

द्वन्द्वकालीन कतिपय मुद्दाको सन्दर्भमा टीआरसी बनाउने र विधेयक संशोधनपछि सातै प्रदेशमा पीडित पक्षको राय र सुझाब लिइने बताए। पाँचथरको फिदिममा पार्टीको प्रशिक्षण कार्यक्रममा मंगलबार दिउँसो आएका प्रचण्डले पीडित पक्षको राय र सुझाब लिएपछि विधेयकलाई अन्तिम रुप दिइने बताए।

सोमबार आफूसहित प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ लगायतका नेताहरू बसेर शान्ति प्रक्रियाका बाँकी कामहरुलाई छिट्टै टुंग्याइनेबारे छलफल भएको पनि जानकारी दिए। तर कहिलेसम्म टुंग्याउने भन्ने विषयमा भने उनले खुलाएनन्। प्रचण्डलाई द्वन्द्वकालीन मुद्दाले घरिघरी पिरोल्ने गरेको छ।

चुनौतिपूर्ण रहेको मुद्दाको टुंग्याई सरकारको पनि टाउको दुखाइको विषय बन्ने गरेको छ। यससँगै अध्यक्ष प्रचण्डले पार्टी एकता प्रक्रियालाई पनि अन्तिम चरणमा ल्याई पुर्‍याएको बताए। थोरै ढिला भए पनि एकता प्रक्रिया निष्कर्षमा पुगेको उनको दावी छ।

पार्टी एकताको बेलाका सबै समझदारी पार्टीको महाधिवेशनसम्ममा कार्यान्वयन हुन्छन् भन्ने विश्वास समेत व्यक्त गरे। उनले कहिलेकाहिँ मिडियामा आउने एक दुईवटा कुरामा केही अलिक ठूलै छ कि भन्ने छ भने त्यो भ्रम मात्रै हो भनेका छन्।

सोमबार प्रधानमन्त्रीसमेत रहेका अर्का पार्टी अध्यक्ष केपी शर्मा ओली र आफू २ घण्टा बसेर पार्टी एकता प्रक्रियाको समग्र स्थितिलाई अब कसरी लाने भनेर समीक्षा गरेको पनि बताए। सो क्रममा फेरि एउटा समझदारीमा जाने संकल्पसहित अगाडि बढ्ने सल्लाह भएको भन्दै होहल्ला र प्रचारवाचीको भ्रममा नपर्न अपिल गरे।
बाँकी वर्ष द्रूत गतिको प्रगतिका वर्षहरू हुनेछन्।

अध्यक्ष प्रचण्डले सरकारको अबका वर्षहरू भने विकास निर्माण र समृद्धिको द्रूत गतिको प्रगतिका वर्षहरू हुने बताएका छन्। राजनीतिक प्रणाली नै परिवर्तन भएकोले सोही अनुसारको नयाँ संरचना खडा गर्नुपर्ने, कर्मचारीलाई समायोजन गर्नुपर्ने र स्थानीय, प्रदेश र संघ सबैतिर आवश्यक पूर्वाधार तयार गर्नु पर्ने भएकोले पहिलो वर्ष आधार वर्ष भएको भन्दै सरकारको सम्पूर्ण ध्यान अब विकास निर्माण र समृद्धि मै केन्द्रित हुने बताए।

फरक प्रसंगमा उनले दश वर्षे जनयुद्ध र २०६२/०६३ को जनआन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिलाई गुणात्मक परिवर्तन भनेका छन्। वि.स. २००७, २०३६ र २०४६ सालमा प्राप्त राजनीतिक उपलब्धिलाई भने मात्रात्मक प्रकृतिको परिवर्तन भने। यससँगै उनले चिनिया राष्ट्रपति सी चिनपिङको भ्रमणका बेला भएका समझदारी र नेपालको विकासमा चीनले सहयोग गर्न देखाएको तत्परताले धेरै ठूलो र दीर्घकालीन महत्व राख्ने बताए।

अर्को छिमेकी देश भारतसँगको सम्बन्धमा पनि विस्तारै सकारात्मक प्रगति भएको बताए। प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा मोतिहारीदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेर नेपाल-भारत सम्बन्धमा नयाँ आयाम दिने कोशिस भएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.