आलमका अपराधको एकपछि अर्को पर्दा खुल्दै

|

रौतहट : बुथ कब्जाका लागि पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन बम बनाउने क्रममा घाइते भएकाहरुलाई जिउदै इँट्टाभट्टामा हाल्न कांग्रेस नेता अफताब आलमले भाइ महताब आलमको ट्याक्टर प्रयोग गरेको खुलेको छ।

बम विष्फोटमा घाइतेलाई जिउदै इँट्टा भट्टामा हालेर जलाएको अभियोगमा कांग्रेस नेता तथा पूर्वमन्त्री आलम अहिले प्रहरी हिरासतमा छन्। मृत्यु र घाइते भएकालाई रातारात इँटाभट्टामा पुर्‍याउन प्रयोग गरिएको ट्याक्टर सोमबार प्रहरीले बरामद गरेको छ। 

ना १ त ६४७२ नम्बरको उक्त ट्याक्टर घटनाको प्रमाण मेटाउने योजनाअन्तर्गत नै अफताबका भाइ महताब आलमले २०६७ असार २३ गते बेचिदिएको प्रहरीले जनाएको छ। २०५७ जेठ २४ गते महताब आलमकै नाममा खरिद गरिएको त्यही ट्याक्टरमा बम विष्फोटका घाइतेलाई हालेर इँटाभट्टामा लगिएको थियो।

२०६४ चैत्र २७ गते भएको बम विस्फोटपछि घाइतेलाई पोल्न प्रयोग गरिएको इँटाभट्टासहित घटनासँग जोडिएका प्रमाण नष्ट गरिसकेपछि गाउँमा ट्याक्टरको चर्चा हुन थालेको थियो। त्यसपछि आलम दाजुभाइले उक्त ट्याक्टरलाई बेचिदिएको प्रहरीले जनायो।

अहिले उक्त ट्याक्टर जिल्लाको देवाहीगेनाही नगरपालिका-२ करुनिया निवासी उमाशंकर साहको नाममा कायम गरिएको छ । ट्याक्टरको नम्बर प्लेट मेटेर प्रयोग गरिँदै आएको अहिले खुलेको छ।

सोमबार साहकै घरबाट उक्त ट्याक्टर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको डिएसपी नवीन कार्कीले जानकारी दिएका छन्। त्यही ट्याक्टरमा २ जना नेपालीसहित विष्फोटमा २३ जना भन्दा बढी घाइतेलाई अफताब आलमका भान्जा मुस्ताक राजाको राजा इँटा भट्टामा लगेर पोलेको पीडित परिवारको आरोप छ।

गत असोज २६ गते राजपुरबाट जिल्ला सदरमुकाम गौर आउने क्रममा पक्राउ परेका प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री आलमविरुद्ध दर्ता गराएको कर्तव्य ज्यान तथा विष्फोटन पदार्थसम्बन्धी प्रहरी प्रतिवेदनको आधारमा कारवाही अघि बढाइएको डिएसपी कार्कीले बताए। 

असोज २६ गते पक्राउ गरी जिल्ला अदालतबाट सात दिन थुनामा राखी घटनाको अनुसन्धान गर्ने म्याद पाएको प्रहरीले आइतबार थप ५ दिनको म्याद अदालतबाट लिइसकेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.