|

चितवन: संकटा क्लब चितवनको नारायणगढमा जारी जेसिज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। 

मंगलबार भएको क्वार्टर फाइनलमा जावलाखेल युथ क्लबलाई टाइ ब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो। निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल टाइ ब्रेकरमा धकेलिएको थियो।

संकटाका विश्वास श्रेष्ठले खेलको १५ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। पहिलो हाफ १ शून्य मै रोक्न सफल संकटाले खेलको अन्तिम समयमा गोल खायो।

निक्कै आक्रमक बनेका जावलाखेलका विमल घिसिङ तामाङले इन्जुरी समयमा १ गोल गर्दै खेललाई बराबरीमा पुर्‍याएका थिए। टाइ ब्रेकरमा संकटाका अमित तामाङले प्रहार गरेको बल पोस माथिबाट उडेको थियो। यस्तै जावलाखेलका विसाल तामाङले प्रहार गरेको बल पनि पोसमा ठोक्कियो भने विमल घिसिङको प्रहारलाई संकटाका किप्पर राज बाबु थापाले रोकेका थिए। 

आजको जितसँगै संकटाले अब सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। म्यान अफ दि म्याच संकटाका किप्पर राज बाबु थापा बने। उनले १० हजार पुरस्कार पाएका छन्। प्रतियोगिताका विजेताले नगद ६ लाख ६ हजार ६६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार ३३३ रुपैयाँ पुरस्कार पाउने छ।

नारायणगढ जेसिजको आयोजनामा भइरहेको प्रतियोगितामा चितवन जिल्ला फुटबल संघ सह आयोजक रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.