देशका ५ सय ठाउँमा फोरजी विस्तार गरिँदै

|

दोलखा : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाल समृद्धि र प्रगतिको पथमा अघि बढिरहेको बताएका छन्। 

रेडियो शैलुङको १२औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले सरकार प्रतिबद्ध भएर समुन्नत राष्ट्र निर्माण गर्नका लागि प्रगतिको पथमा अगाडि बढिरहेको बताए। 

हरेक बस्तीमा एक वर्षभित्र सञ्चार सेवा पुर्याउने सरकारको उद्देश्य रहेको बताउँदै सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले लामो समयदेखि रोकिएको फोर जी सेवा विस्तारको काम सात महिनामै सकिनने उल्लेख गरे। उनले ५९ ठाउँमा विस्तार भइसकेको बताउँदै छिटै ५०० ठाउँमा विस्तार गरिने जानकारी दिए।

नेकपाले निर्वाचन घोषणापत्रमा उल्लेख गरेको प्रतिबद्धताअनुसार सरकार अघि बढिरहेको उल्लेख गर्दै उनले नेपालमा रेल सञ्चालन हुने कुरा अब असम्भव नभएको बताए। 

मन्त्री बाँस्कोटाले अपराधिक गतिविधिमा संलग्नलाई कारवाही शुरु भएकाले राजनीतिमा अपराधीलाई कुनै स्थान नभएको बताए। 'सरकारले राजनीतिका नाममा हुने अपराधीकरणलाई रोक्नेछ', उनले भने।

व्यावसायिकताको बहस गर्नुपर्ने समयमा कतिपय सञ्चारमाध्यम 'हेडलाइनकारिता'तिर लागेको उल्लेख गर्दै उनले भ्रमको खेती नगर्न सञ्चारमाध्यमलाई आग्रह गरे। मन्त्री बाँस्कोटाले पर्यटन र ऊर्जा दोलखाको सम्पत्ति भएकाले यसबाट जिल्लाको विकास गर्न सकिने बताए। 
 
त्यस अवसरमा प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले पार्टी एकताको भावनालाई विभाजित गर्न र आफ्नो राजनीति सिध्याउने उद्देश्यले पुरानो राजनीतिक मुद्दा ब्युँताउन खोजिएको बताए। 

कार्यक्रममा पूर्वपर्यटनमन्त्री आनन्द पोखरेल, पूर्वराज्यमन्त्री देवी खड्का, प्रदेशसभा सदस्य पशुपति चौलागार्इं, रचना खड्कालगायतले शुभकामना दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.