|

भक्तपुर : आगामी मंसिर १४ मा हुने भक्तपुरको निर्वाचन क्षेत्र–१ को प्रदेशसभा ‘क’ को उपनिर्वाचनको लागि दलहरुले आन्तरिक तयारी शुरु गरेका छन्।

जिल्लाका प्रमुख दलहरु नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले उम्मेदवार छनोटको तयारी थाल्दै उपनिर्वाचनको आन्तरिक तयारी गरेका हुन्।

चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाको वडा नं. १० रहेको भक्तपुर–१ (क) बाट प्रदेशसभामा तत्कालीन नेकपा एमालेका उम्मेदवार हरिशरण लामिछाने निर्वाचित भएका थिए। लामिछानेको हृदयघातका कारण मृत्यु भएपछि रिक्त रहेको सदस्यको लागि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

दलहरुको तयारी 

दलहरुले उपनिर्वाचन हुने क्षेत्रमा निर्वाचनलाई लक्षित गरेर आफ्ना गतिविधि बढाएका छन्। आकांक्षी उम्मेदवारहरूले भेटघाट र छलफललाई बढाएका छन। चिया पसल, खाजाघर, गाउँघरका भेटघाट र कार्यक्रममा पनि उपनिर्वाचनको विषयले चर्चा पाउन थालेको छ। 

नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले गत वर्ष नै निर्वाचनलाई लक्षित गर्दै ‘जन जनमा कांग्रेस ः मन मनमा कांग्रेस’ अभियानसँगैं तरुण दल चाँगुनारायण नगरसमितिका साथै वडा समिति समेत गठन र संगठन बिस्तारका कार्यक्रम गर्दै आएको थियो। यसका साथै जिल्लाले आयोजना गर्ने विविध कार्यक्रमहरुलाई समेत उपनिर्वाचन हुने क्षेत्रमा केन्द्रित गरेको छ।

त्यसैगरी उपनिर्वाचनलाई लक्षित गर्दै नेकपाले पछिल्लो पटक गतिविधि बढाएका छन्। उसले यसअघि बेवास्ता गर्दै आएपनि उपनिर्वाचनको मिति तोकिएसँगै सडक निर्माणको अनुगमन गर्ने, विकासका निर्माणका कार्यको शिलान्यास तथा उद्घाटन जस्ता कार्यक्रम गर्दै आफ्ना गतिविधि बढाएका छन्। 

नेमकिपाले क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद प्रेम सुवालको संसदिय क्षेत्र विकास कार्यक्रम अन्तर्गतको सबै रकम उपनिर्वाचन हुने क्षेत्रका विभिन्न योजनामा विनियोजन गरेको छ। नेमकिपाले गत असोज ३ देखि ६ गतेसम्म भक्तपुरमा सम्पन्न पार्टीको सातौं महाधिवेशनको सन्देश पु¥याउने अभियानको नाम दिएर निर्वाचनको आन्तरिक तयारी थालेको स्रोतको भनाइ छ। सोही तयारी अन्तर्गत नेमकिपाले झौखेल, वागीश्वरीलगायत विभिन्न ठाउँहरुमा भेला, बैठक तथा छलफल आयोजना गरेको छ।

विगतमा यस क्षेत्रको वागेश्वरी, नगरकोट र सुडालमा राम्रो प्रभाव रहेको राप्रपा संयुक्तले समेत चियापान तथा शुभकामना कार्यक्रम गर्दै उपनिर्वाचन लक्षित गतिविधि बढाएका छन्। कांग्रेस जिल्ला समिति भक्तपुरले बिहिवारसम्म प्रदेश समितिले सिफारिस गरेका नामावली केन्द्रमा पठाउने जानकारी दिएको छ। जिल्ला सभापति दुर्लभ थापाले प्रदेश समितिले सिफारिस गरेका नामावलीलाई जिल्ला समितिको रायसहित केन्द्रमा सिफारिस गर्ने बताए। 

नेकपाका जिल्ला अध्यक्ष वचन देउजाले जिल्ला समितिको बैठक बस्ने तयारी भइरहेको बताउँदैं सो बैठकको निर्णय अनुसार उपनिर्वाचनको लागि उम्मेदवारी छनोटलगायत विभिन्न समिति गठन गरी तयारी थाल्ने जानकारी दिए। उनले भने, “आकांक्षीहरु ५÷७ देखिएको छ । उहाँहरुको नाम संकलन गरी पार्टीमा आवश्यक छलफल गरी प्रदेश हुँदैं केन्द्रिय समितिमा सिफारिस पठाउने र केन्द्रको निर्णय अनुसार अघि बढ्ने छौं।”

नेमकिपाका सचिवालय सदस्य एवम् प्रदेश नं. ३ का संयोजक सांसद प्रेम सुवालले उम्मेदवारको आकांक्षीहरु खुलेर नआएको बताउँदैं पार्टीभित्र आन्तरिक तयारी शुरु भएपनि उम्मेदवारी छनोट प्रक्रियाका बारेमा छलफल शुरु नभएको जानकारी दिए। उनले निर्वाचनको उपयोग पार्टीले गर्ने बताउँदैं देश जनताको पक्षमा काम गर्ने व्यक्तिलाई उम्मेदवार बनाईने जानकारी दिए। 

आकांक्षीको लर्को

उपनिर्वाचन नजिकिएसँगै दलहरुमा आकांक्षीहरुको संख्या बढेको छ। निर्वाचनको तयारी र उम्मेदवार छनोट प्रक्रियाका बारेमा सञ्चारमाध्यममा खासै खुल्न नचाहने नेमकिपामा के कति संख्यामा क कसले उम्मेदवारको आकांक्षा राखेको स्पष्ट नभएपनि नेपाली कांग्रेस र नेकपामा आधा दर्जन भन्दा बढी आकांक्षी देखिएका छन्। 
भक्तपुर निर्वाचन क्षेत्र नं –१ (क)को प्रदेशसभा सदस्यको मंसिर १४ गते हुने उपनिर्वाचनको लागि नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं. १ (क) प्रदेश समितिले १० जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ। प्रदेश समितिका वरिष्ठ सदस्य उद्धव खड्काको अध्यक्षतामा मंगलवार साँझ बसेको बैठकले १० जनाको नाम सिफारिस गरेको हो।

सिफारिसमा परेका नामावलीमा कृष्णलाल भँडेल, यादव प्रसाद अधिकारी, सुरेश श्रेष्ठ, विनोद प्रकाश कायष्ठ, रुपा थापा, उद्धव खड्का, किरण न्यौपाने, मनोजकुमार थापा, हरिप्रसाद नेपाल र सुभद्रा काफ्ले छन्। प्रदेश समितिले उम्मेदवारको लागि नाम दर्ता गरेका १० जनाकै नाम सर्वसम्मत क्षेत्रिय समितिमा पठाउने निर्णय गरेको वरिष्ठ सदस्य खड्काले जानकारी दिए। 

नेकपामा यसअघि आधिकारीक उम्मेदवारको घोषणा भएपनि पछि हटाएका तत्कालिन माओवादी नेता एवम् नेकपा जिल्ला समितिका सचिव डि पी ढकाल, निर्माण व्यवसायी निरञ्जन बजगाईं, पुर्व एमालेका वरिष्ठ नेताहरु राम बहादुर श्रेष्ठ, मोहनवीर श्रेष्ठ, शम्भु दाहाल, रमेश बुढाथोकी, कृष्णमुरारी खनाल, दामोदर दंगाललगायतका नेताहरु ईच्छुक देखिएका छन। नेकपामा स्व. लामिछानेकी धर्मपत्नी  निर्मला लामिछानेलाई उम्मेदवार उठाउनु पर्ने आवाज समेत गुञ्जिन थालेको छ।  लामिछानेकी श्रीमतीलाई उठाए भावनात्मक मत आकर्षित गर्न सकिने र निर्वाचन सजिलै जित्न सकिने एक पक्षको तर्क छ। 

गत निर्वाचनमा पुर्व एमालेबाट उम्मेदवार बनेका स्व. हरिशरण लामिछाने १२ हजार सात सय ७९ मत ल्याएर विजयी भएका थिए। उनलाई कांग्रेसका जीवन खत्रीले नौ हजार नौ सय ७७ मतले पछ्याएका थिए भने नेमकिपाका निरज लवजुले सात हजार ११, र नेकपा माओवादी केन्द्रका देवीप्रसाद ढकालले सात सय ८४, विवेकशीलका कालीचरण कार्कीले सात सय ८३, राप्रपाका मुकुन्द कार्कीले चार सय ८५ र नयाँ शक्तिका सानुप्रसाद बनले ७८ मत पाएका थिए। 

चौध सय ८४ मतदाता थपिए

वि. सं. २०७४ सालमा भएको निर्वाचनमा यस क्षेत्रमा ४३ हजार पाँच सय ३२ मतदाता रहेका थिए। जिल्ला निर्वाचन कार्यालय भक्तपुरका अनुसार उपनिर्वाचनका लागि एक हजार चार सय ८४ मतदाता थपिएका छन्।  निर्वाचन आयोगले १८ साउनभित्र दर्ता भइसकेका मतदाताले मात्रै उपनिर्वाचनमा मतदात गर्न पाउने व्यवस्था गरेको छ। जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीका अनुसार २१ वटा मतदान केन्द्र छन। 

निर्वाचन तालिका 

निर्वाचन आयोगले प्रकाशित गरेको तालिका अनुसार उपनिर्वाचन हुने भक्तपुर प्रदेश निर्वाचन क्षेत्र नं. १ (क)मा कार्तिक २१ गते उम्मेदवारको मनोनयन दर्ता हुने छ। दर्ता भएका उम्मेदवारको विरोधको उजुरी दिने कार्तिक २२ गते, मनोनय र उजुरीमाथि जाँचबुझ कार्तिक २३, उम्मेदवारले नाम फिर्ता लिने कार्तिक २४ गते र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा २५ कार्तिकमा निर्वाचन चिन्ह प्रदान गर्ने र १४ मंसिरमा निर्वाचन हुने आयोगले जनाएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.