|

सोलुखुम्बु : जिल्लाको थुलुङदुधकोशी गाउँपालिकालाई साढे १७ रोपनी जग्गा निशुल्क प्राप्त भएको छ।

स्थानीय समाजसेवी एकबहादुर गुरुङले यस अघिको प्रतिबद्धताअनुसार गाउँपालिकालाई उक्त जग्गा रजिस्टेसन गरि गरिदिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अबीलाल राईले जानकारी दिए।

अधिकृत राईका अनुसार करिब ८५ लाख बराबरको जग्गा गाउँपालिकाको नाममा निःशुल्क प्राप्त भएको हो। गाउँपालिकाको भवन निर्माण गर्नेबेला मौखिक रुपमा सहमति भएअनुसार गाउँपालिकाको नाममा रजिष्टेसन पास भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए। 

स्थानिय समाजसेवी एकाबहादुर गुरुङले १७ दशमलव .५ रोपनी जग्गा सोमवार कानुनी रुपमा पालीकाको नाममा पास गरिदिएको अध्यक्ष राईले बताए। सानो सहयोगले सिङ्गो गाउँपालिकाको विकासका लागि टेवा पुग्ने भएकाले जग्गा उपलब्ध गराएको जग्गादाता गुरुङको भनाइ छ।

‘म समाजको एक सदस्य हुँ, म धनी हुनु एक जना ब्याक्ति धनी हुनु हो तर पालीका धनी हुनु भनेको सिङ्गो गाउँपालिका धनी हुनु हो।’ समाजसेवी जग्गादाता गुरुङले भने, ‘त्यसैले मैले मेरो नाममा भएको जग्गा निशुल्क गाउँपालीकालाई दान गरेको हुँ, यसमा म अत्यन्तै खुसी छु। समाजको लागि योगदान गर्ने अवसर गाउँपालिकाले पनि मलाई उपलब्ध गरायो। मैले मेरो जग्गा बढि भएर सहयोग गरेको हैन, यसले समाजको लागि केही टेवा पुग्ने भएकाले दिएको हो।’

गाउँपालिकाको केन्द्र मुक्लीमा रहेको उक्त जग्गामा एक वर्ष अघिनै पालिकाको सुविधा सम्पन्न भवन समेत निर्माण भईसकेको छ। यस अघि गाउँपालिकाले ब्याक्तिको नामको जग्गामा सरकारी भवन बनाएको आरोप समेत लागेको थियो। आफुहरुले गाउँपालिकाको नाममा दिइसकेको जग्गामा केही व्यक्तिले अनावश्यक विवाद गरेको जग्गा दाता एकबहादुरका छोरा जीवन गुरुङले गुनासो गरे।

एकबहादुरका माइला छोरा बलराम गुरुङले सबै परिवारको सल्लाह अनुसार जग्गा दान गर्ने भनेअनुसार पास गरिदिएको बताए। ‘गाउँको विकासमा अरुलाई पनि लाग्ने हौसला मिलोस भनेर हाम्रो घरबारीनै गाउँपालिकालाई दियौ, हामीसँग धेरै सम्पत्ति भएर होईन सामाजिक भावानाले दिएका हौ।’ गुरुङले भने, ‘सबैले सकेको सहयोग गर्दै केही कम्जोरी हुन खोजेमा सकरात्मक सुझाव दिने हो भने सम्बृद्धि टाढा छैन, हामी सबैको भावना र सोचाई एउटै हुन आवश्यक छ।’

यता गाउँपालिका अध्यक्ष असिम राईले गाउँपालिकाको विकासबाट छटपटिएकाहरुले भ्रम फैलाउने काम गरेको आरोप लगाए। जिल्लाको स्थानिय तहहरु मध्ये थुलुङदुधकोशी गाउँपालिका सुविधा सम्पन्न भवन बनाउने पहिलो गाउँपालिका भएको दावी गर्दै सिमित ब्याक्तिले फैलाएको भ्रमले पालिकाको विकासमा कुनै बाधा नपर्ने जिकिर गरे। ‘गाउँपालिकाले जग्गा पास नगरि भवन बनायो भनेर चिन्ता व्यक्त गरेजस्तो गर्दै भ्रम फैलाउन खोज्ने विकास विरोधीले अब जग्गा पास भएपछि कत्तिको खुसियालीका साथ जग्गा दाता र गाउँँपालिकालाइ धन्यवाद दिन्छन् हेरौ।’ उनले भने।

जग्गादाता एकबहादुर गरुङका छोराहरु टीका गुरुङ, बलराम गुरुङ र जीवन गुरुङसहित सम्पूर्ण परिवारलाई गाउँपालिकाले धन्यवाद ज्ञापन गरेको छ। प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले जिल्लाको इतिहासमा ठुलो उपलब्धि यस अघिनै हासिल भएको थियो यसले आजदेखि कनुनीरुपमा मान्यता पाएको भन्दै सहयोगिलाई धन्यवाद दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.