|

वीरगञ्ज : प्रदेश २ को एकमात्र महानगरपालिका वीरगञ्जका क्षेत्रभित्र रहेको सबै घरमा शौचालय भए पनि ३० प्रतिशत महानगरवासी अझ पनि खुल्ला चौरमा दिसापिसाब गर्दै आइरहेका छन्। 

३२ वडा रहेको नगर क्षेत्रभित्र वडा नम्बर २०, १७, १९, १८, २७, २६ र २९ वडाका बासिन्दाको घरमा चर्पी भए पनि जनचेतनाको अभावको कारण खुला चौरमै दिसापिसाब गर्न रुचाउने गरेको वीरगञ्ज महानगरपालिकाअन्तर्गत रहेको वातावरण तथा हरियाली प्रवर्द्धन शाखाका प्रमुख सुनिलकुमार कर्णले बताए। 

ती वडाका बासिन्दा आर्थिकरुपमा सम्पन्न भए पनि प्रत्येक घरमा शौचालय हुँदा हुँदै जनचेतनाको अभावको कारण बाहिरनै दिसापिसाब गर्ने गरेकाले महानगरपालिकाले त्यस्ता घरधनीलाई कारवाहीको दायरामा ल्याउने सोच बनाएको  छ। 

महानगरपालिकाले ३२ वटै वडामा चर्पी त बनायो तर त्यहाँका मानिसको बानीमा परिवर्तन नहुँदा बाटो घाटो तथा खुला चौरमा दिसापिसाब गर्ने गरेको भनाइ प्रमुख कर्णको छ। शौचालय नबनाई खुला चौरमा दिसापिसाब गर्नेलाई कस्तो कारवाही गरिने भन्ने जिज्ञासामा नगरप्रमुख विजयकुमार सरावगीले त्यस्ता घरधनीलाई कारवाहीको दायरामा ल्याउने प्रयास भइरहेको बताए। 

३२ वडामध्ये ३० वटा वडामा सार्वजनिक शौचालय रहे पनि महानगरपालिकाले यात्रुको सुविधालाई ध्यानमा २५ सेट घुम्त्ी शौचालय सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ। २०६८ सालमा सरसफाइ गुरुयोजना बनेपछि खुला दिसामुक्त अभियान शुरु भएको हो। वीरगञ्ज महानगरपालिकाले यो अभियानअन्तर्गत शून्य अनुदानमा घरघरमा चर्पी बनाउने कामलाई कार्यान्वयनमा ल्याएपछि घरघरमा चर्पी निर्माण गरिएको हो। प्रदेश नं २ मा नौ लाख ३३ हजार ६४९ घरधुरीमा शौचालय बनेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.